बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दशैंमा पेट्रोलियम पदार्थ अभाव हुन नदिन निगमले खटायो १० कर्मचारी

सोमबार, २९ असोज २०७५, १५ : ४१
सोमबार, २९ असोज २०७५

काठमाडौँ– नेपाल आयल निगमले चाडपर्वको समयमा बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन पर्याप्तमात्रामा इन्धन वितरण गरिएको जनाएको छ । 

निगमको थानकोट डिपोले उपत्यकाका पेट्रोलपम्पले माग गरेबमोजिमको इन्धन उपलब्ध गराइएको जनाएको छ । डिपो प्रमुख इञ्जीनीयर भरत रेग्मीले आज उपत्यकाका विभिन्न पम्पलाई ११ लाख ५० हजार लिटर पेट्रोल र सात लाख ५० हजार लिटर डिजेल उपलब्ध गराइएको जानकारी दिए । 

डिपोले आइतबार पनि पर्याप्तमात्रामा बजारमा इन्धन पठाएको थियो । आइतबार १० लाख ३८ हजार लिटर पेट्रोल र १० लाख २९ हजार लिटर डिजेल उपत्यकाका विभिन्न पम्पमा पठाइएको उनले बताए ।

पम्पले माग गरेबमोजिमको इन्धन उपलब्ध गराइएकाले कुनै अवस्थामा इन्धन अभाव नहुने जानकारी दिँदै उनले उपत्यकाबाट बाहिरिने सवारी साधनले पूर्ण क्षमतामा इन्धन भर्न खोज्दा पम्पमा केही लाइन देखिएको हुनसक्ने बताए । 
उनले भने, ‘निगमले पर्याप्तमात्रामा बजारमा इन्धन पठाएको छ । उपत्यकाबाट बाहिरिने सबै सवारी साधन एकैपटक पम्पमा जाँदा केही लाइन देखिएको हुनसक्छ । तर इन्धनको अभाव हुँदैन ।’ 

निगमको थानकोट डिपोले आपत्कालीन अवस्थाका लागि भन्दै १० कर्मचारीलाई तयारी अवस्थामा राखेको छ । पम्पले जनुसुकै बेला इन्धन माग गरे सार्वजनिक बिदा नभनी उपलब्ध गराइने डिपो प्रमुख रेग्मीले बताए । 
उनले भने ‘हामीले डिपोका तीन जना शाखा अधिकृत र केही प्राविधिकसहित १० कर्मचारीलाई तयारी अवस्थामा राखेका छौँ । इन्धनको अभाव हुन नदिन पम्पले माग गर्नेबित्तिकै ट्याङ्करमा लोड गरेर पठाउँछौं ।’
 मङ्गलबारसम्म थानकोटस्थित डिपो नियमितरुपमा खुल्ने बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप