शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एमालेमाथि प्रचण्डको हमला: एमाले झन् ‘कन्जरभेटिभ’ पार्टी भयो

शनिबार, ०७ साउन २०७४, १५ : ३७
शनिबार, ०७ साउन २०७४

काठमाडौं–माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले थप रुढीवादी पार्टी हुँदै गएको आरोप लगाएका छन् । साउन २ गतेदेखि जारी पार्टी केन्द्रीय सचिवालयको विस्तारित वैठकको समापनमा बोल्दै प्रचण्डले एमालेमा यस्तो सोँच हावी हुँदै जानु देशका लागि राम्रो नभएको पनि बताए ।

‘एमाले झन्–झन् कन्जरभेटिभ पार्टी भएको छ । परिवर्तनका एजेन्डा संस्थागत गर्ने कुरामा कम  ध्यान दिन थालेको छ । पूर्वराजाले भोजमा बोलाउदा खुसी भएर दौडिरहेका छन् । यो राम्रो संकेत छैन ।’ प्रचण्डको भनाई उद्धृत गर्दै वैठकमा सहभागी एक नेताले भने, ‘हामीले एमालेभित्रका परिवर्तनकारी पक्षपातीसँग राम्रो सम्बन्ध बनाएर एमालेलाई रुपान्तरण गर्न पहल गर्नुपर्छ ।’

एमाले र माअ‍ोवादीवीच सम्बन्ध विग्रिरहेकाबेला प्रचण्डको यस्तो अभिव्यक्ति आएको हो । यद्यपी केही दिन अगाडि मात्र ओलीले एमाले–माअ‍ोवादी गठबन्धनमाथि सोच्नुपर्ने बताएका थिए ।

वैठकमा प्रचण्डले देश–विदेशका सवै प्रतिक्रियावादी शक्तिहरु नेपालको परिवर्तन भत्काउन घुडा टेकेर लागेको भन्दै परिवर्तन संस्थागतका लागि अझै पनि विवेकपूर्ण निर्णय गर्नुपर्ने बताए । ‘नेपाल र विदेशका प्रतिक्रियवादी शक्तिहरु परिवर्तन भत्काउन घुडा घसेर लागेका छन् । उनीहरुलाई धर्मनिरपेक्षता, संघीयता, गणतन्त्र र स्थानीय तहजस्ता परिवर्तन मन परेको छैन ।’ – प्रचण्डको भनाई थियो ।

प्रचण्डले आफुलाई विगतमा लम्पसारवादी भन्नेहरु सवै भन्दा बढी लम्पसारवादी भएको टिप्पणी गरे । ‘म कसरी लम्पसरावादी भएँ ? मैले के गरेँ, जो देशको विरुद्ध होस् । हाम्रो पार्टी सवैभन्दा देशभक्त पार्टी हो । बरु हामीलाई लम्पसारवादी भन्नेहरु सवैभन्दा लम्पसरवादी हुन् । हामी जे छ, त्यहीँ भन्छौँ, जे भन्छौँ, त्यहीँ गर्छौँ, अरु त्यस्ता नहुँदा रहेछन् । भित्र भित्र एक गर्ने र बाहिर अर्को गर्नेले हामीलाई लम्पसवादी भनेका हुन् ।’ वैठकमा प्रचण्डले राखेको एक नेताले बताए ।

प्रचण्डले पार्टीै संगठन निर्माणको विषयमा बोल्दै बलिदानको औचित्य पुरा गर्न सक्ने पार्टी बनाउनुपर्ने बताए । सर्वहार बर्गीय पहिचान बचाएर संगठन चुस्त पार्नुपर्ने उनको भनाई थियो । यसका लागि प्रचार र पार्टी स्कूलिङलाई व्यापक बनाउनुपर्ने उनको भनाई छ । प्रचण्डले अस्तव्यस्त संगठन भएको पाटीले केही गर्न नसक्ने भन्दै सुदृढ संगठन निर्माणमा लाग्न नेताहरुलाई निर्देशन दिए ।

वैठकमा प्रचण्डले अव दुई अंकको केन्द्रीयसमिति बनाउने पनि बताए । सवै प्रदेशबाट यस विषयमा निर्णय गराएर केन्द्रीय कार्यलयले दुई अंकको केन्द्रीय समिति बनाउने प्रचण्डको भनाई थियो ।प्रचण्डले विगतमा आफुहरुको एजेन्डा काँग्रेस–एमालले बेचेको भन्दै अव यस्तो हुन नदिइने बताए । उनले यसका लागि नयाँ रणकौशल बनाउने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप