शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रशन्नाको प्रशन्नता सूत्र:  जागीर छोड्ने जोखिम मोल्यौँ, मेहनतले सफलता पायौँ

शनिबार, ०३ कात्तिक २०७५, ०८ : २१
शनिबार, ०३ कात्तिक २०७५

पढाइ राम्रो थियो, जागिर पनि राम्रै पाइयो । युनिसेफको जागिर, तलब पनि राम्रै आउँथ्यो । तर प्रसन्ना बस्नेतको आकांक्षा जतिसुकै राम्रो जागिरबाट पनि पूरा नहुने खालको थियो । 

प्रशन्ना परिश्रमको पसिनामा फूल फुलाउने चाहना राख्थिन् । उनको चाहना बेचेको श्रमबाट हैन, धेरैको श्रम किनेर मात्र पूरा हुन्थ्यो । अर्थात् आफू कसैको जागिरे भएर नभई कैयौँलाई रोजगारी दिएर मात्र उनको आकांक्षा सफल हुन सक्थ्यो । 

तर त्यसरी आफू रोजगारदाता बन्न उद्यमशीलताको क्षमता हुनुपर्थ्यो । प्रशन्नाको परिवारमा व्यापार ब्यवसाय गर्ने कोही थिएनन् । त्यसले गर्दा पनि कुनै व्यवसायमा हात हालिहाल्न कतै यति राम्रो तलब आउने जागिर छोड्दा जोखिम हुने त हैन भन्ने प्रश्न उनको मनमा उठ्थ्यो । फेरी अर्को मनले सोच्थ्यो, जोखिम लिन नचाहनेले केही पनि गर्न सक्तैन । आखिर मैले अफिसमा राम्ररी काम नगरे, मलाई जागिरबाट निकाल्दिन सक्छ । यति नै मेहनत गरेर काम गरें भने म उद्यमी बन्न किन नसकुँला ? 

प्रसन्नाले बहिनी प्रियंकालाई आफ्नो मनको कुरा भनिन् । बहिनी प्रियंका बुद्ध एयरमा होलिडे प्याकेज बनाउने काम गर्थिन् । प्रियंका दिदीको विचारसँग सहमत भइन् । प्रसन्नाले पाँच बर्षदेखि युनिसेफमा खाँदै आएको जागिर छोडिन् भने प्रियंकाले बुद्ध एयर । अनि शुरु भयो दिदीबहिनीको उद्यमी बन्ने यात्रा ।   

दिदीबहिनीले जागिरबाट जम्मा गरेको एक एक लाख रुपैयाँबाट शुरु गरे कटन मिल । बेडसिट, कुशन, बेड कभर, कटन ब्ल्याङ्केट बनाउने योजनासहित । 

त्यस्ता सामान विदेशबाट आयात हुन्थ्यो । उनीहरुले त्यस्तै सामान बनाएर बेच्ने निर्णय गरे तर त्यस्तै बनाउने सीप थिएन उनीहरुसँग । प्रशन्ना भन्छिन्, ‘बेडका कभर, सिरानीको कभर लगायतमा हातले प्रिन्ट गर्ने गरिन्थ्यो । हामीसंग त्यो सीप थिएन । प्रिन्ट गर्ने काम सिक्न गएको ठाउँमा हामीलाई निरुत्साहित गरियो । तर पनि हामीले सिक्ने रहर मर्न दिएनौं। इन्टरनेटमा सर्च गरेर भएपनि प्रिन्ट गर्ने  काम सिकेरै छाड्यौँ ।’  

अहिले त उनीहरुको फ्याक्ट्री थेचुमा छ, जुन इको फ्रेण्डलीसमेत छ । फ्याक्ट्री माटोले बनाइएको छ । आकाशे पानी  जम्मा गरेर प्रयोग गरिन्छ । एकपटक प्रयोग गरेको पानीलाई रिसाइकल गरेर पुन प्रयोगमा ल्याइन्छ । यसो गर्दा फ्याक्ट्रीलाई महिनामा ३ हजार लिटर पानी भए पुग्छ ।  फ्याक्ट्री चलाउन ३० प्रतिशत बिजुली र ७० प्रतिशत सोलारको प्रयोग गरिन्छ । 

दुई लाखबाट शुरु गरेको व्यवसायमा ३७ जनालाई रोजगारी:
दुई दिदीबहिनीले जागिरबाट जोगाएको दुई लाखबाट सात बर्षअघि शुरु गरिएको कटन मिलले अहिले ३७ जनालाई रोजगार दिएको छ । 

यी दिदीबहिनीले अहिले नेपालमा बनेको कपडामात्र प्रयोग गर्छन्, आफ्ना  उत्पादनका लागि  । नेपालमा नपाइने कपडामात्र भारतबाट ल्याउने गर्छन् । आयात प्रतिस्थापन गर्ने योजनाले व्यवसाय प्रवेश गरेका उनीहरु अहिले आफ्ना उत्पादन विदेश निर्यात गर्नसमेत सक्षम भएकाछन् ।

प्रसन्ना भन्छिन्, ‘जीवनमा जोखिम हरेक ठाउँमा हुन्छ, राम्रो पारिश्रमिकमा जागिर खाएका हामीलाई आफैले केही गर्नुपर्छ भन्ने जोश जागेपछि जागीर छोड्ने जोखिम मोल्ने साहस आयो । जोखिम लिन सक्नेले मेहनत गरे सफलता प्राप्त गर्छ भन्ने कुरा हाम्रो विस्तार हुँदै गएको स्टोरले पनि पुष्टि गर्छ ।’

प्रशन्नाका अनुसार अहिले उनीहरुले ३७ जनालाई रोजगारी दिएका छन् । नागपोखरी, सानेपा र बौद्धमा स्टोर छ भने चाँडैनै अरु दुई वटा स्टोर ठमेल र दरबारमार्गमा खुल्दै छ ।
‘कुनै पनि काम सहज छैन । कसैले सहज देखेको र राम्रो आम्दानी हुने देखेको पेशामा समेत आफ्नै खालको भित्रि संघर्ष हुन्छ । व्यवसाय जगाउन त्यसले सक्छ, जो हरेक संघर्षमा हरेश खाँदैन र आत्मविश्वास जोगाइराख्छ,’ प्रशन्ना भन्छिन्, ‘हाम्रो अनुभवको निचोड यही हो ।’ 

पढेको मान्छेले पनि किन कपडा काट्ने काम गरेको भन्थे:

उनीहरुले शुरु शुरुमा काम नजानेकाले सामानको प्रिन्ट बिग्रन्थ्यो । बिग्रेको सामान कसले लान्थ्यो र ? तर पनि हरेक गल्तीले केही न केही सिकाएर जान्थ्यो यी दिदीबहिनीलाई । गल्तीहरुले बिगारेर मात्र जादैन, केही सिकाएर पनि जान्छ भन्ने प्रमाण उनीहरुको अहिलेको अवस्था हो । 

प्रशन्ना भन्छिन्, ‘गल्ती नगरी सिकिदैन र नसिकी जानिदैन पनि । फ्याक्ट्रीभित्र पसेर निस्कदा रंगले छ्याप्पै छोपिएर नचिनिने हुन्थ्यौँ । देख्नेले भन्थे, यति धेरै पढेर पनि यस्तो काम के गरेका होलान् ? कपडा काट्ने काम नै गर्नु थियो भने किन युनिभर्सिटिको डिग्री लिएका होलान् !’ 

प्रसन्नाले जर्मनीबाट स्नातकोत्तर तहको अध्ययन पुरा गरेकी छिन् । उनीहरुले गरेको कामलाई अरुले नपढेकाले गर्ने काम भनेपनि प्रशन्ना भने आफूले पढेकै कारण यो स्तरको व्यवसाय गर्ने हिम्मत आएको बताउँछिन् । उनी भन्छिन्, ‘नपढेको भए यो काम गर्ने आत्मविश्वास आउँदैनथ्यो । सामान्यतया केटाहरुले मात्र गर्ने काम हामीले गरेका छौ । दुनियाँ देख्यौ र त हामीलाई ‘ग्रासरुट लेभल’को काम गर्न समस्या भएन ।’  

प्रशन्नाका अनुसार पहिला उनीहरुको स्टोर थिएन, प्रदर्शनी भएका ठाउँमा मात्र स्टल राखिन्थ्यो । त्यस्ता ठाउँमा आफ्ना उत्पादन मानिसहरुले मन पराइदिएपछि उनीहरुले स्टोर खोलेका हुन् । 
‘कसैले आएर तपाईंको प्रोडक्ट प्रयोग गर्छु, राम्रो लाग्छ भन्यो भने निकै खुसी लाग्छ,’ प्रशन्नतापूर्वक प्रशन्ना भन्छिन् । अहिले प्रशन्ना-प्रियन्काका उत्पादनप्रति ग्राहक मोहित भएका छन् भने त्यसबाट उनीहरु मख्ख । 

उनीहरुले आफ्ना ग्राहकहरुलाई कष्ट नहोस् भनेर फेसबुकबाट अर्डर लिएर घरसम्म पुर्याइदिने काम समेत गर्न थालेका छन् । उनीहरु पेशामा कतिसम्म रमाइरहेका छन् भने दिदीबहिनीबीच आपसमा दुःख सुखका कुरा गर्ने समय समेत हुँदैन रे ! 

कुनै बेला व्यवसाय कसरी गर्ने भन्नेसम्म थाहा नभएका प्रशन्ना-प्रियन्का अहिले उद्यमशीलता उन्मुख महिलाहरुका लागि आदर्श र प्रेरणास्रोत समेत बनेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप