शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एकान्तकुमारीको जात्रा सकियो, तलेजुमा दर्शनार्थीको घुइँचो

बिहीबार, ०१ कात्तिक २०७५, १४ : ५५
बिहीबार, ०१ कात्तिक २०७५

–रमेश गिरी 
भक्तपुर । जीवितदेवीका रूपमा पुजिने भक्तपुरको एकान्तकुमारीसहित ११ कुमारीको पूजा गरी आज कुमारीजात्रा मनाइएको छ । 

तलेजुको प्रतिमूर्तिको रूपमा पुजिने एकान्तकुमारी जीविका बज्राचार्यलाई आज बिहानैदेखि तलेजुको आगमघरमा ल्याएर विधिवत रूपमा जात्रा मनाइएको हो । आजै टिबुक्छेँमा रहने ११ जनाको गणकुमारीको समेत तलेजुमा लगेर पूजा गर्ने कार्य पुरा भएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए । 

तलेजुमा ऋग्वेद, यर्जुवेद, अथर्ववेद र सामवेदलगायतको पाठ गरी कुमारीको राजोपाध्याय र कर्माचार्यको पूजा गरी कुमारीजात्रा मनाइएको हो । कुमारीको चतुर्ब्रह्म महाविहारमा लगि पूजा सकेर तलेजुमा विराजमान गराइएको थियो । 

त्यसैगरी भक्तपुरको ऐतिहासिक तलेजु भवानीको मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । महानवमीको दिन आज एकदिनका लागि सर्वसाधारणको दर्शनका लागि खुल्ला गरिने भएकाले तलेजु मन्दिर दर्शनार्थीहरुको भीड लागेको हो । महानवमीका दिन मन्दिरमा तलेजु भवानी प्रकट हुने जनविश्वासका कारण आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको हो । 

सत्रौं शताब्दीमा मल्ल राजा जयप्रकाश मल्लले तलेजु भवानीसँंग त्रिपाशा खेल्ने गरेको किंवदन्ती छ । किंवदन्तीअनुसार राजा जयप्रकाशले कुदृष्टिले हेरेपछि तलेजु भवानी त्यहाँबाट हराएकी थिइन् । 

राजाले क्षमा माग्दै धेरै रोइकराई गरेपछि तलेजुले वर्षको एक पटक मात्र आउँछु भन्ने वचन दिएकीले हरेकवर्ष महानवमीका दिन तलेजु भवानी आफ्नो मन्दिरमा प्रकट हुने विश्वासका साथ मानिसको घुइँचो लाग्ने गर्दछ । 

एकअर्को किंवदन्तीका अनुसार उनै त्रिपाशा खेल्ने तलेजु भवानी बालिकाको शरीरभित्र कुमारीको रुपमा प्रवेश गरेको जनविश्वास रहेको छ । त्यसैबेलादेखि भक्तपुरमा कुमारीलाई एकान्त कुमारीको रुपमा पुजिन थालिएको हो । 

कुमारी पुजिने चलन सबैभन्दा पहिले भक्तपुरबाट शुरु भएको थियो, त्यसपछि काठमाडौँ र ललितपुरमा विस्तार भएको भक्तपुर तलेजु मन्दिरका मूल नाइके नरेन्द्रप्रसाद जोशीले बताए । 

तलेजुमा दशैंमा ५४ वटा बोका, ३२ वटा राँगा र २४ वटा हाँसको बली दिई जात्रा मनाइएको छ । तलेजुका मूल पुरोहितले मांसाहुती होम सम्पन्न गरेपछि तलेजुमा बली दिइने परम्परा रहेको छ । तलेजुलाई आज देवगृहबाट स्थानान्तरण गरी आगमघरमा विराजमान गराइसकेपछि जात्रा सम्पन्न हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप