शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बलात्कारको आरोप : रोनाल्डो भन्छन्, ‘मेरा वकिलहरु विश्वस्त छन्’

मङ्गलबार, ०६ कात्तिक २०७५, १६ : ५८
मङ्गलबार, ०६ कात्तिक २०७५

एजेन्सी । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले आफूमाथि एक महिलाले लगाएको बलात्कारको आरोपमा बोल्दै आफ्ना वकिलहरु विश्वस्त रहेको र सत्य चाँडै बाहिर आउने बताएका छन् ।

३४ वर्षीया क्याथरिन मायोर्गाले युभेन्टसका स्ट्राइकरमाथि सन् २००९ मा लास भेगासको एक होटलमा आफूलाई बलात्कार गरेको आरोप लगाएकी छिन् ।

३३ वर्षीय रोनाल्डोले आफूमाथि लगाइएको आरोपको खण्डन गर्दै आएका छन् ।

आफ्नो पूर्व क्लब म्यान्चेस्टर युनाइटेडबिरुद्धको च्याम्पियन्स लिग खेलको पूर्वसन्ध्या आयोजित पत्रकार सम्मेलनमा बोल्दै रोनाल्डोले भने, ‘मलाई थाहा छ म धेरैका लागि उदाहरण छु, मलाई थाहा छ म शतप्रतिशत मैदानमा र मैदान बाहिर पनि त्यस्तै छु ।’

‘म सँधै मुस्कुराइरहेको हुन्छु, म खुसी व्यक्ति हुँ,’ रोनाल्डोले भने, ‘म निकै उत्कृष्ट क्लबमा खेल्दैछु, मसँग उत्कृष्ट परिवार छ । मेरा चार छोराछोरी छन्, म स्वस्थ छु – मसँग सबै छ । त्यसैले अन्य कुराले मलाई हस्तक्षेप गर्दैन ।’

‘म झुठो बोल्दिन । मेरा वकिलहरु विश्वस्त छन् र अवश्य म पनि,’ उनले भने ।

‘म मेरो खेल र जीवनलाई खुसी साथ जिउँदै छु । बाँकी कुरा, सत्य बाहिर आउने नै छ । त्यसैले म चिन्तित छैन,’ उनको भनाई थियो ।

जर्मन पत्रिका डेर स्पेगलले पहिलो पटक रोनाल्डोमाथि मायोर्गाले लगाएको आरोपको बारेमा समाचार प्रकाशित गरेको थियो । 

समाचारमा रोनाल्डोले मायोर्गालाई सन् २०१० मा ३ लाख ७५ हजार डलर दिएर मामिला गुपचुप पारेका थिए ।

उता, लास भेगास प्रहरीले यस विषयमा सन् २००९ को जुनमा अनुसन्धान गरेको पुष्टि गरेको छ । तर, त्यतिबेला कोही पनि आरोपी थिएन । अहिले फेरि उक्त मुद्दा खुला गरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप