शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सहज रुपमा पाइन थाल्यो सरकारले वितरण गर्ने निःशुल्क औषधी

आइतबार, ०४ कात्तिक २०७५, ११ : ३२
आइतबार, ०४ कात्तिक २०७५

बुटवल – ५ नम्बर प्रदेशमा सरकारले तोकेको निःशुल्क औषधी बितरणको जिम्मा स्थानीय तहले लिएपछि रुपन्देहीमा अाैषधी सहज भएको छ ।  

सरकारले निःशुल्क औषधी सहज रुपमा उपलब्ध गराउन प्रदेश तथा गाउँपालिकास्तरमै औषधी खरिदका लागि बजेट विनियोजन गरेको थियो । जसअनुसार बिरामीले राज्य तोकेको विभिन्न प्रकारका औषधी निःशुल्करुपमा सहज तरिकाले प्राप्त गर्ने भएका हुन् । 

  जिल्ला अस्पतालमा ७० प्रकार, प्राथमिक स्थास्थ्य चौकी र स्वास्थ्य चौकीलगायतका तल्लो तहका स्वास्थ्य केन्द्रमा ४० प्रकार औषधी निःशुल्क बितवरण हुने गर्छ ।
 
 प्रदेश नम्बर ५ को समाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख  डा. उमाशंकर चौधरीले  सबै स्थानीय तहमा बजेट पुगेको तथा क्षेत्रीय  मेडिकल स्टोर बुटवल र नेपालगञ्जबाट पनि औषधी पठाइएकाले सहजता भएको बताए । 
उनले प्रदेश सरकारले औषधी खरिदको लागि १२ करोड रुपैयाँ छुट्याएको बताए । यस्तै स्थानीय तहले पनि आ–आफ्नौ ढंगबाट औषधी बितवरणका लागि रकमको व्यवस्थापन गरेका छन् ।
डा. चौधरीले भने, ‘हामीले राज्यले तोकेको औषधीमा वितरणमा कुनै पनि बहानामा ढिलो गर्ने या औषधी सकिएको देखिएमा तत्काल कडा कारबाहीमा जाने रणनीति बनाएका छौं ।’

रुपन्देहीको तिलोत्तमा शंकरनगरकी ३८ वर्षीया उमा चौधरी सामान्य उपचारका लागि घरभन्दा २ किलोमिटर टाढाको शंकरनगर स्वास्थ्य चौकी जान्छिन् । सासू–ससुरा वृद्ध भएकाले पनि  स्वास्थ्य जाँच गर्न र गराउन उनलाई स्वास्थ्य चौकी गइरहनुपर्छ । पहिले स्वास्थ्य चौकी पुग्दा औषधी पाइँदैनथ्यो । स्वास्थ्यकर्मी पनि सधैं भेटिँदैनथे । अहिले भने उनलाई स्वास्थ्य चौकीको अवस्था फेरिए जस्तो लागेको  छ ।

शंकरनगर स्वास्थ्य चौकीमा सरकारले निःशुल्क दिने भनेका ३५ प्रकारका औषधीको अहिले अभाव छैन । स्वास्थ्य चौकी इन्चार्जले बिरामी जाँचेर सामान्य औषधी दिने हुनाले उपचारका लागि निजी क्लिनिकमा जान छाडेको उनी बताउँछिन् । 

चौकी इन्जार्च सिर्जना पछाइले भनिन्– ‘पहिला जिल्लाबाट औषधी ल्याउँदा समस्या थियो । अहिले त्यस्तो समस्या छैन ।’

गतबर्ष तिलोत्तमा नगरपालिकाले औषधी खरिदको लागि १४ लाख रुपैयाँ छुट्याएको नगरपालिकाका स्वास्थ्य संयोजक काशीराम बन्जाडेले बताए ।

यस वर्ष सो नगरपालिकाले स्वास्थ्य क्षेत्रका लागि भनेर एकमुष्ठ रकम छुट्याइएको छ । केन्द्रबाट आएको बजेटले औषधि किन्न नपुगेमा  नगरपालिकाले व्यहोर्ने जनाइएको छ । 

सैनामैना नगरपालिकाले गत वर्ष १० लाखको औषधी खरिद गरेको थियो । अहिले के कति रकम छुट्याउने भन्ने टुङ्गो लागेको छैन । केन्द्रबाट आउने रकम गत सालभन्दा  घटेकाले नगरपालिको आफ्नै बजेटबाट खरिद गरी औषधी अभाव हुन नदिने तयारी गरेको छ । 

सैनामैना नगरपालिकाका लागि स्वास्थ्य विभागले गतवर्ष ८ लाख रुपयाँको औषधी खरिद गरेको थियो । बाँकी औषधी नगरपालिकाले किन्ने निर्णयअनुसार जिल्ला जनस्वास्थ्य कार्यालयसँग समन्वय गरेर काम भइरहेको छ । अहिले पनि अनुदानबाट खरिद गर्न ५ लाख रुपैयाँ छुट्याइएको छ ।

बुटवल उपमहनगरपालिकाले गतवर्ष औषधी किन्नका लागि १९ लाख ५५ हजार रुपैयाँ बजेट छट्याएको थियो । अहिले केन्द्रले १८ लाख रुपैयाँ छुट्याएको छ । 
बुटवलमा औषधी खरिद गर्दा सावजनिक आर्थिक खरिद ऐनले तोकेको प्रकृया अपनाइएको छ । 
 बुटवल उपमहानगरपालिकामा ७ वटा स्वास्थ्य संस्था छन् । अहिले स्वास्थ्य सेवाको लागि एकमुष्ठ रकम छुट्याइएको छ । केन्द्रबाट अनुदान पनि आएको छ । नगरपालिकाले एलोपेथिक औषधी खरिदको लागि भनेर अहिले बजेट छुट्याएको छैन तर आयुर्वेदिक औषधीका लागि ३ लाख रुपैयाँ छुट्याएको छ । 
बुटवल उपमहानगरपालिकाका स्वास्थकर्मी कपिल गौतमले भने– ‘जिल्ला जनस्वास्थ्य कार्यालय र केन्द्रबाट पठाएको रकम र थप चाहिएमा स्वास्थ्य क्षेत्रबाट नगरपालिकाले छुट्याएको रकमले औषधी अभाव हुन नदिने उपमहानगरको योजना छ ।’

कन्चन गाउँपालिकाअन्तर्गत रुद्रपुर स्वास्थ्य चौकी र गजेडी स्वास्थ्य चौकी रहेका छन् । ती दुई स्वास्थ्य चौकीका लागि संघीय सरकारले दिएको ४ लाख ८० हजार रुपैयाँबाट औषधी खरिद भएको छ । आवश्यकताअनुसार थप औषधी गाउँपालिकाले खरिद गर्ने निर्णय भएको गाउँपालिकाका स्वास्थ्य संयोजक सुरेन्द्र बास्कोटाले बताए । 

यस्तै ओमसतिया गाउँपालिकामा पनि बिरामीले सहज रुपमा औषधी पाएका छन् । ओमसतिया गाउँपालिकामा ५ वटा स्वास्थ्य संस्था छन् । केन्द्रले छुट्याएको ५ लाख रुपैयाँबाट औषधी खरिद भइसकेको छ । गाउँपालिकाले स्वास्थ्य सेवाका लागि ४६ लाख रुपैयाँ छुट्याएको गाउँपालिकाका स्वास्थ्य संयोजक रामप्रसाद भट्टराईले बताए । 

गैडहवा गाउँपालिकामा ४ वटा स्वास्थ्य संस्था छन् । ती संस्थामा दुई महिनाअघि नै टेन्डर प्रक्रियाबाट औषधी खरिद भइसकेको छ । गाउँपालिकाबाट ६ लाख रुपैयाँ र नेपाल सरकारबाट ६ लाख ७० हजार रुपैयाँ बजेट औषधी खरिदका लागि छुट्याइएको थियो । 

गतवर्ष सिद्धार्थनगरमा औषधीका लागि बजेट छुट्याइएको थिएन भने अहिले १० लाख रुपैयाँ छुट्याइएको छ  । सो नगरपालिका मातहत भीम अस्पताल र दुईवटा शहरी स्वास्थ्य केन्द्र छन् । ती स्वास्थ्य संस्थाका लागि औषधि खरिद गर्न स्वास्थ्य विभागले  ९ लाख रुपैयाँ छुट्याएको थियो । उक्त रकमको औषधीले नै नगरका स्वास्थ्य केन्द्रले काम चलाएका छन् । 

नगरपालिकाका स्वास्थ्य संयोजक गीतादेवी न्यौपानेले आफूले औषधी खरिदको लागि नगरपालिकाको परिषद् बैठकमा लिखित प्रस्ताव पेश गरेको तर नगरपालिकाले औषधी खरिद गर्न रकम नछुट्याएको बताइन् । अहिले आएर  १० लाख रुपैयाँ छुट्याएको उनको भनाई छ ।  

जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख केहरसिंह गोदारले रुपन्देहीका सबै गाउँपालिकाले समन्वय गरेर काम गरेको बताए । ‘केन्द्रबाट पठाएको औषधी हामीले स्थानीय तहमा दिने गरेका छौँ । हामीसँग नभएका केही औषधी स्थानीय आवश्यकताअनुसार स्थानीय तहबाट खरिद हुने गरेको छ’, उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप