शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लागुऔषधसहित तीन युवा पक्राउ

सोमबार, २९ असोज २०७५, १८ : ०७
सोमबार, २९ असोज २०७५

दमौली । प्रहरीले अवैध लागुऔषधसहित तीन युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङको मस्र्याङ्दी गाउँपालिका–९ बस्ने २५ वर्षीय दीपेन्द्र भण्डारी र बेशीशहर नगरपालिका–३ बस्ने १९ वर्षीय सन्दीप परियार तथा कास्कीको पोखरा महानगरपालिका–२ बस्ने २३ वर्षीय राहुल श्रेष्ठ रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको टोलीले आँबुखैरेनी गाउँपालिका–२ चेक पोष्टस्थित पृथ्वी राजमार्गमा वीरगञ्जबाट बेशीशहरतर्फ आउँदै गरेको ना५ख ३०९५ नंको बसबाट भण्डारीलाई पक्राउ गरेको थियो । 

प्रहरीले भण्डारीको साथबाट डाइजोपाम ४३ एम्पुल, नुफिन ४३ एम्पुल, फेनेरागान ४३ एम्पुल गरी जम्मा १२९ एम्पुल बरामद गरेको छ । निजलाई जिल्ला अदालतबाट जरुरी पक्राउ पुर्जी स्वीकृत गराई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय आँबुखैरेनीमा राखिएको छ । 

त्यस्तै सोही ठाउँमा नै चेकजाँचका क्रममा भैरहवाबाट पोखरा आउँदै गरेको ग१ख ८१४० नंको बसबाट परियार र श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । 

प्रहरीले निजहरुका साथबाट डाइजोपाम ४५ सिसी, नुफिन ४५ सिसी, फेनेरागान ४५ सिसी गरी १३५ थान लागुऔषध बरामद गरेको छ । निजलाई पनि इलाका प्रहरी कार्यालय आँबुखैरेनीमा राखिएको प्रहरीले जनाएको छ । 

प्रहरीलाई मोटरसाइकल 

आँबुखैरेनी गाउँपालिकाले इलाका प्रहरी कार्यालय आँबुखैरेनीलाई एक थान मोटरसाइकल उपलब्ध गराएको छ । नजिकिँदै गरेको चाडपर्व सुरक्षालाई समेत दृष्टिगत गर्दै समाजमा शान्तिसुरक्षा चुस्त राख्न र प्रभावकारी अनुगमनका लागि गाउँपालिकाले मोटरसाइकल उपलब्ध गराएको हो । 

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले शान्ति सुरक्षा, अपराध नियन्त्रण र सवारी दुर्घटना न्यूनीकरण गर्न प्रहरीले प्रभावकारी भूमिका खेल्दै आएको हुँदा यसलाई थप सशक्त बनाउनका लागि प्रहरीलाई साधन स्रोत उपलब्ध गराइएको बताए । 

पटाकासहित पक्राउ 

प्रहरीले ठूलो परिमाणमा पटाकासहित एक जनालाई आज तनहुँको आँबुखैरेनीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१३ बस्ने २२ वर्षीय सुमितकुमार सिंह रहेको प्रहरीले जनाएको छ । 

नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी बनाइएको विशेष सुरक्षा योजनाबमोजिम आँबुखैरेनीमा गरिएको आकस्मिक चेकजाँचका क्रममा सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । 

मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको डिएल ४ सिएस ३२२५ नंको भारतीय गाडीको डिकी तथा सिटमुनि लुकाई छिपाई राखेको अवस्थामा पटाकासहित सिंहलाई पक्राउ गरिएको उनले बताए । 

प्रहरीले निजका साथबाट मोरी कलरकोटी लेखिएको पटाका १० प्याकेट, ग्रिन कास्को लेखिएको पटाका एक, गोल्डन क्लासिक पटाका एक, ओपी १० पटाका पाँच, २४० मल्टिकलर बल्स पटाका दुई, रङ्गबार एसएटी फाउण्टेन पटाका दुई, साइन पटाका १०, रिङ क्याप्स पटाका १०, रोल क्याप्स पटाका १०, रङ्गिला ग्रिन पटाका १० र मोरी कलर कोटी डिलक्स पटाका पाँच प्याकेट बरामद गरेको जनाएको छ । 

निजलाई प्रारम्भिक अनुसन्धान प्रक्रिया पूरा गरी जिल्ला अदालत तनहुँबाट समेत जरुरी पक्राउ पुर्जी स्वीकृत गराई हिरासतमा राखिएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप