शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काष्ठमण्डप बनाउन महोत्तरीमा रुख भेटियो

बुधबार, ०७ कात्तिक २०७५, १३ : १९
बुधबार, ०७ कात्तिक २०७५

काठमाडौँ । काष्ठमण्डप पुनर्निर्माणको प्रक्रिया अघि बढेको छ । मन्दिर निर्माणका लागि विशेष प्रकारको काठ आवश्यक पर्ने भएकोले उपयुक्त काठ महोत्तरीमा भेटिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बताएको छ । 

काष्ठमण्डपका लागि बाक्लो र लामा काठ आवश्यक पर्ने भएकोले महोत्तरीमा उपयुक्त रुख भेटिएको हो । रुख कटानका लागि वन मन्त्रालयसँग छलफल गरेर ‘फर्निचर वर्कसप’ पनि शूरु गरिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए । 

यस्तै काष्ठमण्डपमा प्रयोग भएको प्राचिन शैलीको इटा जस्तै नयाँ इटा उत्पादनका लागि भक्तपुरको इटा भट्टासँग कुराकानी भएको पनि उनले बताए । परम्परागत बास्तुकला बनाउन सक्ने कालीगढ पनि खोजिएको छ । 

आउँदो असारसम्म कम्तिमा १ तला मात्र भएपनि काष्ठमण्डप बनाँउने लक्ष्य लिइएको ज्ञवालीले जानकारी दिए । काष्ठमण्डप कसरी निर्माण गर्ने भन्ने बारेमा विवाद भएपछि काठमाडौ महानगरपालिकाको लगानीमा स्थानीय समितिलाई निर्माण गर्ने जिम्मा दिइएको छ । 

पुरातत्व विभागले काष्ठमण्डपको डिजाइन तथा नक्सा उपलब्ध गराइसकेको पुरातत्व विभागका निर्देशक भेषनारायण दाहालले जानकारी दिए । काठमाडौँ महानगरपालिकाले लगानी गर्ने र स्थानीय संघसंस्थाको क्रियाशीलतामा काष्ठमण्डप पुनर्निर्माण गर्न लागिएको हो । 

यसका लागि ५ वटा स्थानीय समिति क्रियाशील छन् । सम्पूर्ण मन्दिर पुनर्निर्माणका लागि १९ करोड लाग्ने अनुमान गरिएको छ भने काठमाडौं महानगरपालिकाले ५ करोड रुपैयाँ काठ खरिद गर्नका लागि यसअघि नै दिइसकेको छ । 

आउदो मंसिरमा काष्ठमण्डप पुनर्निर्माणको शिल्यान्यास गर्ने तयारी भइरहेको विभागका  महानिर्देशक दाहालले जानकारी दिए ।  

मन्दिर पुनर्निर्माणका बारेमा स्थानीय र सरकारी निकायहरुबिच उत्पन्न भएको विवाद कारण काम अघि बढ्न सकेको थिएन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप