शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जापानमा रुवाउने शिक्षकको ट्रेन्ड, तनाव मुक्त हुनका लागि हँसाउनुको साटो रुवाउनमा जोड

बुधबार, ०७ कात्तिक २०७५, ०८ : ५७
बुधबार, ०७ कात्तिक २०७५

संसारमा जापानीलाई सबैभन्दा धेरै मेहनती मानिन्छ । यहाँका मानिसहरु सबैभन्दा कम छुट्टी लिन्छन् र अत्यधिक काम गर्छन् । यसैकारण सबैभन्दा धेरै तनावको शिकारसमेत हुन्छन् ।

कर्मचारीबाहेक जापानी विद्यार्थी पनि संसारमा सबैभन्दा धेरै तनावग्रस्त विद्यार्थीमा गनिन्छन् । यस्तोमा आफ्ना नागरिकलाई तनावमुक्त राख्नका लागि जापानले एउटा नयाँ तरिका अपनाइरहेको छ । यहाँ मानिसहरुको तनाव कम गर्नका लागि हँसाउनुको साटो रुवाउनेमा जोड दिइँदै छ । यहाँका विभिन्न कम्पनी र स्कूलले आफ्ना कर्मचारी र विद्यार्थीलाई हप्तामा एक दिन मज्जाले रुन प्रोत्साहित गरिरहेको छ । रुनुको फाइदा बताउनका लागि ‘टियर्स टिचर’ अर्थात् आँसु झार्ने ट्रेनर पनि तयार गरिँदै छ ।

पाँच वर्षअघि पढाउँथिन्, अब मानिसहरुलाई रुवाएर तनावमुक्त गरिरहेकी छिन्ः

जापानकी एक हाइस्कूलकी शिक्षिका हिदेफूमी योशिदा (४३) ले पाँच – ६ वर्षअघि रुनुका फाइदाबारे अनुसन्धान र प्रयोग सुरु गरे । अब उनलाई जापानमा नामिदा सेन्सेई अर्थात् टियर्स टिचरको रुपमा चिनिन्छ । योशिदाको जापानी कम्पनी र स्कूलमा अत्यधिक माग छ । उनलाई कम्पनी र स्कूलमा रुनुका फाइदाबारे लेक्चर दिन र मानिसहरुलाई रुवाउनका लागि आमिन्त्रत गरिन्छ ।

जापान सरकारले पनि कदम उठायोः

योशिदाको रोएर तनाव भगाउने एक्सपेरिमेन्टमा तोहो युनिभर्सिटीको मेडिसिन फ्याकल्टीकी प्रमुख प्राध्यापक हिदेहो अरिटाले पनि अनुसन्धान गरिसकेकी छिन् । यी दुईको प्रयोग र अनुसन्धानमार्फत हाँस्नु र सुत्नुभन्दा रुँदा तनाव चाँडै समाप्त हुने पुष्टि भइसकेको छ । हप्तामा एकपटक रुँदा तनावमुक्त जीवन बाँच्नका निकै सहयोग पुग्ने उक्त अनुसन्धानले बताएको छ ।

यी शोधको निष्कर्षपछि जापान सरकारले सन् २०१५ मा ५० बढी कर्मचारी भएका कम्पनीका लागि तनावमुक्त कदम उठाउन अनिवार्य बनाएको छ ।

आँसुमार्फत शरिरबाट बाहिर निस्कन्छ तनावसम्बन्धि हर्मोनः

विशेषज्ञका अनुसार मानव शरिरबाट तीन प्रकारको आँसु निष्काशन हुन्छ । पहिलो हो रिफ्लेक्स । यस्तो आँसु त्यतिबेला आउँछ जब आँखामा कुनै बाहिरी कण छिर्ने गर्छ । यो आँसुले त्यो कणलाई बाहिर निकाल्न मद्दत गर्छ ।

दोस्रो हुन्छ कन्टिन्यूअस टियर्स । यो आँसुले हाम्रो आँखालाई रसिलो बनाइराख्न मद्दत गर्छ ।

तेस्रो हुन्छ इमोशनल टियर्स । यो भावनासँग जोडिएको हुन्छ र मानिस खुसी एवं दुखी हुँदा रिलिज हुने गर्छ ।

सन् १९८० मा अमेरिकाको मिनियापोलिसस्थित रेमजे मेडिकल सेन्टरका डा. विलियम फ्रेले रुने क्रममा निस्कने आँसुमाथि अनुसन्धान गरेका थिए । डा. फ्रेका अनुसार रुँदा निस्कने आँसुमा तनावसँग जोडिएको एक हर्मोन पनि समावेश हुन्छ । जब आँसुसँगै यो बाहिर निस्कन्छ तब मानिस हल्का महसुस गर्छ ।

७० प्रतिशत मनोचिकित्सक रुने सल्लाह दिन्छन्ः

रुनु र तनावसम्बन्धि १६ वर्षअघि ३० देशमा एक सर्वेक्षण भएको थियो । यो सर्वेक्षणमा भाग लिने ७० प्रतिशत बढिले तनावसँग लड्नका लागि रुने गरेको तथ्य सार्वजनिक गरे । यस्तै, संसारका ७० प्रतिशत मनोचिकित्सकले तनावसँग जुधिरहेका मानिसहरुलाई रुने सल्लाह दिन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप