शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

किन संघर्षरत छन् युरोपियन पावरहाउस रियल र बायर्न ?

मङ्गलबार, ३० असोज २०७५, ११ : १०
मङ्गलबार, ३० असोज २०७५

एजेन्सी । दुई युरोपियन सुपरपावर, दुई नयाँ प्रशिक्षक, दुवैको सिजनमा चिन्ताजनक शुरुवात ।

रियल म्याड्रिडले गत मेमा लगातार तेस्रो च्याम्पियन्स लिगको उपाधि जितेको थियो भने बायर्न म्युनिखले लगातार छैटौँ पटक बुन्डेसलिगामा कब्जा गरेको थियो । तर, यो सिजन दुवै क्लबको कथा फरक छ ।

बायर्नका प्रशिक्षकको तरिकाबारे मिश्रित प्रतिक्रियाहरु आइरहेका छन् भने रियलका प्रशिक्षकको भविष्यमा नै प्रश्न उठ्न थालेको छ ।

लोपेटेगुईसँग सिमित समय

मात्र ११ खेलपछि रियल म्याड्रिडको प्रशिक्षकको रुपमा जुलेन लोपेटेगुईको पद धरापमा परेको बताउँछन् स्पेनिस फुटबल विज्ञ गुलियम बालागुई ।

रियल पछिल्लो चार खेलमा जीतविहीन रहेको जसमध्ये तीनमा हार बेहोरेको छ भने कुनै खेलमा गोल गर्न सकेको छैन ।

रियल लिगमा चौँथो स्थानमा रहेको लिगको शीर्ष स्थानमा रहेको सेभियाभन्दा २ अंकले पछि परेको छ । च्याम्पियन्स लिगमा सिएसकेए मस्कोसँग अप्रत्यासित हार बेहोरेको थियो ।

‘आफू रियलका लागि सही व्यक्ति भएको प्रमाणित गर्न लोपेटेगुईसँग बार्सिलोनासँग क्लासिकोसम्मको समय बाँकी छ । जुन भनेको मात्र तीन खेल हो,’ बालागुई भन्छन् ।

‘यता, रियलले एन्टोनियो कोन्टे जस्ता प्रशिक्षकहरुलाई हेरिरहेको छ । यदी तपाईंलाई अहिलेको प्रशिक्षकमा शंका छ भने ठीक त्यही रियलले गरिरहेको छ,’ उनले भने, ‘लोपेटेगुई र केही खेलाडी यसलाई अल्पकालिन समस्या मानिरहेका छन् र यसबाट चाँडै पार पाउनेमा आशावादी छन् । तर, रियलको बोर्ड यसमा पूर्णरुपमा सन्तुष्ट छैनन् ।’

लोपेटेगुईको नियुक्ति नै विवादास्पद थियो । स्पेनको प्रशिक्षक रहेकै बेला रियल र लोपेटेगुईबीच जिनेदिन जिदानको स्थानमा आउने सहमति भएको थियो ।

फलस्वरुप स्पेन फुटबल फेडरेसनले विश्वकपमा पहिलो खेल शुरु हुनभन्दा ठीक दुई दिनअघि गत जुनमा लोपेटेगुईलाई वर्खास्त गरेको थियो ।

यता, स्पेनिस प्रशिक्षकको क्लब फुटबलको बायोडाटा पनि त्यति उत्कृष्ट छैन । सन् २००३ मा उनी ११ महिना रायोभायोकानोको नेतृत्वमा थिए भने उनले सन् २०१४ को जुलाई र २०१६ को जनवरीको बीचमा पोर्टोको नेतृत्व सम्हालेका थिए ।

यो सिजन उनले क्रिस्टियानो रोनाल्डोको अनुपस्थितिसँग जुझ्नु पनि परिरहेको छ ।

बालागुई भन्छन्, ‘रियल म्याड्रिडले पछिल्लो सात घण्टामा गोल गर्न सकेको छैन । उनीहरुले रोनाल्डोलाई मिस गरिरहेका छन् भने इस्को घाइते छन् । त्यस्तै, टोलीको महत्वपूर्ण हिस्सा रहेका दुई फुलब्याक ड्यानी कार्भाहाल र मार्सेलो पनि टोलीमा छैनन् ।’

कोभाचका लागि केही राहत, तर अहिलेको लागि मात्र

रियलजस्तै जर्मन हेभीवेट बायर्न म्युनिख पनि संघर्षरत छ । लिगमा छैटौँ स्थानमा छ, शीर्ष स्थानमा रहेको बोरुसिया डर्टमण्डभन्दा चार अंकले पछि रहेको छ ।

गत सिजन २१ अंकको अन्तर लिग जितेको बायर्नले यो सिजन नयाँ प्रशिक्षक निको कोभाचको नेतृत्वमा लिगको शुरुवाती चार खेल जितेको थियो ।

तर, बाभारियन्स पछिल्लो चार खेलमा जीतविहीन रहेको छ । यसबीच आफ्नै घरेलु मैदानमा बोरुसिया मोचेनग्लाडब्याचसँग ३–० गोलअन्तरले पराजित भयो ।

तर, कोभाचलाई भने स्थिति सुधार्न केही समय दिइनेछ ।

‘अहिले नै एक दुई खेलको नतिजाले केही पार्छ जस्तो लाग्दैन,’ जर्मन फुटबलका विशेषत्र राफायल होनिङस्टेन भन्छन्, ‘वुल्फबर्गबिरुद्धको खेल सहज हुने छैन । तर, सबैभन्दा महत्वपूर्ण खेल भनेको एइके एथेन्सबिरुद्धको च्याम्पियन्स लिगका दुई खेल हुनेछन् । यो दुई खेल बायर्नले जित्नै पर्ने हुन्छ ।’

बायर्न हाल लिगको छैटौँ स्थानमा रहेको छ । बायर्न यो अवस्थामा कसरी पुग्यो भन्ने कुरा कसैले ठम्याउन सकेका छैनन् ।

‘यदी यो स्थिति सिजनको शुरुवातदेखि नै भएको भए सहज हुन्थ्यो किनभने कोभाचलाई प्रशिक्षकको रुपमा नियुक्त गर्दा समस्याहरु थिए,’ उनी भन्छन्, ‘उनी ड्रेसिङ रम, फ्यान र क्लबलाई उत्साहित पार्ने प्रशिक्षकभन्दा पनि उपलब्ध प्रशिक्षक थिए ।’

यसको साथै बायर्नले नयाँ खेलाडीमा त्यति धेरै लगानी गरेन । र, ट्रान्सफर विन्डोमा ८ करोड पाउण्ड मुनाफा गरेको थियो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप