शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महोत्तरीमा एक दर्जन दर्शनार्थीको सुन लुटियो, प्रहरी बेखबर

शुक्रबार, ०२ कात्तिक २०७५, १३ : ५८
शुक्रबार, ०२ कात्तिक २०७५

गौशाला । भूत मेलाका लागि प्रख्यात महोत्तरी जिल्लाको सोनामाई मन्दिरमा एक दर्जन दर्शनार्थीको सुन लुटिएको छ । 

जिल्लाको औरही नगरपालिका–७ मा पर्ने सोनामाई मन्दिरमा दर्शन गर्ने क्रममा आज मात्रै सातजना महिलाको सुन लुटिएको स्थानीयवासी सुरेश ठाकुरले बताए । 

शिबीबार सोनामाई मन्दिरमा दर्शन गर्ने क्रममा औरही–७ कै शिवशङ्कर ठाकुरकी पत्नी उमादेवी ठाकुरको दुई तोलाको सुनको सिक्री लुटिएको छ भने सोही वडाका वडाध्यक्ष गणेश यादवकी बहिनीको पनि मङ्गलसुत्र लुटिएको छ । त्यस्तै आजै अन्य पाँचको गरी जम्मा सातजनाको सुनको सिक्री र मङ्गलसुत्र लुटिएको जनाइएको छ । 

त्यसैगरी सोनामाई मन्दिरमा बुधबार पनि दर्शन गर्ने क्रममा पाँचजनाको सुनका गरगहना लुटिएको स्थानीयवासी सुरेश ठाकुरले बताए । उनले नेपालीसहित केही भारतीय दर्शनार्थीको पनि सुनका गरगहना लुटिएको बताए । महिलाको मात्रै गलामा रहेका सुनका सिक्री र मङ्गलसुत्र लुटिएको छ भने यसै क्रममा मङ्गलसुत्र लुटिएको एक भारतीय महिला मन्दिर परिसरमै निकै रोइरहेको भेटिएको छ । 

देवी मन्दिरमा दर्शनका क्रममा दुई दिनमा एक दर्जन व्यक्तिको सुन लुटिएको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख तथा प्रहरी उपरीक्षक ईश्वर कार्कीसँग सोध्दा उनले आफूलाई यस सम्बन्धमा कसैले केही जानकारी नगराएको बताए । 

मन्दिरमा आज भीडभाडका बीच सातजनाको सुन लुटिएपछि ठूलो हल्लाखल्ला भएपछि सुन लुट्नेमध्येका एकजनालाई स्थानीयवासीले पक्राउ गरेका छन् भने उनको नाम गोप्य राखिनाका साथै प्रहरीको जिम्मा पनि नलगाएको स्थानीयवासी ठाकुरले आरोप लगाए । 

दुई दिनमा एक दर्जन व्यक्तिको सुन लुटिएको सोनामाई मन्दिरमा प्रहरीको उपस्थित रहँदा पनि प्रहरीले केही गर्न नसकेको सर्वसाधारण र मेला भर्न आएका नेपाली तथा भारतीय दर्शनार्थीले गुनासो गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप