शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सरकारले जनताको विश्वासलाई तलमाथि पर्न दिँदैन : प्रधानमन्त्री ओली

शुक्रबार, ०२ कात्तिक २०७५, ०९ : ५०
शुक्रबार, ०२ कात्तिक २०७५

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनताको विश्वासलाई तलमाथि पर्न नदिने बताएका छन् । आफैँले आयोजना गरेको शुभकामना कार्यक्रमलाई बिहिबार झापाको विर्तामोडमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । 

सरकारको सफलतासँग आफ्नो असफलता देख्नेहरुले विभिन्न हल्ला र जनतामा विचलन ल्याउन खोजे पनि आफू जनताका अपेक्षा र विश्वासलाई सधैं शिरोधार्य गर्ने प्रधानमन्त्री ओलीको भनाई छ ।

चुनावका बेला पार्टीले ज्येष्ठ नागरिक भत्ता बढाउने प्रतिबद्धता गरेपनि अघिल्लो सरकारले राष्ट्रिय ढुकुटीको चरम दोहन गरेकोले बढाउन नसकिएको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘अब ढुक्क हुनुहोस । आउने बर्षमा ज्येष्ठ नागरिक भत्ता वृद्धि हुन्छ । हामीले राज्यको ढुकुटीलाई विस्तारै मजबुद बनाउँदैछौं,’ उनले भने । 

प्रधानमन्त्री ओलीले सरकार देश विकासको कामलाई द्रुत गतिमा अघि बढाउन तल्लिन रहेको बताए । ‘धुलो नउड्ने सडक बनाउनका लागि पनि सडकमा धुलो उडाउनु पर्नेपर्दछ’ प्रधानमन्त्री ओलीले भने, ‘दुई बर्षभित्र काठमाडौंका सडक सफा भइसक्छन् ।’

प्रधानमन्त्री ओलीले समाज निर्माण र सञ्चालनमा चाडपर्वको महत्वपूर्ण भूमिका हुने बताएका छन् । नेपालको संयुक्त परिवार प्रणाली विश्वमै अनुपम रहेको र यसले आत्मियताको नमुना पेश गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । 

‘हाम्रा चाडपर्वले आपसी द्वन्द्वलाई निस्तेज पारेर आपसी सद्ध्भाव कायम गरेका छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘चाडपर्वमा दिइने आशिषबाट थाहा हुन्छ कि पुर्खाका पालामा नै समृद्ध नेपाल र सुखी नेपालीको कामना गरिएको थियो । त्यो कामना वर्तमान सरकारले पुरा गर्छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप