केन्द्रीय संस्करण

पहिला केन्द्रको गुलाम थियौँ, अब प्रदेशको गुलाम भयौँ

person access_timeअसोज २८, २०७५ chat_bubble_outline0

 

राजपा नेपालका प्रवक्ता सन्तोष मेहता प्रदेश १ का हुन् । आफ्ना गतिविधि शून्य भएका ठाउँमा राजपा नेपालले चुनावमा भाग लिएको थिएन । झापा, सुनसरी र मोरङलाई प्रदेश २ गाभ्ने चर्चा थियो । अहिले त्यो पनि सेलाएको छ । राजपा नेपालका सम्पूर्ण नेताहरू तथा उसका गतिविधि प्रदेश २ मा मात्र केन्द्रित छन् । यस अवस्थामा प्रदेश १ का मधेसी जनता के सोचिरहेका छन्, अगामी दिनमा मधेस राजनीतिसँग कस्तो सम्बन्ध राख्नेछ लगायतका विषयमा प्रवक्ता मेहतासँग रातोपाटीका लागि एसके यादवले गरेको कुराकानी ः

मधेसको राजनीति गर्ने ठाउँ प्रदेश २ मात्र हो कि अरू प्रदेश पनि हो ?
वास्तवमा मधेस भनेको पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्मको भूभाग हो । विगतमा पटक–पटक मधेस आन्दोलन हुँदा झापादेखि कञ्चनपुरसम्म नै भएको थियो । कुनै ठाउँमा अलि बढी भयो, कुनै ठाउँमा अलि कम भयो । त्यो आफ्नो ठाउँको कुरा हो । तर, झापदेखि कञ्चनपुरसम्मको भूभागका लागि मधेसी जनताले सङ्घर्ष गरेकै हुन् । तर कसरी पोल्टिक्स हुन्छ भन्ने कुरा राज्यको संरचनामा भरपर्छ । प्रदेश २ बाहेक अन्य प्रदेशमा एउटा के भ्रम परेको छ भने प्रदेश २ बाहेक अरू प्रदेशमा राजपा नेपाल र फोरम नेपालको सरकार बन्न सक्दैन । बन्यो भने नेकपा वा काँग्रेसकै बन्छ भने मनोविज्ञान छ । तर राजपा र फोरमको पोल्टिक्स प्रदेश २ बाहेक अरूमा चलोस् या नचलोस् तर मधेसको पोलिटिक्स ती सबै प्रदेशमा चल्छ भन्ने मेरो ठोकुवा हो । किनभने देश सङ्घीयतामा गइसके पनि पूर्वको प्रदेश १ होस् वा पश्चिमको ५ र ७ प्रदेश होस्, त्यहाँ मधेसीमाथिको विभेद कायमै छ । बरु अझै बढेको छ । प्रदेशले पनि मधेसीलाई अल्पसङ्ख्यकका रूपमा व्यवहार गरेको छ । विभेद सहेर बसेका छन् मधेसी समुदाय । जसरी केन्द्रको विभेदको विरुद्ध आन्दोलन भयो त्यसरी नै अब प्रदेशको विरुद्धमा आन्दोलन हुनसक्ने सम्भावना अहिले बढ्दै गएको छ । झापा, मोरङ र सुनसरीका मधेसी जनताले पनि सङ्घीयताका लागि रगत बगाएका थिए भन्ने कुरा राजपा र फोरम नेपालका नेतृत्व तहले विर्सिनु हुँदैन । मधेस आन्दोलनको समयमा त्यहाँका लाखौँ जनता सडकमा ओर्लिएका थिए । तर अहिले उनीहरू पराजीत मनस्थितिमा छन् । निराश भएर बसेका छन् । 

राजपा नेपालले प्रदेश २ बाहेकका मधेसी जनतालाई किन बेवास्ता गरेको त ?
–अहिले त सुरुवात न हो । धेरै टिप्पणी गरिहाल्ने अवस्था छैन । प्रदेश दुईमा फोरम नेपाल र राजपा नेपालको सत्ता छ । त्यही भएर गतिविधि त्यहाँ अलि बढी नै देखिन्छ । राजपा नेपालले त प्रदेश २ बाहेक अरू प्रदेशमा चुनावमा भाग नै लिएन । त्यही भएर गतिविधि नदेखिनु स्वभाविक हो । फोरम नेपालले पनि चुनावमा त्यति राम्रो गर्न नसकेको कारण उसको पनि त्यति चहलपहल छैन । 

त्यही भएर अब राजपा र फोरमले प्रदेश दुई बाहेक पनि सङ्गठन बनाउनुपर्छ । सीमाङ्कनका लागि आन्दोलन गर्नुछ भने झापा, सुनसरी र मोरङमा सङ्गठन बनाउनु आवश्यक छ । कैलाली, कञ्चनपुर, नवलपरासीमा सङ्गठन बनाउनुपर्छ । ती जिल्लाको सीमाङ्कनका लागि प्रदेश दुईका जनताले लड्दैनन् । जसलाई पहिचानसहितको सीमाङ्कन चाहिन्छ, उसैले लड्नुपर्छ । त्यसैले बाहेक दुईका प्रदेशमा ध्यान दिन जरुरी छ । 

अरू प्रदेशमा चुनावमा नलडेको कारण प्रतिनिधि चयन भएनन् । त्यहाँ जनप्रतिनिधि नभए पनि पार्टीका कार्यकर्ता र सङ्गठन छ । तैपनि गतिविधि शून्य छ, किन ?
–तपाईंले भनेको जस्तो शून्य त छैन । तर राजपा नेपालको पहिला जस्तो सङ्गठन थियो, त्यस्तो सङ्गठन अब रहेन भन्ने कुरा स्वीकार गर्नुपर्छ । चुनावका समयमा थुप्रै कार्यकर्ता तथा नेताहरू यताउति भएका छन् । ती कार्यकर्ताको बारेमा अहिले पनि खोजबिन भइरहेको छैन । पार्टीका सङ्गठनात्मक गतिविधि भयो भने ती साथीहरू फेरि फर्किने सम्भावना पनि छ । तर दलका शीर्ष नेताले त्यतातिर अहिले रुचि नै देखाएका छैनन् । 

अहिले पनि राजपा नेपाल र फोरम नेपालले झापादेखि कञ्चनपुरसम्म दुईवटा प्रदेश बनाउन आन्दोलन गर्ने भनिरहेको छ, त्यो कसको बलमा भनिरहेको छ त ?
–झापदेखि कञ्चनपुरसम्म एउटै मधेस बनाउनुपर्छ भन्ने चाहना विगतदेखिकै हो । अहिले पनि हामी त्यसमा अडिग छौँ । झापा, सुनसरी, मोरङ, कैलाली, कञ्चनपुर, नवलपरासी लगायतका जनता अझै पनि आन्दोलन गर्न तयार छन् । तर सेनापति नै तयार भएनन् । अहिले सेनापतिहरू एउटा गुल्ममा मात्र अल्झेका छन् । 

अहिलेको जुन संरचना छ, त्यसले समस्याको समाधान गर्दै गर्दैन । पूर्वमा लिम्बुवान मुभमेन्ट चल्छ चल्छ । खुम्बुवान मुभमेन्ट चल्छ चल्छ । मधेस मुभमेन्ट चल्छ चल्छ । यी तीनवटै पक्ष सन्तुष्ट छैनन् भने प्रदेश एक कसका लागि बनाइएको हो ? यो ठूलो प्रश्न हो । 

राजपा र फोरम नेपालले यही आधारमा आन्दोलन गर्ने भनिरहेका छन् । मधेसका जनता अहिले हारेका छन् । गलेका छन् । ६–६ महिना मधेसको आन्दोलन गर्यो तर केही उपलब्धि नभएपछि अहिले थकित भएर बसेका छन् । उनीहरु शक्ति सञ्चय गरिरहेका छन् । समय आएपछि आफ्नो ताकत देखाउँनेछ ।

झापा, सुनसरी र मोरङलाई पनि प्रदेश दुईमा मिलाउनुपर्ने जुन कुरा भइरहेको छ, त्यसमा त्यहाँको जनताले चासो देखिएका छैनन् । नत्र प्रदेशको सीमाङ्कन भएपछि त्यहाँ आन्दोलन हुनुपर्ने थियो । तर, त्यस्तो देखिएन ?
–मलाई अच्चम लाग्छ, तपाईंले त्यस्तो किन देख्नुभएन ? संविधान निर्माण हुँदा होस् वा प्रदेशको सीमाङ्कन गर्नेको अवस्था होस्, तीन जिल्लाका जनताले विरोध जनाएका थिए । सडकमा ओर्लेका थिए । रगत पनि बगाएका थिए तर राज्यले सुनिदिएन । तर अहिले शान्त भएको एउटा कारण छ, त्यो हो राजधानी । एक नम्बर प्रदेशको राजधानी विराटनगर दिएपछि त्यहाँका मधेसी जनतामा केही सन्तोष पलाएको छ । केही आशा जागेको छ । सन्तुष्ट रहने केही ठाउँ रह्यो । यदि अहिले पनि राजधानी पहाडतिर सार्यो र प्रदेशको नाम पहिचानसहित नामकरण गरिएन भने आन्दोलन सुरु हुन्छ । यदि झापा, मोरङ र सुनसरीलाई प्रदेश दुईमा गाभियो भने विराटनगरलाई राजधानी त बनाउँदैनन्, जनकपुरलाई नै बनाउँछन् । जुन कुरा त्यहाँका जनतालाई स्वीकार्य हुँदैन । त्यसैले विराटनगर राजधानी दिएका कारण तत्कालका लागि चित्त बुझाएर बसेका छन् । 

तपाईं प्रदेश एकको नेता हुनुहुन्छ, तपाईंको कुरा सुन्दा त त्यहाँका जनता प्रदेश १ बाट सन्तुष्ट छन्, होइन ?
–सन्तुष्ट छैनन्, आँगनमै प्रदेशको राजधानी छ भनी भ्रममा मात्र छन् । यसले गर्दा विकास हुन्छ । पहिचान प्राप्त हुन्छ कि भन्ने आशामा बसेका छन् । तर आफ्नो पहिचान, स्वाभिमान बेचेका छैन । भारतको कास्मिर बहुसङ्ख्य मुस्लिमको प्रदेश हो तर त्यहाँ हिन्दुहरू सङ्गठित भए । भाजपाका लागि कास्मिर जसरी सङ्गठित भएर आयो, त्यसरी नै राजपा नेपालले नेतृत्व गर्ने हो भने राजपाका लागि प्रदेश एक सङ्गठित भएर साथ दिन्छ । 

अहिले प्रदेश १ का मधेसी नेता राजपा नेपालमा संगठीत छन् कि छैनन् ?
–पहिला जस्तो सङ्गठन त्यहाँ छैन । तर आशा राजपा नेपालसँग मात्र छ । पछिल्लो समय फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव प्रदेश एकबाट पलायन हुनुभयो । त्यहाँका जनताले त्यही नजरबाट त्यो दललाई हेरेको छ । सुनसरी, मोरङले उपेन्द्र यादवलाई पत्याएन कि उपेन्द्र यादवले नै सुनसरी, मोरङलाई पत्याएन ? किनभने यसअघि पनि त्यहाँका जनताले उहाँलाई दुई–दुई पटक चुनाव जिताएकै हुन् तर यस पटक सो क्षेत्र छाडेर गएपछि मधेसी जनतामा निकै आक्रोश आयो । अर्थात अहिले पनि उनीहरुले मनदेखि फोरम नेपाललाई स्वीकार गरेका छैनन्, त्यो कुरा स्थानीय तहको चुनावमा प्रष्ट देखिइसकेको छ । आशा छ भने राजपा नेपाल लागि मात्र । तर राजपा नेपालले पनि वास्ता गरेको देखिँदैन । अझै पनि राजपा नेपालले त्यहाँ गतिविधि बढाइदियो भने सबैभन्दा राम्रो सङ्गठन बन्छ । 

तपाईं जस्तो पार्टीको जिम्मेवार व्यक्तिले नै प्रदेश एकमा राजपा नेपालको सङ्गठन राम्रो छैन, जनता हारको मनस्थितिमा पुगिसकेका छन् भन्नुहुन्छ, के यसलाई सुधार गर्नका लागि केन्द्रले कुनै पहल गरेको छैन ?
–हो, अहिलेसम्म राम्रो पहल भएको देखिएन । उपेन्द्र यादवको पलायनपछि त्यहाँको मधेसी जनताको आशाको केन्द्र राजपा नेपाल भएको छ । तर राजपा नेपालले ध्यान दिएको छैन । राजपा नेपालको महाधिवेशनको घोषणा भइसकेको छ । त्यसको तयारी भइरहेको छ । यी सबै कुरा महाधिवेशनमा मिल्दै जान्छन् । पार्टी एउटा ट्र्याकमा आउँछ । 

अहिले चाहिँ पूर्व–पश्चिमका सङ्गठनमा ध्यानै नदिने, के एकै पटक महाधिवेशनमा आह्वान गर्दैमा नेता तथा कार्यकर्ता आउँछन् त ?
–महाधिवेशनको नाममा भए पनि शीर्ष नेताहरू प्रदेश १ लगायतका क्षेत्रहरूमा जानुहुन्छ । सङ्गठन निर्माणका लागि दौडधूप गर्नुहुन्छ । किनभने महाधिवेशनमा सबै नेतालाई जिल्लाका कार्यकर्ता नै काम लाग्छन् । मलाई लाग्छ, जिल्ला अधिवेशनसम्ममा विग्रिएका भत्किाएका सबै कुरा मिल्छन् । संविधान दिवसको दिन मनाइएको कालो दिवसमा सबै शीर्ष नेताहरू प्रदेश दुई बाहेकका क्षेत्रमा जानुभएका थियो । सोचेजस्तो उपलब्धि त हुनसकेन तर प्रयास राम्रो थियो । कहीँ न कहीँ जनतालाई जोड्ने काम गरेको थियो । 

तपाईं मधेस राजनीतिमा सक्रिय कार्यकर्ता तर संयोगले तपाईं प्रदेश एकमा पर्नुभयो, जहाँ राजपा नेपालको गतिविधि छैन, सङ्गठन राम्रो छैन । त्यस अवस्थामा तपाईंको राजनीतिक गतिविधि र राजनीतिक दिनचार्या कसरी वितिरहेको छ ?
–     १७–१८ वर्ष मधेसका निम्ति लडेको नेता हुँ । तर, हाम्रो निम्ति सङ्घीयता बेकार आएजस्तो लाग्छ । 
प्रदेश दुईमा बस्ने जनताले जुन सपना देखेका थिए, त्यो सपना पूरा भयो । उसका लागि प्रदेश दुई  बन्यो तर हाम्रो निम्ति त्यो पनि बनेन । हामी त झन् गुलाम भयौँ । पहिला केन्द्रको गुलाम थियौँ, अब प्रदेशको गुलाम भयौँ । अहिले केन्द्रभन्दा बढी विभेद प्रदेशले गरिरहेको छ हामीसँग । तर अझै सङ्घर्ष गरिरहेको छु । जनतामा गइरहेको छु । उनीहरूलाई सम्झाउने प्रयास गरिरहेको छु । अलग भएका जनतालाई जोड्ने काम गरिरहेको छु । शून्य स्तरबाट काम सुरु गरेको छु । जनतालाई यी कुरा बुझाउने काम गरिरहेको छु । यसरी नै मेरो दिनचार्या चलिरहेको छ । 
 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ