डा. नवराज लम्सालका नजरमा पढ्नैपर्ने १५ पुस्तक
हृदयमा कोमलता, व्यवहारमा सरलता, चिन्तनमा उच्चता, अध्ययनको क्षेत्रमा गम्भीर डा. नवराज लम्साल व्यक्ति एक भए पनि उनमा प्रतिभा भने अनेक छन् । उनी लामो समयदेखि रेडियोकर्मीका रूपमा सुपरिचित छन् नै । नेपाली छन्दकविता र गीतको क्षेत्रमा उनको अलग्गै उचाइ पनि छ ।
विसं २०५१ बाट रेडियो नेपालको जागिर सुरु गरेका उनी अहिले रेडियो नेपालको उच्च पद कार्यक्रम महाशाखा प्रमुखका रूपमा कार्र्यरत छन् । बीबीसी नेपाली सेवामा विभिन्न कार्यक्रम उत्पादक तथा प्रसारकसमेतको जिम्मेवारी निर्वाह गरिसकेका उनी कविता, गीतलगायत विधा लेखनमा पनि उत्तिकै सक्रिय छन् ।
केही कविता सङ्ग्रह, महाकाव्य, बालगीत सङ्ग्रहलगायतका ७ साहित्यिक कृतिसमेत बजारमा ल्याउन सफल उनी ‘जनतासँग प्रधानमन्त्री’ नामक रेडियो लाइभ कार्यक्रम सञ्चालन गरेर दक्षिण एसियामै पहिलो व्यक्तिसमेत बन्न सफल भए ।
देशका प्रायः मिडियामा उनका गीत, कवितालगायतका साहित्यिक कृति बेलाबेलामा प्रकाशन, प्रसारण हुने गरेका छन् । रेडियोमा धार्मिक कार्यक्रमदेखि ‘घटना र विचार’ जस्तो फरक राजनीतिक कार्यक्रमसम्म सञ्चालन गर्न सफल उनी थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार विजेता पनि हुन् । उनको नाम धेरै अध्ययन गर्न रुचाउने साहित्यकारको सूचीमा समेत अटाउने गरेको छ । देश विदेशका साहित्यिक मञ्चमा उभिएर नेपाली गीत, कविता गुन्जाउन सफल लम्सालले अध्ययन गर्न चाहनेका लागि उनले सुझाएका १५ पुस्तक चर्चा उनकै शब्दमा ।
तरुण तपसी
दशैं बिदाको सदुपयोग गर्न चाहनेका लागि लेखनाथ पौडेलको ‘तरुण तपसी’ एउटा राम्रो पुस्तक हो । यो पुस्तक तरुण तपसीको सेरोफेरोमा घुमेको छ । यसले पूर्वीय चिन्तन, पूर्वीय अध्यात्म, पूर्वीय विश्वास र पूर्वीय मिथकहरूमाथी राम्रो खेलेको छ । ‘तरुण तपसी’लाई स्वर्गद्वारी महाप्रभुसमेत भन्ने गरिन्छ । पुस्तकका लेखक लेखनाथ पौडेल हुन् । स्वर्गद्वारी महाप्रभुलाई पहिलो पटक लेखनाथ पौडेलले भेट्न गए रे ।
सो समय प्रभुले भने ‘म जोगी भएर यहाँ बसेँ । तर तिम्रो गृहस्थी बाँकी छ । घरगृहस्थी सञ्चालन गर्नुपर्छ । बाबुआमा पाल्नुपर्छ । छोराछोरीको विवाह दान गर्नुपर्छ । सबैकुरा हेर । सबैको विवाह दान गर । सबै कुरा सकेका तिमी फर्क ।’ लेखनाथ पौडेलले प्रभुले भनेझैँ सबै कुरा सकेर स्वर्गद्वारी पुगेर त्यहीँ बसेर यो पुस्तक लेखेका हुन् । यो पुस्तकमा अध्ययनले बेग्लै खालको तृप्ति दिन्छ ।
शाकुन्तल
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘शाकुन्तल’ पहिलो नेपाली महाकाव्य हो । यो पूर्वीय मिथकका आधारमा लेखिएको छ । यो प्राचीन मिथक दुष्यन्त र शकुन्तलाको कथासँग जोडिएको छ ।
विषयवस्तु पुरानो र एउटा मिथक कथा भए पनि यसलाई लेख्ने लेखकीय शिल्पका आधारमा यो नेपाली साहित्यको पहिलो महाकाव्यका रूपमा परिचित छ । कवि देवकोटाको काव्यिक उडानको, काव्यिक कल्पनाको उचाइ, भाषाको प्राञ्जल स्वरूप र विषयविम्बहरूले भरिएको यो कृति असाध्यै सुन्दर छ । यो कृति सबैले पढ्नुपर्छ ।
चपाइएका अनुहार
उपन्यासमध्येमा मलाई दौलत विक्रम विष्टको ‘चपाइएका अनुहार’ पनि राम्रो लाग्छ । यसमा धेरै पात्रहरू छन् । क्रिम्रिक भन्ने पात्र पनि छ । ‘चपाइएका अनुहार’ भनेर त्यो विकृति, विसङ्गती, बेथिति, अप्ठ्यारा र जटिलताभित्र राम्रोसँग खेलिएको पुस्तक हो यो
। धेरै कम मान्छेलाई थाहा छ दौलत विक्रम विष्टको कृति ‘चपाइएका अनुहार’ । यो पुस्तक युद्धकालीन समयको तात्कालीन झल्को दिने खालको सरल, सहज र प्रिय उपन्यास हो भन्ने मलाई लाग्छ ।
सुकरातको डायरी
‘सुकरातको डायरी’ डा. गोविन्दराज भट्टराईले लेखेको उपन्यास हो । यसमा साँच्चै नै औपन्यासिकता छ । यो कृतिभित्र करिब सवा २ सय जति पुस्तकको बारेमा र त्यति नै सङ्ख्याका लेखकको विषयमा कथा समेटिएको छ ।
यो उपन्यास पढिसक्दा पाठकले सवा २ सय जति पुस्तकको नाम र त्यति नै सङ्ख्याका लेखकको नाम पनि थाहा पाउन सक्छन् । यो प्राज्ञिक कुरो हो । लेखक उत्तरआधुनिक कुरा पनि गर्नुहुन्छ । लेखकको त्यो सोचको यो पुस्तक प्रयोगात्मक पनि भएकाले यो मेरो मनपर्ने पुस्तक पनि हो ।
आमाको सपना
म मूलतः कवि हुँ । मेरा ७ वटा पुस्तक प्रकाशित छन् । तीमध्ये २ महाकाव्य छन् । मेरा ती सबै कविता र गीत हुन् । यस हिसाबले पनि कविता र गीतका पुस्तक मलाई अलि धेरै मनपर्छ ।
गोपाल प्रसाद रिमालको ‘आमाको सपना’ आधुनिक कविता लेख्न मन पराउने, आधुनिक कवितामा रमाउनेका लागि उपयुक्त पुस्तक हो । कविता के कारणले आधुनिक हुन्छ । कविताको आधुनिक संरचना के हो ? छन्दमा गौण अलङ्कार मिलाएर श्लोक लेखेर कवि बन्नेहरूको भीडमा एउटा आधुनिक गद्य कविताको प्रारम्भ गर्ने महान कवि गोपालप्रसाद रिमाल हुन् । उनको ‘आमाको सपना’ मलाई सुन्दर लाग्छ ।
‘आमाको सपना’ आधुनिक नेपाली कविताको पहिलो मानव ग्रन्थ हो । यो पुस्तकले पाठकलाई निकै लाभ मिल्न सक्छ ।
घुम्ने मेचमाथि अन्धो मान्छे
भूपि शेरचनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कविता धेरै सरल, सम्प्रेस्य हुनु, समयको कुरा हुनु, त्यहाँको जीवन र जगत, सामाजिक जीवन, मानवीय संवेदनालगायत सबैसँग खेल्न सकेको सरलताभित्रको जटिलता र जटिलतालाई पनि सरलतासँग जोड्न सकेको एउटा अद्भूत लेखन, नेपाली कविताको मानव कृति ‘घुम्ने मेचमाथि अन्धो मान्छे हो’ भन्ने मलाई लाग्छ । जो कोहीले पनि यो पुस्तक एक पटक अध्ययन गर्नुपर्छ भन्ने मेरो धारणा हो ।
यो जिन्दगी खै के जिन्दगी
मलाई मनपर्ने कविमध्ये एक हरिभक्त कटुवाल पनि हुन् । उनी गीत र कवितामा पनि अब्बल हुन् । ‘यो जिन्दगी खै के जिन्दगी’ भित्र जुन किसिमको भाषा, विम्ब प्रयोग गरेका छन् ।
उदाहरणका लागि ‘हेर्दा हेर्दै चट्ट चुँडिने चप्पलको फिता जस्तो’ भनेर होस् वा ‘मुटु त फलामको भए जाति हुन्छ’ । उनले जीवन र जगतलाई एउटा आफ्नै ढङ्गले, आफ्नै प्रवाहमा सुन्दर काव्यिक उचाइ दिएका छन् । मेरो विचारमा यो पुस्तक पनि पठनीय छ ।
अन्तर्यात्रा
जीवन, जगत र लेखक हुनुसँग केवल कविताको नाममा कविता, नाटकको नाममा नाटक, उपन्यासको नाममा उपन्यासभन्दा पनि चिन्तन हुनु जरुरी छ । पढ्नै पर्ने महत्वपूर्ण पुस्तक स्वामी आनन्द अरुणको ‘अन्तर्यात्रा’ पनि हो ।
हाम्रो हृदयभित्र एउटा अन्तर चेतना छ । मानिसभित्र सुकिलो, दिव्य उज्यालो छ । बाहिरको यो उज्यालोले भित्रको उज्यालोलाई छुनुपर्छ । आफ्नो मनलाई, जीवनलाई आफैले कसरी सुकिलो बनाउन सकिन्छ ।
कसरी उज्यालो बनाउन सकिन्छ । सहज र सरल बनाउन सकिन्छ । तनाव कसरी मुक्त हुन सकिन्छ । जीवनलाई तनावमुक्त बनाएर कसरी अगाडि हिँडाउन सकिन्छ । यो पुस्तकले सत्प्रेरणा दिन्छ ।
नेपालको ऐतिहासिक रूपरेखा
हामीले हाम्रो इतिहास, सभ्यता, संस्कृति, प्रारम्भका विषय पनि अध्यायन गर्नु जरुरी छ । यसका लागि बालचन्द्र शर्माले लेखेको ‘नेपालको ऐतिहासिक रूपरेखा’ पुस्तक उपयुक्त हो जस्तो मलाई लाग्छ ।
हुन त नेपाली इतिहासको कालखण्डसँग जोडिएका थुप्रै पुस्तकहरू बजारमा छन् । तर बालचन्द्र शर्माको यो पुस्तकभित्र सरल भाषामा नेपालको भूगोल, प्रकृति, बनावट, इतिहास, राज्यसत्ता सञ्चालनको परम्परालगायत सबै छ । आफ्नो देशको इतिहास जान्न चाहने आम नागरिकका निम्ति यो एउटा सरल रूपरेखा भएको उपयुक्त पुस्तक हो ।
सरसर्ती संसार
संस्मरणका धेरै पुस्तक निस्किएका छन् । अहिले नाम लिने हो भने म दर्जनभन्दा बढी पुस्तकको नाम लिन सक्छु । तर पछिल्लो चरणमा निस्किएको जिवा लामिछानेको ‘सरसर्ती’ पुस्तक पढ्न मेरो आग्रह छ ।
यो पुस्तक उनको कलात्मक उचाइका कारणले भन्दा पनि त्यसमा रहेको सूचना सङ्ग्रह र उनको निजी अनुभूतिका लागि हो । पुस्तकमा उनले संसारभरि यात्रा गरेको देशहरूको सुन्दर विवरण पेस गरेका छन् ।
उनको भाषा, लेखनमा इमानदारिता पनि छ । सूचना सङ्कलनमा ‘माथा पश्चिस घन घच्चिस’ गरे जस्तो लाग्दैन । तर उनले सहज रूपमा केही सामग्रीहरू दिन खोजेका छन् । मलाई प्रिय पुस्तकमा ‘सर्सती संसार’ पनि लागेको छ । अध्ययनका लागि उपयुक्त पुस्तक यो पनि हो ।
एब्स्ट्र्याक्ट चिन्तन प्याज
निबन्धका पुस्तक धेरै छन् । देवकोटाका निबन्धका पुस्तकहरू पनि छन् । तर मलाई शङ्कर लामिछानेको निबन्धहरू अब्बल लाग्छ ।
उनको ‘एब्स्ट्र्याक्ट चिन्तन प्याज’ राम्रो लाग्छ । जस्तो प्याज हो, जिन्दगी पनि त्यही भनेर तुलना गरिएको छ । प्याज जसरी छोडाउँदै जाँदा पत्रपत्र गरेर सकिन्छ । जिन्दगी पनि त्यस्तै पत्रापत्रामा छ । जिन्दगीसँग प्याचलाई तुलना गरेको एउटा नेपाली निबन्ध लेखनको सर्वाेच प्रतिभा हुन् शङ्कर लामिछाने ।
आज रमिता छ
इन्द्रबहादुर राइको ‘आज रमिता छ’ एकदमै राम्रो पुस्तक हो । हिजोको सन्दर्भमा उनले हिजो रमिता भनेर चनेका छन् । मलाई हरेक समयको एक एक रमिता भएजस्तो लाग्छ ।
लेखक इन्द्रबहादुर राईको लीला लेखनको तेस्रो आयमको सन्दर्भसँग जोडिएर हेर्दा उनको कथामा पनि उपन्यासमा पनि दोस्रो विश्वयुद्ध, बर्माबाट भागेका नेपालीहरू र नेपाल बाहिर प्रवासमा रहेका नेपालीहरूको कथासँग धेरै जोडिएका छन् । आज रमिता छ । मेरो विचारमा ‘आज रमिता छ’ नेपाली उपन्यासले प्राप्त गरेको एउटा ठूलो उपलब्धि र सशक्त प्राप्ती हो ।
शिरीषको फूल
शिरीषको फूल साहित्यकार पारिजातको महत्वपूर्ण कृति हो । पारिजातका दुईवटा कृतिको नाम म लिन चाहन्छु । ‘अनिदो पहाडसँगै’ र ‘शिरीषको फूल’ । शिरीषको फूलको त धेरै चर्चा छ । यसमा एउटा बेग्लै दर्शन छ ।
सरल कथामा सम्प्रेष्य भएर धेरै कुरा बहेका छन् । पारिजात आफै बहेकी छिन् । समय बहेको छ । त्यो लोकप्रिय छ र धेरैले पढेका पनि होलान् ।
यसको चलचित्र पनि बनेको छ । सँगसँगै उनको अर्काे ‘अनिदो पहाडसँगै’ पनि सुन्दर छ । यो पुस्तक पनि सबैले पढ्नै पढ्ने पुस्तक हो भन्ने मलाई लाग्छ ।
प्रेतकल्प
पछिल्लो चरणमा समय, उपभोक्तावादी नीति र संस्कृतिले, ज्यादा प्रचारमुखी मोहले, ग्रुपिजङ र सिन्डिकेटले नेपाली साहित्यमा केही राम्रा पुस्तक पछाडि परेका छन् । त्यस्तै पुस्तकमध्ये नारायण ढकालको ‘प्रेतकल्प’ पनि एक हो ।
‘प्रेतकल्प’ले राणाकालीन समयको एउटा तस्बिर प्रस्तुत गरेको छ । उनको भाषा सुन्दर छ । उनको अभिव्यक्ति मीठो छ । उनको चिन्तनको आफ्नै किसिमको दृष्टिकोण छ । उनी एउटा सफा चिन्तनमा लेख्छन् । उनका अरू पुस्तक पनि मैले पढेको छु ।
‘प्रेतकल्प’ले जुन उचाइ पाउनुपर्ने हो त्यो पाएन होला । तर यो नेपाली साहित्यमा आएको यो एउटा अब्बल पुस्तक भन्न रुचाउँछु ।
श्वेत भैरवी
बीपी कोइरालाका कथा सङ्ग्रहमध्ये मानिसले केहीको मात्र कुरा गर्छन् । दोषीको चस्मा पनि कुरा गर्छन् । उनका सबै कथा राम्रा छन् । तर मलाई उनको ‘श्वेत भैरवी’ पनि राम्रो लाग्छ ।
यसमा जागरणको, मानिसभित्र जागेर आउने मनोदशाको बेजोड प्रस्तुतिमा छ ।
मनोविश्लेषणात्कम कथामा र यौन मनोविश्लेषणात्क कथामा बीपी कोइरालको ‘श्वेत भैरवी’ अब्बल छ । मैले पुस्तक अध्ययनका लागि सुझाउँदना बीपी कोइरालको ‘श्वेत भैरवी’ पनि पढ्नुपर्छ भन्छु ।