बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गरीब दम्पत्तिको समस्याले जन्माएको वुमन फाउण्डेसन

शनिबार, २७ असोज २०७५, ११ : २०
शनिबार, २७ असोज २०७५

मान्छेहरु जति बाहिरी रुपमा आदर्शका शब्दहरु बोल्छन्, सभ्य अनि भब्य देखिन्छन्  र अरुलाई प्रेरणादायी सन्देश दिएर हौसला दिन्छन् तर बाहिरी रुपमा शिक्षित र शभ्य देखिने त्यही मान्छे आफ्नै घर र श्रीमतीको लागि भने कतिसम्म कुरुप व्यवहार गर्न पछि पर्दैन भन्ने कुरा सायदैले सोच्न सक्लान । वास्तविकता के हो भन्ने कुरा देख्नेलाई होइन भोग्नेलाई मात्र थाहा हुन्छ । जसले सो व्यक्तिसँग निकै नजिक रहेर हरेक साँझ विहान उठबस गरेको हुन्छ ।

कुरुपताको पराकाष्ठाको एउटा नमुना पेशाले क्याम्पसको प्रोफेसर । दुनियाँलाई शिक्षा दिएर उज्वल भविष्यको मार्गदर्शन गर्ने त्यही प्रोफेसर आफ्नी श्रीमतीको जिन्दगीमा कालो रंग घोल्ने प्रयास गर्न पछि पर्दैन । त्यही श्रीमान, सानो सानो कुरामा टर्चर दिएर पिट्ने, यौन हिंसा गर्ने, आफ्नो खुट्टाको घाउको पाप्रा समेत खुवाउँछ । 

अर्को पेशाले इन्स्पेक्टर जसले आफ्नी श्रीमतीलाई हरेक दिन आर्थिक, सामाजिक यातना दिइरहन्छ । यी त प्रतिनिधि घटना हुन् । यही समस्यालाई नजिकैबाट नियालेकी रेणु उप्रेती लगायत उनकोे समुहलाई पनि समाजमा हुने यस्ता घटनाले निकै पिरोल्ने गरेको छ । हिंसामा परेका महिलाहरुको सहयोगको लागि उनीहरुले नै स्थापना गरेको  वुमन फाउन्डेसनमा यस्तै यस्तै पिडितहरुको लर्को लाग्छ । ३०  वर्ष अघि स्थापना भएको यस फाउन्डेसनमा अझै पनि दैनिक ४/५ वटा केश यस्तै खालका आउँछन् । फाउन्डेसनले कानुनी परामर्श पनि दिने भएकाले परामर्श कक्षमा ४÷५ जना परामर्श लिदै गरेको भेटिन्छन् । फाउन्डेसनसँग परामर्श टिम छ । 

माथिको घटना केही वर्षअघि वुमन फाउन्डेसनमा पिडितले लिएर आएका घटना थिए । त्यस्ता घटनाहरु केही फाउन्डेसनको परामर्शले सल्टाउन सक्यो त केही नसल्टिएर श्रीमान श्रीमतीले आफ्नो आफ्नो बाटो रोजे । तर जो एक्लै परे, जो हिंसामा परे, जो बेसाहारा भए उनीहरुको साथी बन्यो फाउन्डेसन । आर्थिक रुपले सक्षम हुन नसकेका महिलाहरु पनि त्यही सिप सिकेर केही गर्न सक्ने भएका छन् । अहिले वुमन फाउन्डेसनमा ८५ जना महिलाहरु छन् । ती मध्य धेरैजसो विभिन्न हिंसाका शिकार भएर त्यहाँ पुगेका हुन् । फाउन्डेसनमा ८/९ सय महिलाहरु आइसकेका छन् । तर ती सबै अहिले त्यहाँ छैनन । कतिपय पारिवारिक मिलनका साथ घर फर्किएका छन् भने कतिपय फाउण्डेसन भन्दा बाहिर रहेर आफै केही गर्दैछन् ।  

फाउन्डेसनको प्रोडक्सन हाउस पनि छ । फाउन्डेसनले पस्मिनाका स्कार्फहरु उत्पादन गरेर विदेश निर्यात गर्छ । युरोप अमेरीका लगायतका विभिन्न ठाउँमा तीनै दिदि बहिनीले बनाएको स्कार्फको माग छ । फाउन्डेसनमा उत्पादन हुने स्कार्पmको बजार भनेको युरोप अमेरीका लगायतका ठाउँ नै हुन । फाउण्ेसनकी अध्यक्ष रेणु उप्रेती त्यहाँ उत्पादन हुने स्कार्फलाई स्कार्फ भन्न रुचाउँदिनन उनीहरु सबैले त्यो स्कार्फलाई अंग्रेजीमा एउटा नाम दिएका छन ‘आर्टस आफ आवर सिस्टर‘ अर्थात हाम्रो दिदि बहिनीको कला । 

छोरीको खोजीमा आएका गरीब दम्पतीको कारणले नै जन्मिएको थियो फाउन्डेसन
एसएलसी दिएर कलेजको खोजीमा रहेका रेणु उप्रेती र उनका साथी (१५ देखि १९ वर्षका)  आफु भन्दा सिनियर दिदिहरु पढ्ने कलेजमा (पद्म कन्या) गएर भलिबल खेल्दै थिए । उनीहरुले पनि त्यही कलेजमा पढ्ने मनसाय बनाइसकेका थिए । भलिबल खेल्दै गर्दा एक जना निकै गरीब जस्तो देखिने एउटा दम्पत्ती कलेजको गेटबाट छिरेर तपाइहरुले मेरो छोरीलाई देख्नुभएको छ भन्दै सोध्छ । त्यो देखेपछि उनीहरुको नजिक गएर रेणुले सोधिन तपाई कहाँबाट आउनु भएको र छोरी कसरी हराइन् ?

त्यसपछि ती दम्पतीले आफ्नो नालीबेली बताउँन थाले । यो २०४६ सालतिरको कुरा हो । सर्लाहीका आलेमगर थर भएका ती दम्पती ३ वटा छोराछोरी सहित काठमाडौ आएका रहेछन् । एक किलो उन काटिदिए पछि २० रुपैयाँ पाइदोरहेछ । दम्पतीनै त्यही काम गर्न थाले  । एकजना डाक्टरले आफ्ना लागि काम गर्न उनीहरुको छोरी मागेछन र डाक्टरले आफनै छोराछोरीसँग ती बालिकालाई दिउँसो पढ्न पठाउँने र बिहान बेलुका काम लगाउँने बाचा गरेपछि छोराछोरी पाल्न कठिन भएका उनीहरुलाई आफ्नो आम्दानीबाट नपुग्ने देखेपछि डाक्टरका छोराछोरीसँग आफ्नी छोरी पढ्न जान पाउने लोभमा उनीहरुले छोरीलाई ती डाक्टरको घरमा पठाइदिए । बिडम्बना त्यसको १२ दिनपछि ११ किलो सुन चोरेर बालिका भागेको खबर उनका बाबु आमालाई दिएछन् ।

त्यही बालिका खोज्दै जाँदा पद्म कन्या कलेज भित्र ती बाबुआमा  पुगेका रहेछन् । यो सुनेपछि रेणु सहित उनका १४ जना साथी हनुमानढोका बालिका हराएको भन्दै खोजिदिन भन्दै पुगेपछि प्रहरीले उल्टै तिमिहरुको काम छैन भनेर थर्काएपछि उनीहरु फर्किए । त्यसपछि हरेक क्याम्पसमा बालिका खोजीमा सहयोग गरौ भन्दै सुचना छोड्दै हिडे । त्यही सुचनाका कारण ४५ जना बिद्यार्थी बिभिन्न कलेजबाट भेला भए । बालिका हराएको र महिला हिंसाको केशमा छलफल गरेपछि त्यहीबाट यस्ता समस्या समाधानमा सघाउँन असहाय महिला संरक्षण केन्द्र नाम दिएर संस्था खुल्यो । पछि हराएकी बालिका डाक्टरले चोरको आरोप लगाएर आफ्नी दिदिको घर डिल्ली बजारमा काम गर्न राखिदिएको खुलन आयो । तर ती बालिकालाई थाहा थिएन आफु हराएको भनेर । 

असहाय महिला संरक्षण केन्द्रको नाममा खुलेको उक्त सँस्था ४ वर्षपछि वुमन फाउण्डेसनको नाममा परिवर्तन भयो । फाउन्डेसनको स्थापना भएको ३० वर्ष भइसक्यो ।

१८ वर्ष अघिदेखि साहारा बिहिन बालबालिकाको साहारा पनि बन्न थाल्यो 
सन २००० देखि बुमन फाउन्डेसनले साहारा बिहिन बालबालिकालाई पनि साहारा दिन थालेको छ । अहिले यसको थलीमा रहेको आवासमा १ सय २१ बालबालिका बस्छन् ।  उनीहरुको लालन पालन र शिक्षा दिक्षा फाउन्डेसनले नै गर्छ । कतिपय दुई/तिन महिनादेखि आफैले ल्याएका बच्चाहरु छन भने केही एकल आमाका सन्तान पनि छन् । यहिबाट हुर्केका बच्चाहरु अहिले कोही अमेरीकामा इन्जिनियरीङ पढ्दै छन भने कोही नर्वेमा पढ्दैछन् । 

आफ्नै बिजनेस र सहयोगीले गरेको सहयोगबाट चल्छ फाउण्डेसन  

फाउण्डेसन अरुको सहयोगमा धेरै समय टिक्न सक्तैन भन्ने मान्यता राख्छ । त्यसैले त यसले आफ्नै उत्पादन केन्द्र खोलेको छ  जहाँबाट स्कार्फहरु उत्पादन हुन्छन जसले दिदि बहिनीको दक्षता बृद्धि हुने साथसाथै फाउण्डेसन सञ्चालनको लागि खर्च जोहो पनि हुने गरेको छ । यति मात्र होइन यसले अर्गानिक खेतीमा पनि आफ्ना जनशक्तिहरुलाई सक्रिय गराएको छ । फाउण्डेसनकी  अध्यक्ष रेणु भन्छिन, हामी आफ्नै कर्ममा विश्वास गर्छौ, यहाँका हाम्रा दिदि बहिनी कर्मशील छ । फाण्डेसनको फण्ड भनेको धेरै जसो आफ्नो विजनेस हो ।’

बौद्ध नयाँ बस्तीमा यसको उत्पादन हाउस र मूख्य कार्यालय छ । हामी त्यहाँ पुग्दा केही महिला धागो बेर्दै थिए, कोही धागोमा रंग लगाउँदै थिए भने कोही बनिसकेको स्कार्फलाई मुलायम बनाउँन रगड्दै थिए । अधिकांश १७/१८ वर्षदेखि धागोसँगै दिन बिताइरहेका छन् ।  आफ्नो मेहनतको कमाइमा बाँचिरहेका छन् । आर्थिक रुपले सक्षम हुन सिकेका छन् । कहिले काही विदेशमा वस्ने केही नेपालीले पनि फाउण्डेसनलाई सहयोग गर्छन । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप