मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

मुस्लिम सांसद अतहर कमाललाई दशैँ चटारो : दुई हिन्दु मन्दिर उद्घाटन गर्दै

मङ्गलबार, ३० असोज २०७५, १३ : ०९
मङ्गलबार, ३० असोज २०७५

काठमाडौँ । कपिलबस्तु क्षेत्र नंंबर २ का सांसद अतहर कमाल मुसलमान मुस्लिम धर्मावलम्बी हुन् । 

तैपनि शनिबार उनलाई आफ्नो निर्वाचन क्षेत्रमा आयोजना गरिएको दशैँको शुभकामना कार्यक्रममा सहभागी हुन भ्याई नभ्याई थियो । 

उनले एकै दिन ५ कार्यक्रममा सहभगिता जनाएर दशैँको शुभकामना आदान प्रदान गरे । यो शिलसिला अझै जारी छ । थप दशैँको शुभकामना आदान प्रदान, चियापान तथा भेटघाट कार्यक्रममा सहभागी हुन जानुछ । 

अघिल्लो पटक सांसद विकास कोषमा आउने ५० लाख रकममध्ये केही रकम उनले मन्दिर निर्माणका लागि दिएका थिए । 

यस वर्ष मन्दिर बनिसकेपछि उनलाई र उनकी श्रमतीलाई संयुक्त रुपमा मन्दिर उद्घाटनका लागि निम्तासमेत आएको छ । 

दशैँको अवसरमा उनले कपिलबस्तुको फुलिकास्थित दुर्गा मन्दिरको उद्घाटन गर्दैछन् । यस्तै लवनी भन्ने ठाउँमा रहेको मन्दिर उद्घाटन गर्ने कार्यक्रम पनि रहेको छ । 

उनले भने–‘दुर्गा पूजाको बेला आँखामा पट्टी बाँधेको हुन्छ, सोही पट्टी खोलेर उद्घाटन गरिदिनुप¥यो भनेर हामी श्रीमान्–श्रीमती दुबै जनालाई निम्ता गरेका छन् ।’

फुलिकामा निर्माण भएको दुर्गा मन्दिरका लागि उनले अघिल्लो वर्ष सांसद विकास कोषबाट डेढ लाख दिएका थिए । पर्यटन मन्त्रालय, स्थानीय संघ संस्थाको आर्थिक सहयोगमा सो मन्दिर स्थापना भएको उनले बताए । दुर्गा मन्दिरसँगै धर्मशाला पनि स्थापना भएको छ । दुर्गा झाँकीसहितको कार्यक्रममा उनले सो मन्दिरको उद्घाटन गर्न लागेका हुन् ।  

उनी भन्छन् – देशमा आर्थिक समृद्धी ल्याउने हो भने पहिला सामाजिक भावना र सांस्कृतिक पक्षमा समृद्धी ल्याउनुपर्छ । त्यसैलाई टेकेर मात्र आर्थिक समृद्धी हासिल हुन सक्छ । हामी जुन समाजभित्र बसेका छौँ, पहिला त्यो समाजलाई नै सम्पन्न बनाउनुपर्छ । हाम्रा संस्कृतिलाई जीवन्त राख्न सबै मिलेर अघि बढ्नुपर्छ’ । 

एक साताअघि काठमाडौंबाट कपिलवस्तु गएका सांसद अतहर कमाल मुसलमानले दशैँ अवधिभर आफू सामाजिक कामका साथै शुभकामना आदान प्रदान कार्यक्रममा व्यस्त हुने बताए । 

उनको निर्वाचन क्षेत्रमा झन्डै ७० प्रतिशत हाराहारी मतदाता हिन्दु धर्मावलम्बी छन् । उनी आफ्ना मतदाताले गरेका अधिकांश कार्यक्रममा सहभागी हुन्छन् । 

इद बकरिद पनि उनले हिन्दु समुदायसँग मिलेर मनाउने गरेका छन् । उनले भने–‘इद, बकर इदका बेला पनि आर्थिक रुपमा कमजोर रहेका हिन्दूहरुलाई खाद्यान्न दिन्छु, खसी राँगाहरु वितरण गर्छु । दशैँमा दुर्गा मुर्तिहरु राखेको ठाँउमा गएर पनि आर्थिक सहयोग गर्ने गरेको छु । सम्भव भएसम्म भेटघाट गर्छु, यसले हाम्रो धार्मिक सदभावलाई पनि बृद्धी गरेको छ । ७० प्रतिशत मेरा मतदाता हिन्दू छन्, उनीहरुको अभिभावक जस्तो भएको नाताले पनि म उनीहरुसँगै हुन्छु । पहिला आर्थिक रुपमा कमजोर हुँदा खानाको समस्या थियो, सबै भेला भएर खानपान गर्ने चलन थियो । अहिले आर्थिक रुपमा केही सुधार भएपनि एक आपसमा भेट्ने खानपान गर्ने संस्कृतिलाई छोड्नुहुँदैन । हाम्रो संस्कृतिलाई जीवन्त राख्न सबै मिलेर अघि बढ्नुपर्छ ।’

माओवादी द्वन्द्वको समय कपिलबस्तुमा हिन्दू र मुस्लिमको बीचमा केही चिसोपना थियो । तर शान्तिप्रक्रिया स्थापना भएपछि फेरी सुमधुर सम्बन्ध भएको उनले बताए । दुबैको धर्मका ठूला चाडपर्वमा एक अर्कालाई सहयोग गर्ने परम्परामा अझ बलियो भएर आएको छ । 

उनी भन्छन्–‘सांस्कृतिक समाजिक विकासका लागि सबै समुदाय एक ठाँउमा हुनपर्छ । एक अर्काका धार्मिक गूरुहरुले आफ्नो धर्म ठूलो भनेर प्रचार गरेपनि हरेक धर्मले भन्ने कुरा एउटै हो, सत्य बोल, हत्या नगर, दुःखी गरिबको सेवा गर । मान्छेलाई अनुशासनमा राख्न धर्मसंस्कृतिले जति ठूलो भूमिका खेल्छ, राजनीतिले सक्दैन ।’ 

गरिबलाई सहयोग गर्ने, सामाजिक एकताको आधारबाट नै मुलुकमा आर्थिक समृद्धी आउने उनी बताँउछन् । सांसद मुसलमानले दशैँ सकेर मात्र काठमाडौं आउने योजना बनाएका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप