बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दशैँ–दृष्टिकोण/दशैँ–दुःख

सोमबार, २९ असोज २०७५, १० : ५९
सोमबार, २९ असोज २०७५

हिन्दु धर्मावलम्बीले सालिन्दा आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दशैँ मनाउँछन् । आज दशैँको छैटौं दिन । मनाउनेले तीनथरी दशैँ मनाइरहेका हुन्छन् । पहिलो गाउँको दशैँ । दोस्रो बजारको दशैँ । र, तेस्रो सहरको दशैँ । 

‘बजारको दशैँ सुनसान हुन्छ । किनभने यतिबेला खासै व्यापार–व्यवसाय चल्दैन । बरु सबैभन्दा पहिले बजारमा दशैँ आइपुग्छ । हामी दशैँका लागि किनमेल गरेर गाउँसम्म दशैँ पु¥याउँछौं । गाउँमा दशैँ आइपुग्दा बजारबाट बिदा भइसकेको हुन्छ,’ मुन्धुम अध्येता भोगीराज चाम्लिङ भन्छन्, ‘सहरको दशैँ भने बडो अचम्मको हुन्छ । लामो बिदा दिइने भएकाले सहरमा बसेका मान्छेलाई दशैँ गाउँ फर्काउने अवसर बन्छ । अनि अर्को कुराचाहिँ सहरमा बाह्रै महिना ‘खाने, पिउने, लगाउने’ काम हुने भएकाले दशैँ खास नयाँ लाग्दैन । त्यसैले दशैँमा सहरका मान्छे घुम्न जान्छन्, जुवाका अखडा खडा गर्छन् । सहरमा दशैँलाई पूरै नशा लागेको हुन्छ । त्यो नशाबारे भनिरहनुपर्दैन ।’

गाउँ, बजार र सहरको दशैँको विशेषता प्रस्टै छ । दशैँबारे धेरैले धेरै तरिकाले अथ्र्याएका छन् । ‘दशैँ हत्या, हिंसाको चाड हो,’ डा. ओम गुरुङको बुझाइ छ, ‘दशैँलाई मिहिन ढंगले नियाल्ने हो भने हिंस्रक चाडलाई माध्यम बनाएर हत्या हिंसाको प्रचार गरिन्छ । दशैँले त्यस कार्यलाई वैधता दिएको छ ।’ देवीदेवताका नाममा दशैँमा पशुबलि दिइनुले डा. गुरुङको भनाइ पुष्टि गर्छ । 

मुलुक धर्मनिरपेक्ष भए पनि दशैँलाई राष्ट्रिय चाडका रूपमा मान्यता दिइएको छ । दशैँ बिदा र सुविधाले त्यसको पक्षपोषण गरेकै छ । धर्मनिरपेक्ष मुलुकका सबै धर्मावलम्बीले दशैँ मनाउँदैनन् । सबैले नमनाउने भएकाले दशैँ राष्ट्रिय चाड होइन भन्नेको आवाज नसुनिएको होइन । ‘दशैँ असमानताको चाड हो,’ डा. गुरुङले थपे, ‘दशैँमा ठूलाबाट सानाले टीका, जमरा लगाउने, आशिष थाप्ने गरिन्छ । यसले ठूला र सानाबीच विभेद गरेकै छ ।’

राष्ट्रिय चाड भन्दैमा १५ दिनसम्म दशैँ मनाउँदा आर्थिक भार पर्ने नै भयो । आर्थिक भार बेहोर्दै दशैँ मनाउँदाको पीडा खनिखोस्री साध्य छैन । तसर्थ, दशैँ पनि एक दिनमात्रै मनाउने गर्नुपर्छ भन्ने आवाज सुनिन थालिएको छ । ‘दशैँले दलितलाई भलो होइन, कुभलो गरेको छ,’ साहित्यकार आहुतिको भनाइ छ, ‘त्यतिमात्रै होइन, दशैँ हिन्दु धर्म, दैवीशक्ति र अन्धता जागृत गर्ने चाड हो ।’

साहित्यकार आहुति पनि डा. ओम गुरुङसँग सहमत छन् । उनको बुझाइ छ, ‘दशैँले हिंसात्मक मनोविज्ञानलाई बढवा दिएको छ । दशैँ गैरहिन्दुलाई हिन्दुकरण गर्ने र जनजातिको मौलिकतालाई हस्तक्षेप गर्ने हतियार हो ।’ 

‘दशैँ क्षेत्रीयको ठूलो चाड हो । शासक वर्गलाई क्षेत्रीय भनिन्छ,’ राजनीतिक विश्लेषक सीके लालको ठम्याइ छ, ‘मधेसतिर पनि देखासिकीको दशैँ व्याप्त हुँदै गएमा बलिप्रथा जन्माउने जंगी मनोवृत्ति फैलँदै जानेछ ।’ राजनीतिक विश्लेषक सीके लालका अनुसार, असोज–कात्तिकतिर बाली भित्र्याउन जुट्नुपर्ने भएकाले मधेसमा दशैँको रौनक त्यति देखिँदैन । 

महिलाका दशैँ त्यत्तिकै चर्को छ । ‘महिलाको व्यक्तित्वको विकासका लागि दशैँ साधक होइन, बाधक हो,’ त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्ष सुधा त्रिपाठी भन्छिन्, ‘एकातिर नवदुर्गाका रूपमा कन्याको पूजा गरेर महिलाको सम्मान गरिन्छ, अर्कोतिर दशैँमा घरायसी जिम्मेवारीमा थिचिएर महिला थिल्थिलो हुन्छन् । दशैँ भन्नासाथ खानपानसँग जोडिन्छ । खानपानको सम्बन्ध महिलासँग जोडिने भएकाले महिलाको दशैँ सुखद मानिँदैन ।’ 

डा. कृष्ण भट्टचनका अनुसार, धनी हिन्दु धर्मावलम्बीलाई दशैँ खासा, गरिब धर्मावलम्बीलाई दशा र जनजातिलाई दुर्दशाको चाड हो । डा. भट्टचन दुःखेसो पोख्छन्, ‘हिन्दु धर्मावलम्बीको चाड दशैँ अन्य धर्मावलम्बली पनि जबरजस्ती मानिदिनुपर्ने तर हिन्दु धर्मावलम्बीले अन्य धर्मावलम्बीको चाड मान्नु नपर्ने ? यो त अन्याय होइन र ?’ 

त्यसैले होला नेता सुरेश आलेमगरले दशैँलाई ‘राजनीतिक चाड’ भनेर अथ्र्याएका छन् ।  

दशैँको संरक्षण र सम्बद्र्धन हिन्दु दर्शनबाट भएको छ । नेता हीरामणि दुःखीको दाबी छ, ‘दशैँले वैज्ञानिक चेतना दिनुको साटो आध्यात्मिक रूढी थोपर्दै सामन्तवाद मौलाउँछ ।’ दशैँसम्बन्धी पौराणिक किंवदन्तीले वैज्ञानिकता र सत्यता पुष्टि गर्ने आधार नभएको उनले औंल्याए ।  

धार्मिक कारणले भारत विभाजित भई बंगलादेश, पाकिस्तान र श्रीलंका भएको हो भनेर टिप्पणी गर्ने गरिन्छ । तर, नेपालमा भने एकले अर्को धर्मावलम्बी सम्मान गरेकै छन् । गरिरहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप