शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सगरमाथा चढ्न चाहने डक्टर

शनिबार, ०७ साउन २०७४, १४ : ५९
शनिबार, ०७ साउन २०७४

डक्टर । डक्टर भनेपछि मेडिकल वा पीचएडी डक्टर भनेर सोच्न बाध्य बनाउँछ । तर, उनी  दुवै होइनन् । उनको नाम डक्टर । धेरैले उनको नाम शुद्ध लेख्न जान्दैनन् । नाम डक्टर किरात भए पनि लेख्नेले डाक्टर किरात लेखिदिन्छन् । 


‘मावली जाँदा हजुरबुवाले कसेरीको डाक्ढर आयो है भनेर ठूलो आवाजमा अरूलाई सुनाउँथे,’ उनले अतीत सम्झे, ‘त्यतिबेला लाजले भुतुक्कै हुन्थें ।’ एकताका साथीभाइसँग परिचय गर्दा म डक्टर राई भन्दा उनलाई हीनताबोध हुन्थ्यो । सुन्नेले हँसिमजाक गर्थे । अन्ततः त्यही नाम स्थापित भयो । नौ कक्षा पढ्दा प्रधानाध्यापकले नाम फेर्ने भए फेर भन्दा पनि उनले फेरेनन् । 


सानैदेखि गीत, कविता लेख्ने उनले कहिले डक्टर बाबु लेख्थे । कहिले डक्टरबाबु किरात त कतै डक्टर किरातमात्रै लेखे । हजुरबुवा लाहुरे भएकाले नातिलाई चिकित्सक बनाउन चाहन्थे । हजुरबुवाले नाम डक्टर राखिदिए पनि उनले नामअनुसारको काम गर्ने रहर कहिल्यै गरेनन् ।


बुवा आर्मी । बुवाले छोरालाई आफूजस्तै लाहुरे बनाउने चाहन्थे । बुवाको इच्छा पूरा गर्न उनी लाहुरे बन्ने भीडमा जबरजस्ती उभिए । उनले सुनाए, ‘उचाइमा पास भए पनि तौलमा फेल भएँ । यो २०४८÷०४९ सालको कुरा हो । आमाले समेत बाजेलाई लाहुरे बनाइदिनुपर्यो भन्नुहुँदोरहेछ । तर, मलाई अभिरुचि भए पो ।’


संगीतकार डक्टर किरातले जीवनमा तीन सपना देखेका थिए । पहिलो, सगरमाथा आरोहण गर्ने, दोस्रो नायक बन्ने र अन्तिम सपना थियो– केही गर्न नसके वैदेशिक रोजगारीमा गएर आर्थिक रूपमा मजबुत बन्ने । ‘एकपटक सगरमाथा चढ्ने भूत सवार भएको थियो । अलि फरकखालको मानिस बन्ने रहर थियो,’ उनले इमानदारपूर्वक सुनाए, ‘त्यही भएर सगरमाथा चढ्छु भनेको हुँला । सगरमाथाबारे केही थाहा थिएन । सात÷आठ कक्षामा पढ्दा सगरमाथा चढ्छु भनेको थिएँ । संसारको सबैभन्दा अग्लो शिखर चढ्दा प्रसिद्ध हुन्छु भन्ने लागेर त्यसो भनेको हुँला ।’ 


खोटाङबाट बुवाको पछि लागेर धरान झर्दा संगीतकार किरातले फिल्म हेर्ने अवसर पाए । फिल्म हेरेपछि उनले हिरो बन्ने सपना देख्न थाले । एसएलसी पार लगाएपछि घरपरिवारले धरान पढ्न सुझाए । तर, उनले मानेनन् । उनको बुझाइ थियो, ‘धरान बसे हिरो बन्ने सपना पूरा हुँदैन । घरमा हिरो बन्छु भन्न भएन । हिरो बन्ने सुनौलो सपनासहित काठमाडौं पसें ।’ 


आठ हजार बोकेर काठमाडौं पसेका उनको तीन महिनामै खर्च सकियो । उनले काठमाडौंमा संघर्षका पापड बेल्नसम्म बेले । हिरो बन्ने ध्याउन्नमा फिल्म हेर्नसम्म हेरे । हेरेका फिल्मका नायकको अभिनय ख्याल गर्थे । हिरो कसरी बन्न सकिन्छ भन्ने थाहा थिएन । 


काठमाडौं रहँदा बस्दा उनको मेघजित राईसँग भेट भयो । राई गितार बजाउँदै गीत गाउँथे । डक्टर किरात राईको पछि लागेर शम्भु राईको रेकर्डिङ स्टुडियो पुगे । गगन विरही त्यहीं भेटिए । डक्टर एकाएक खुसी देखिए, ‘विरहीसँग चिनजान हुँदा सपना पूरा हुन्छ कि के हो भनेर खुट्टा भुइँमा थिएन ।’


‘फिल्ममा काम गर्न के गर्नुपर्छ दाइ ? मजस्ताले खेल्न सक्छु कि सक्दिनँ,’ उनले गगनलाई सोधेको प्रश्न सम्झँदै भने, ‘गगन विरहीले आफूअनुसारको रोल पाइन्छ भनिदिए ।’ राईको रेकर्डिङ स्टुडियोमै पवित्र सुब्बा भेटिइन् । गायिका तथा नायिका सुब्बा देखेर डक्टर तीनछक परे । त्यतिबेला उनलाई हिरो भइन्न लागिसकेको थियो । नभन्दै नायक नवल खड्कासँग उनको भेट भयो । भेटमा उनले खड्कालाई आफूलाई फिल्ममा अभिनयका लागि अवसर दिन अनुरोध गरे । नायक खड्काले इच्छा छ भने आफूअनुसारको भूमिका पाइन्छ भने । प्रताप सुब्बाकहाँ अभिनय सिकेका उनी खड्काको उत्तर सुनेर झसंग भए । उनलाई हिरो भइन्न भन्ने पक्कापक्की भयो । यो संवत् २०५२÷०५३ सालको कुरा हो ।


यहाँसम्म आइपुग्दा सगरमाथा चढ्ने, हिरो बन्ने र वैदेशिक रोजगारीमा जाने सपना सपनामै सीमित रह्यो । पूरा गर्ने सम्भावना क्षीण बन्दै गएको थियो । तर, सोच्दै नसोचेको विधामा उनी गायक तथा संगीतकारका रूपमा स्थापित भए । 


प्रकाश गुरुङ र चन्दनकुमारलाई गुरु थापेर संगीत सिकेका  उनले सुरुताकाका दिन सम्झे, ‘शास्त्रीय संगीत खतरा हो भन्ने थाहा पाएपछि सिक्न थालें । संगत बढ्न थाल्यो । कार्यक्रमतिर हिँड्न थालियो ।’ गान्धर्व संगीत पाठशाला पुगेपछि दुई/चार गीतमा कोरससमेत गाए । 


गायक हुनुभन्दा त शास्त्रीय संगीत जान्नु पो ठूलो रहेछ भन्ने भेउ पाएपछि उनले ११ वर्षसम्म शास्त्रीय संगीत सिके । त्यतिबेला दैनिकजसो ११÷१२ घन्टा शास्त्रीय संगीतमा अभ्यास गर्थे ।


१४ वर्षमा १२० बढी गीतमा संगीत भरेका उनको ०५५ तिर एक गीत रेकर्ड भएको थियो । ०५९ मा एक गीतिएल्बम बजारमा ल्याए । हिजोआज गीत गाउन कस्सिएका छन् । गीत गाउन सकिन्छ भन्ने आत्मविश्वास छँदै छ । यो बीचमा धेरै स्कुलमा संगीत पढाए । सिक्ने, सिकाउने कामले निरन्तरता पाएकै छ ।

भने, ‘तीन हजारभन्दा बढीलाई संगीत सिकाएको छु ।’ चल्तीका संगीतकारले जस्तै काम गर्दै आएका उनले इलाहवादबाट बीम्युज गरेका छन् ।  उनले गरेको संगीतमा सुक्मित गुरुङ, फत्तेमान, प्रेमध्वज प्रधान, दीप श्रेष्ठ, दिलमाया खाती, योगेश वैद्य, राजेशपायल राई, अञ्जु पन्त, मेलिना राईलगायतले गाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप