बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चाँगुनारायण र मण्डन देउपुर नगरपालिकाबीच समन्वय अभाव : नगरकोटमा ३ सय मिटर दुरीमा दोहोरो कर

मङ्गलबार, ०६ कात्तिक २०७५, ११ : ५५
मङ्गलबार, ०६ कात्तिक २०७५

नगरकोट । भक्तपुर र काभ्रेको सीमानामा रहेको चर्चित पर्यटकीय स्थान नगरकोटमा जाने बाह्य देशका पर्यटकहरुले दोहोरो कर तिर्नु पर्ने भएको छ । 

भक्तपुरको चाँगुनारायण र काभ्रेको मण्डन देउपुर नगरपालिकाबीच समन्वय नहुँदा असोज २९ गतेदेखि दोहोरो कर लागेको हो । 

दोहोरो कर लागु भएसँगै नगरकोट जाने सार्क राष्ट्रका पर्यकटहरुले ४ सय २६ र बाहिरकाले ६ सय ३९ रुपैयाँ तिर्नु पर्ने भएको छ । 

भक्तपुर र काभ्रेको करिब ३ सय मिटर फरकको दूरीमा नै दाहोर कर तिर्न परेपछि पर्यटकहरुमा गलत सन्देश गएको स्थानीयको भनाई छ । 

नगरकोटका दुवै नगरपालिकामा गरेर करिब एकसय होटल तथा रेष्टुराहरु छन् । जसमा सामान्यदेखि तारे होटलहरु समेत पर्छन् । 

अधिकांश होटल तथा रेष्टुराहरु मण्डन देउपुर नगरपालिकाको वडा नम्बर २ र केही १ मा पर्दछन् । एउटै गन्तव्यमा दुई स्थानमा रोकेर बाह्य मुलुका पर्यटकहरुसँग दोहोरो प्रवेश शुल्क लिँदा गलत सन्देश जाने स्थानीयको आशंका छ ।

पर्यटन व्यवसायीका अनुसार सडकको खराब अवस्था र प्रवेश शुल्कका कारणले गलत सन्देश गएको छ । ट्राभल एजेन्सीहरुले पर्यटहरुको गन्तव्य नै परिर्वतन गराउन थालेको गुनासो व्यवसायीहरुको छ । 

नगरकोट नाल्दुम पर्यटन विकास समितिका सचिब धनबहादुर लामाले रातोपाटीसँग भने, ‘पर्यटकहरुबीच एकदम गलत सन्देश जान थालेको छ, कि यसलाई हटाउनु पर्दछ होइन भने दुई नगरपालिकाले समन्वय गर्नुको विकल्प छैन् ।’ 

दोहोरो कर लगाउँदा नगरकोटको भविष्य नै अन्यौल हुने भन्दै पर्यटन व्यवसायीहरुले दुबै नगरपालिकाबीच समन्वय गरेर एकिकृत कर लगाएर केही रकम नगरकोटको भौतिक विकासको लागि लगानी गर्न आग्रह गर्दै आएका छन् । 

काभ्रेको मण्डनदेउपुर नगरपालिकाले यस आर्थिक वर्षदेखि नगरकोट जाने पर्यटकसँग प्रवेश लिन नगरपालिकाको आधिकारीक वेवसाइटमा २०७५ साउन १ सूचना प्रकाशित गरेको थियो ।

नगरपालिकाले २०७५/०७६ का लागि नगरपालिका अन्तर्गत नगरकोट क्षेत्र भित्रका काभ्रेचोक, भ्यू टावर चोक र कात्तिके क्षेत्रमा आउने विदेशी पर्यटकहरुसँग प्रवेश शुल्क उठाउने भएको हो ।

दोहोरो कर बारेमा नगरप्रमुखहरु भनाई  

'दाहोरो कर लिँदा पर्यटकहरुमा गलत सन्देश जाँदैन् ?' भन्ने प्रश्नमा चाँगुनारायण नगरपालिका नगरप्रमुख सोमप्रसाद मिश्रले एक करोड रुपैयाँ मण्डनदेउपुरलाई दिन चाँगुनारायण तयार भएपनि सहमति हुन नसकेको दाबी गरे ।

उनले भने ‘यो स्थानीय सरकार र संघीयतालाई नै कमजोर बनाउने खेल भएको छ, उहाँहरुले यो कुरा बुझ्नु भएन । ’

उता काभ्रेको मण्डनदेउपुर नगरपालिकाका नगरप्रमुख टोक बहादुर वाइबाले गत साल भएको मौखिक सहमतिको पालना नभएको र यो आर्थिक वर्षमा समेत छलफल नै नगरी कर उठाउन टेण्डर गरेपछि आफ्नो नगरपालिकाले बाध्य भएर यसो गरेको बताए । 

वाइबाले भने, ‘हामीले नगरकोटमा बसपार्क निर्माण, सार्वजनिक शौचालय निर्माण र अन्य पूर्वाधार विकासका लागि लाखौं रकम विनियोजित गरेको छौँ ।’ उठेको रकम त्यही खर्च गर्ने नीति रहेको वाइबाले बताए ।
भक्तपुरको चाँगुनारायण नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा ५१ लाख रुपैयाँ नगरकोट जाने पयर्टकसँग प्रवेश शुल्क उठाउन ठेक्कामा दिएको थियो । 

यो आर्थिक वर्ष २०७५/७६ को लागि ३ करोडमा ( कर बाहेक) ठेक्का दिएको छ  । अनुमति प्राप्त ठेकेदारले चाँगुनारायण नगरपालिकाको वडा नम्बर ६ तेलकोट र वडा नम्बर ८ को कलमसी भन्ने स्थानमा न्यु दक्षिणकाली निर्माण सेवा कर उठाउदैं आएको छ । 

चाँगुनारायणले सार्क राष्ट्रका पर्यटहरुसँग २ सय र सार्क बाहिरकालाई ३ सय प्रवेश शुल्क लिने गरेको छ । 

मण्डनदेउपुर तर्फ भने  मन्जरी निर्माण सेवा ठेक्का पाएर कर लिन सुरु गरेको हो ।  उक्त कम्पनीले सार्क राष्ट्रका पर्यटहरुसँग २ सय २६ र सार्क बाहिरकालाई ३ सय ३९ लिदैं आएको छ । भक्तपुरतर्फ भने चाँगुनारायण मन्दिर जानेबाट समेत ठेकेदारले शुल्क लिन पाउछन् । 

पुर्वाधारको अभावः कर मात्र लाउने नीति 

नगरकोट जाने मुख्य सडकको रुपमा रहेको कमलविनायक नगरकोट सडकको अवस्था निकै कष्टकर छ । 

पानी पर्दा हिलो हुने र घाम लाग्द धुलो हुने सामान्य जस्तो भइसकेको छ । अर्कातिर होटल व्यवसायलाई आवश्यक पानी समेत किनेर चलाउनुपर्ने बाध्यता पर्यटन व्यवसायीमाझ छ ।

विभिन्न सरकारी निकायमा दर्ता भएर आएका व्यवसायीले राज्यलाई कर तिरेपछि सुविधा नभएको बताउँछन् । फोहोर व्यवस्थापन समेत चुनौती बन्दै गइरहेको छ ।

सूर्योदय, सूर्यअस्त र हिमाल हेर्न मात्र पर्यटक जाने गरेको र बसाई लम्बाउने अन्य केही कुरा नभएको स्थानीयहरुको भनाई छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप