बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो

शनिबार, २७ असोज २०७५, १८ : २१
शनिबार, २७ असोज २०७५

काठमाडौँ । विश्व टी–२० एशिया छनोट समूह ‘बी’को विजेता नेपाली राष्ट्रिय क्रिकेट टोली आज अपराह्ना स्वदेश फर्केको छ । 

मलेशियामा भएको प्रतियोगितामा अपराजित रहँदै उपाधि जितेको नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खेलकुद पदाधिकारीसहित समर्थकले स्वागत गरेका थिए । शुक्रबार भएको छनोट चरणको अन्तिम खेल रद्व भएपछि रन रेटका आधारमा नेपालले छनोट उपाधि जितेको थियो । 

उपाधिसँगै नेपाल विश्व टी–२० एशिया छनोट समूह ‘बी’ को विजेताको रुपमा दोस्रो चरणको छनोटमा समेत पुगेको छ । नेपालसँगै सिंगापुर उपविजेता र मलेशिया पनि शीर्ष तीनमा रहँदै दोस्रो चरणको एसिया छनोटमा पुगेको छ । 

त्रिभुवन विमानस्थलमा संक्षिप्त प्रतिक्रिाय दिँदै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले फेरी विश्वकप खेल्ने सपना रहेको बताएका छन् । ‘फेरी विश्वकप खेल्ने सपना छ, पहिलो चरण पार गरेका छौं, अब दुई चरण बाँकी छ, त्यसमा उत्कृष्ट प्रदर्शन गर्दै फेरि विश्वकपमा छनोट हुने छौँ’ –कप्तान खड्काले भने । 

अर्को चरणको खेल अहिलेको जस्तो सजिलो नुहेन बताउँदै कप्तान खड्काले त्यसका लागि अहिलेदेखिनै तयारी अघि बढाउनुपर्ने बताए । ‘अब बलिङ, फिल्डिङ र ब्याटिङमा विशेषज्ञ प्रशिक्षक ल्याएर तयारी अघि बढाउन सकेनौ भने अगाडिको छनोट प्रतियोगिता निकै कठिन हुनेछ’ – खड्काको भनाइ थियो । 

एसिया छनोटमा छ टोलीले खेल्नेछन् । यस छनोटमा युएई, कुवेत र कतारले यसअघि नै स्थान बनाइसकेको छ । अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टोलीबीच प्रतिस्पर्धा हुने र १४ मध्ये छ टोली २०२० मा अष्ट्रेलियामा हुने टी–२० विश्वकपका लागि छनोट हुनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप