चोटग्रस्त मेस्सी तीन साता मैदान बाहिर, बार्सिलोना चिन्ताग्रस्त
काठमाडौँ - बार्सिलोना फुटबल क्लब आफ्ना कप्तान तथा उच्च लयमा रहेका स्टार खेलाडी लियोनल मेस्सी चोटग्रस्त हुँदा चिन्ताग्रस्त बनेको छ ।
स्पेनिस ला लिगा अन्तर्गत शनिबार सेभियाविरुद्धको खेलका क्रममा घाइते बनेका बार्सिलोना कप्तान मेसी कम्तीमा तीन साता मैदान बाहिर रहने भएका छन् ।
अर्जेन्टाइनी मेस्सी सेभियाबाट खेल्ने उनकै देशका खेलाडी फ्रान्को भाज्क्वेजसँग बल खोस्ने क्रममा ठोक्किएपछि मैदानमा लडेका थिए ।
बार्सिलोनाले ३१ वर्षीय मेसीको दायाँ हातको पाखुराको हड्डी फ्याक्चर भएको पुष्टि गरेको छ । मेस्सीलाई निको हुन कम्तिमा तीन साता लाग्नेछ ।
मेस्सी तीन साता मैदान बाहिर रहँदा ६ खेल गुमाउने छन् । यसमा ला लिगाका तीन, च्याम्पियन्स लिगका दुई तथा कोपा डेल रेको एक खेल रहेका छन् ।
मेसीले यसै साता कात्तिक ७ मा हुने च्याम्पियन्स लिग अन्तर्गत इन्टर मिलानसँगको खेल गुमाउने छन् भने अर्को साता कात्तिक ११ मा हुने रियल म्याड्रिडविरुद्धको एल क्लासिको पनि खेल्ने छैनन् ।
यस्तै कात्तिक १४ मा लिओनेसा, कात्तिक १७ मा रायो भालेकानो, कात्तिक २०मा इन्टर मिलान तथा कात्तिक २५मा रियल बेटिसविरुध्दका खेलसमेत मेस्सीले गुमाउने छन् ।
मेसीले सिजनको सुरुवात उत्कृष्ट ढंगले गरेका थिए । उनले १२ खेल खेल्दै १२ गोल गरिसकेका छन् ।
सेभियाविरुद्धको खेलमा २४औँ मिनेटमा घाइते हुनुअघि नै मेस्सीले एक गोल र एक असिस्ट गरेका थिए । उनले १२औँ मिनेटमा गोल गरेका थिए भने दोस्रो मिनेटमा फिलिप कोन्टिन्होले गरेको गोलका लागि पास मिलाई दिएका थिए ।
चोटग्रस्त मेसी ठीक होलान् कि भनी बार्सिलोनाका फिजियोले उनको हातमा ब्यान्डेज लगाएका थिए । तर, अत्यधिक दुखाइका कारण मेसीले खेल्न सकेनन् । उनको स्थानमा २७औँ मिनेटमा ओस्मान डेम्बेले मैदान प्रवेश गरेका थिए ।
मेसी मैदानबाट बाहिरीएपछि लुइस सुआरेजले बार्सिलोनाको आक्रमण सम्हालेका थिए । उनले त्यसक्रममा एक गोल पनि गरेका थिए । पछिल्लो ६ खेलमा गोल गर्न नसकेका सुआरेजले मेसीको अनुपस्थितिको अभाव खड्कन नदिन अब यस्तै प्रदर्शनलाई निरन्तरता दिनुपर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढ्दो सहरीकरणले भूकम्पीय जोखिम बढायो : राष्ट्रपति पौडेल
-
उपनिर्वाचनमा आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने
-
चेल्सीलाई पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लियो
-
विना विभागीय मन्त्री व्यवस्थापन गर्न मुख्यमन्त्री जम्कट्टेललाई सकस
-
म्याक्सचेञ्ज मेला आयोजना गर्दै टाटा मोटर्स
-
चेन्नई लखनउसँग ६ विकेटले पराजित