शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सामाजिक सञ्जालमा राष्ट्रपति विद्या भण्डारीको आलोचना : यस्तो त नगरौं होला, महामहिम कमरेड

बुधबार, ०७ कात्तिक २०७५, १० : ०६
बुधबार, ०७ कात्तिक २०७५

बडादसैंको अन्तिम दिन । आज कोजाग्रत पूर्णिमा । आजदेखि दसैं सकिँदै छ । दसैं सकिए पनि दसैं चर्चा सकिएको छैन ।

केही दिनअघिसम्म प्रधानमन्त्री केपी ओली शर्माभन्दा पूर्वराजा ज्ञानेन्द्र शाहकहाँ टीका थाप्नेको भीडले चर्चा पाएको थियो ।

त्यो प्रसंग सेलाउन नपाउँदै घुँडा टेकेर टीका थाप्नेको तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा राष्ट्रपति विद्यादेवी भण्डारीको चर्को आलोचना गरिएको छ । 

घुँडा टेकेर टीका लगाइरहेका पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीको फोटो ‘पोस्ट’ गर्दै सामाजिक सञ्जालमा राष्ट्रपति भण्डारीको चर्को आलोचना गर्नेको कमी छैन । राष्ट्रपतिसँग पराजुलीले टीका लगाइरहेको फोटो ‘पोस्ट’ गर्दै बालकोट भक्तपुरका सुरेन्द्र चालिसेले फेसबुकमा शालीन व्यंग्य गरे, ‘लोकतन्त्रको सर्वोत्तम उपहार हुन सक्छ, यो तस्बिर ।’

पत्रकार सइन्द्र राईले लेखे, ‘सामन्ती सोंच अनि संस्कार । यस्तो त नगरौं होला, महामहिम कमरेड ।’ 

‘एउटा सानो स्टुलको व्यवस्था गरिएको भए सार्वभौमसत्ता सम्पन्न ‘जनता–जनार्दन’ ले यसरी घुँडा टेक्नु पर्दैन थियो कि,’ त्यही प्रसंग जोड्दै पत्रकार व्याकुल पाठक भन्छन्, ‘आखिर राष्ट्रपति महोदयलाई थाहा नभएको त होइन रै’छ नि, प्रधानमन्त्री तथा उपराष्ट्रपतिका लागि चाहिँ राम्रो कुर्सीकै जोहो गरिएको रहेछ । नेपाली नागरिक बने भन्नु त भ्रममात्र रहेछ । जनताबाट नागरिक बन्नु त कता हो कता अझै ‘प्रजा’ युग नै समाप्त भइसकेको रहेनछ ।’ 

पत्रकार नृपेन्द्रलाल श्रेष्ठ सोध्छन्, ‘राष्ट्रप्रमुखको हातबाट टीका लगाउँदा दास हुन्छ कि गौरव बढ्छ ?’

हिन्दु धर्मावलम्बीको सबैभन्दा ठूलो चाड बडादसैंमा मान्यजनको हातबाट टीका थाप्ने गरिन्छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, पूर्वराजालगायतको हातबाट टीका थाप्नेले थापिइरहेका हुन्छन् । बडादसैं २०७५ मा पनि त्यसै गरियो । राष्ट्रपतिकहाँ टीका थाप्नेको दृश्य धेरैलाई अस्वाभाविक लागेको छ । पत्रकार प्रकृति अधिकारीलाई पनि त्यस्तै लागेको थियो । पत्रकार अधिकारी सुझाउँछन्, ‘सुझाउ : आघौंदेखि टीका थाप्न जाँदा आफूसाथ स्टुल वा कुर्सी लिएर गए सामाजिक सञ्जालमा बेइज्जत हुनबाट जोगिन पाइन्छ ।’

‘घुँडा टेकेर टीका लगाउने र टेकाउने दरबारसँग घनिष्ठ थिए, तब न उही शैली अपनाए,’ पत्रकार रामप्रसाद दाहालले आरोप लगाए, ‘गल्ती भए माफ पाम् । संस्कार नफेरिएको होइन, पात्र फेरिएनन् ।’

रातोपाटीका प्रधानसम्पादक जिवेन्द्र सिम्खडा कवितामा लेख्छन्–

म नबोलेको
बोल्न नसकेर हैन ।
तिमी हामी एक भएर
एउटा मौसुफलाई
सहिदको रगतको भेलमा
बगाइदिएका थियौं
अनि तिमीलाई राख्यांै
विश्वासको कर्मासनमा ।
तिमीसँग हाम्रो
सुन्दर शान्त समुन्नत  
नेपालको नासो थियो  

त्यही भएर हो म नबोलेको ।
तर तिमीले
हाम्रो आस्थामा खेलबाड गरेर
हाम्रो मान्यतामा खेलाँची गरेर
हाम्रो विश्वासमा हाँसिमजाक गरेर
मलाई बोल्न बाध्य बनायौ ।
ए कथित मौसुफहरू,
अब सुन
कन्कर्नाेले कोट्याएरमात्र हैन
झीरले नै कान खोलेर सुन
तिमी हामीमध्येकै
र हामीजस्तै मात्र हौ
तिमी भ्रममा नपर,
म अग्लो हुँ भनेर
हो, अहिले अग्लो देखिएका छौ
नयाँ बिहानका लागि
बलिदान भएका
नेपाल आमाका
सर्वाेत्तम सन्तानको
चिहानमाथि उभिएर  
त्यसैले तिम्रो उचाइ
कम्तीमा पनि
‘नीलो रगत’ वाला मौसुफ बन्नलाई हैन
हुँदै होइन ।
तिमी पनि हामीजस्तै भुइँमान्छे थियौ
ठालु पल्टनेलाई ठुला नठान्ने
तर, अहिले कसरी तिम्रो मतिभ्रष्ट भयो !
र, आफूलाई ठूलो ठान्दै ठालु पल्टिन थाल्यौ ?
तिमी हामीमध्येकै र हामीजस्तै मात्र हौ
तिमी भ्रममा नपर,
म हट्टाकट्टा छु भनेर
हो, तिमी अहिले मोटाएका छौ

किर्नाजसरी
जुकाजसरी
जसमा आश्रित छौ
उसैको रगत चुसेर ।
अघाएको किर्ना र जुकाको
के हाल हुन्छ, थाहा छैन तिमीलाई !
त्यसैले तिम्रो मोटाइ
कम्तीमा पनि
जनता चुस्ने नवमौसुफ बन्नलाई हैन
हुँदै होइन ।
हाम्रो आशिषबाट तिमी त्यहाँ पुगेका थियौ
तर, अहिले कसरी तिम्रो मतिभ्रष्ट भयो ? 
र, सम्प्रभु जनतालाई आशिष दिन थाल्यौ !
सहिदका रगतलाई भुलेर
रङले अछेता रंगाएर 
घुँडा टेकाउँदै निधारमा टाँसिदिएर
कर्तव्यको झारा मेट्यौ
जनताको आशाजस्तै
हलक्क बढेको जमरा
स्वार्थी शिरहरूमा सिउरिदिएर
जिम्मेवारीको झारा तिर्यौ
तर, तिम्रो आसन
कम्तीमा पनि
‘धर्मावतार’ वाला मौसुफ बन्नलाई हैन
हुँदै होइन ।
तिमी फगत थाँक्रो हौ
काँक्रोको सहाराको
नठान म धनी हुँ काँक्राको
तिमीसँग हाम्रो
सुन्दर शान्त समुन्नत  
नेपालको नासो थियो  
त्यही भएरमात्र हो

म नबोलेको
बोल्न नसकेर हैन ।
तर, तिमीले बोल्न बाध्य बनायौ
ए कथित मौसुफहरू,
अब सुन
कन्कर्नाेले कोट्याएरमात्र हैन
झीरले नै कान खोलेर सुन
तिमी मौसुफ होइन,
हाम्रो आस भरोसाको
थाँक्रो हौ, केवल थाँक्रो

त्यसैले भुलेर पनि नभुल   
नलहरिए काँक्राका लहरा
थाँक्रो बन्नेछन् मात्र दाउरा ।   

सामाजिक सञ्जालमा थुलुङ गंगा राई टिप्पणी गर्छिन्, ‘देशले खुल्दुली र शोकैशोकको छातीमाथि दसैंको टीका लगायो । निर्धोलाई घुँडा टेकायो र महामहिमहरू आफ्नो स्वार्थमा लिप्त भएर रमाउनु रमायो । यस्तो खुसी साट्नुमा पश्चाताप होइन, हामी गर्व गर्छौं । जय देश । जय नरनारी स्वाहा ।’ 

छोरीज्वाईंलाई कुर्सीमा र पूर्वप्रधानन्यायाधीशले घुँडा टेकेर टीका थापिइरहेका फोटो पोस्ट गर्दै विकास पत्रकार थापाले आलोचना गरे, ‘फरक छुट्ट्याउनुस् । माथिको फोटो राष्ट्रपतिकी छोरीज्वाईंको । तलको फोटो पूर्वप्रधानन्यायाधी गोपाल पराजुलीको ।’

‘के हाम्रो गणतन्त्रको नागरिक सर्वोच्चता यही हो ? सार्वभौम नागरिकको सम्मान अनि इज्जत यही हो ?,’ हलेसी तुवाचुङ नगरपालिका–४ बडहरे खोटाङका राजकुमार बस्नेतको ठम्याइ छ, ‘नेकपाको सत्ताले आफूलाई मालिक र नागरिकलाई दासको हैसियतमा राख्ने कोसिस गरेको छ । हेक्का रहोस्, यो युगले यो प्रवृत्ति र यो मनोविज्ञानलाई किमार्थ स्वीकार्ने छैन । निकट इतिहास साक्षी छ । यस्तो मनस्थितिबाट टाढा रहेकै जाती ।’

विभिन्न आसनमा बसेर राष्ट्रपतिको हातबाट टीका थाप्नेको बस्बिर सार्वजनिक भएपछि पत्रकार रेवती सापकोटालाई समेत केही लेखौंलेखौं लागिहाल्यो । ‘हामीले एउटा राजा फालेको धेरै छोटेराजा जन्माउन होइन, जनतालाई अपमान गरेर तिम्रा कुर्सी सुरक्षित भइराख्दैनन् भन्ने बुझ । दसैंको अवधिमा जनताले सार्वजनिक सवारीसाधनमा भोगेको सास्ती एकपटक आफैं अनुभव गरेर हेर,’ पत्रकार सापकोटा थप्छन्, ‘दुई सयको टिकटलाई पाँच सय तिर्नुपर्ने बाध्यता झेल । दरबारमा बसेर दूरदराज गाउँबस्तीको अवस्थाप्रति आँखा नचिम्ल । खाडी मुलुकमा पसिना बगाएका युवाहरूको पीडा बुझ । राजतन्त्र फालिनुको मुख्य कारण त्यो व्यवस्थाले जनतालाई रैती बनाएकाले हो । रगत, पसिना बगाएर ल्याएको गणतन्त्र जनताले होइन, नेताकै कारण सिध्याउने खेल भइरहेजस्तो लाग्दै छ । ख्याल गर ।’

राष्ट्रपतिको दसैं टीका प्रकरणबारे पत्रकार विनोद त्रिपाठीको विचार यस्तो छ :

छोटो बढेपछि फुर्ती ढाँचा बढाउँछ
बढेको खहरे हेर, कति गडगडाउँछ ।

कवि शिरोमणि लेखनाथ पौड्यालका यी पंक्तिले हामी सबै नेपालीलाई प्रतिविम्बित गरिरहेको छ । विचार र अध्ययनबाट खारिएका व्यक्तिलाई भने यो पंक्ति लागू नहुन सक्छ । तर, यो कविताकै पंक्तिका लायक हौं हामी अधिकांश नेपाली । खासगरी यसको असर गतवर्षको चुनावको परिणामबाट देखिन थाल्यो । चुनाव जित्नेहरू उम्लिए, गडगडाए, बर्बराए अनि बेहोशमै चुनिए राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू । जितेका दलले हार्ने दलहरूलाई सत्तोसराप गरे । हार्ने दलले जित्नेलाई गाली गर्नुपर्नेमा उल्टै जित्नेले निहुँ खोजे । जित्ने दल आफैं बन्यो सत्ताधारी, विपक्षीधारी । कार्यकर्ता बुरुक्क उफ्रिए । यिनका बिचौलिया उम्लिए । निरीह जनतालाई पोल्न थाले । महँगीको पोलाइ, कुशासनको पोलाइ । बारीमा जे रोप्छौं, त्यही फल्ने हो । अनि भटाभट फल लाग्न थाल्यो– न्यायमाथि बलात्कार, भ्रष्टाचार, कालाबजारी, बिचौलिया, यता भताभुंग, उता लथालिंगका पोटिला फलहरू । यी सबै देखेर पनि राष्ट्रपतिले लगाएको टीका प्रकरणलाई आश्चर्य मान्ने हामी अझ धेरै बुद्दु हौं । जब हामी बुद्धिमानी हुनेछौं, यी हातहरूले यस्ता पात्रहरूलाई कहिल्यै भोट दिने छैनौं । अब त सबै नेपाली कखरा पढ्न सक्ने भएका छौं । त्यसैले पात्र बदलौं वा नबदलौं तर प्रवृत्ति अवश्य बदलौं । शासन होइन, प्रशासन बदलौं । अनि हामीले बदलिएको नेपाल पाउनेछौं ।

र, अन्त्यमा महात्मा गान्धीको भनाइ पनि हरेक नेपालीले मनभित्र राखौं– 

सिद्धान्तविनाको राजनीति
श्रमविनाको सम्पत्ति
चरित्रविनाको ज्ञान 
मानवताविनाको विज्ञान
नैतिकताविनाको व्यापार
विवेकविनाको आनन्द
र, त्यागविनाको धर्म
संसारमा हिंसा फैलाउने सात महाभूल हुन् ।

कवि तथा लेखक नितिशा शर्मा लेख्छिन्, ‘निर्मला पन्तलगायतका बलात्कारी हत्यारालाई काखी च्याप्ने अनि जनतालाई घुँडा टेकाएर दसैंको टीका बक्स गर्ने नयाँ महाराजा महारानीहरूको हर्कत नेपाली जनताले धेरै दिन झेल्न सक्दैनन् भनेर अरिङ्गालका नाइकेहरूले बेलैमा कुरा बुझून् । निर्मला पन्तको बलात्कारी हत्यारालाई कहिले पक्राउ गर्छौ नयाँ राजाहरू ?’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप