शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

परिवार नियोजनका ४ खानेचक्की : महिलाले यी कुरामा ध्यान दिन जरुरी

शनिबार, २७ असोज २०७५, ११ : १०
शनिबार, २७ असोज २०७५

काठमाडौं– महिला तथा पुरुषको इच्छाअनुसार कति अन्तरमा कति सन्तान जन्माउने वा नजन्माउने भनी गरिने योजना नै परिवार नियोजन हो । 

यसका लागि महिला तथा पुरुषले परिवार नियोजनका विभिन्न स्थायी तथा अस्थायी साधनहरु प्रयोग गर्न सक्छन् ।

 परिवार नियोजनका लागि श्रीमान/श्रीमतीबीच समझदारी हुनुपर्छ । आफ्नो परिवारमा कति सन्तान जन्माउने भन्ने बारेमा छलफल भए शुखी परिवार बनाउन सकिन्छ । आज महिलाले प्रयोग गर्ने परिवार नियोजनका ४ खानेचक्कीको बारेमा हामी तपाईँलाई जानकारी गराउन गइरहेका छौंः

१) सुनौलो गुलाफ 
पहिला सुनौलो गुलाफको कुरा गरौँ । यो चक्की धेरै महिलाले प्रयोग गर्ने गरेको पाइन्छ । सुनौलो गुलाफ तपाईँको परिवारको योजना गर्ने सुरक्षित र आधुनिक उपाय हो । प्रत्येक दिन सुनौलो गुलाब खाएमा प्रभावकारी हुन्छ । सुनौलो गुलाफ पहिलो सन्तान ढिलो जन्माउन र सन्तान बीच जन्मान्तर कायम गर्न प्रयोग गर्न सकिन्छ । 

– सुनौलो गुलाफ प्याकेटमा देखाएको (⇨) भएको विन्दूबाट पहिलो चक्की खानुहोस । 

– दिनहुँ एउटै समयमा प्याकेट (⇨) चिन्हको संकेत गरे अनुसार एउटा चक्की खानुहोस् जब तपाईँले पहेंलो रंगका चक्कीहरु खाइसक्नु हुन्छ, तब प्याकेट नसकिएसम्म खैरो रंगका चक्कीहरु खानुहोस् । 

– खैरो रंगका चक्कीहरु सकिएपछि  तुरुन्तै अर्काे दिनदेखि तपाईँले नयाँ प्याकेटबाट फेरि पहिलेकै क्रममा दिनहुँ चक्की खानुपर्छ ।

२) निलोकल निलोकन ह्वाइट
सुनौलो गुलाफ जस्तै निलोकन ह्वाइट खाने तरिका पनि एउटै रहेको  छ ।

– प्याकेटमा देखाएको चिन्ह (⇨) भएको बिन्दुबाट पहिलो चक्की खानुहोस ।

– दिनहुँ एउटै समयमा ,प्याकेटमा (⇨) चिन्हले संकेत गरे अनुसार एउटा चक्की खानुहोस् । जब तपाईले सेतो रंगका चक्कीहरु खाइसक्नुहुन्छ तब प्याकेट नसकिएसम्म खैरो रंगका चक्कीहरु खानुहोस् ।  

– खैरो रंगका चक्कीहरु सकिएपछि अर्काे दिनदेखि तपाईले नयाँ प्याकेटबाट फेरि पहिलेकै क्रममा दिनहुँ चक्की खानु पर्दछ । 

३)  पिल्स 
– पिल्स महिलाहरुको भरपर्दाे परिवार नियोजनको अस्थायी साधन हो । बच्चा जन्माएका वा नजन्माएका कुनै पनि महिलाहरुले यसको प्रयोग गर्न सक्छन् ।

– गर्भधारणबाट पूर्णरुपमा सुरक्षित रहनका लागि महिलाले प्रत्येक दिन नबिराई खाने चक्की (पिल्स)को सेवन गर्नुपर्छ । 

– खाने चक्कीले डिम्वासयबाट डिम्व निष्काशन हुन नदिई तथा यौन रसलाई बाक्लो बनाएर शुक्रकीटलाई महिलाको डिम्वासयमा पुग्न दिँदैन र गर्भधारण हुनबाट रोक्छ । 

– पिल्स २१ वटा सेतो र ७ वटा खैरो चक्की मिलेर बनेको हुन्छ जसलाई महिनावारी भएको दिन अथवा ४ दिन भित्र प्रत्येक दिन नविराई खानु पर्छ । 

– पिल्स चक्की हरेक दिन एकैसमयमा खानु पर्छ । 

– ७ दिनपछि मात्र प्रभावकारी हुने हुनाले सो अवधि भित्र कण्डमको प्रयोग गर्नुपर्छ । 

शुरुका २÷३ महिना कसैँकसैमा साधारण टाउको दुख्ने वाकवाकी लाग्ने हुनसक्छ । यसलाई सामान्यरुपमा लिनुपर्छ ।
४ ) आकस्मिक गर्भ निरोधक खाने चक्की
–आकस्मिक गर्भ निरोधक भन्नाले असुरक्षित यौन सम्पर्कबाट अनिश्चित गर्भ धारण हुन नदिन महिलाले खाने चक्कीको मार्फत गर्भ रहन नदिने विधि हो । 

– सुरक्षित यौन सम्पर्क भएपछि महिलाले जतिसक्दो चाँडो १२० घण्टा भित्रै आकस्मिक गर्भ निरोधक विधि अपनाउनुपर्छ । 

– आकस्मिक गर्भ निरोधक विधि सधै प्रयोग गर्ने विधि भने होइन । यो आकस्मिक उपाय मात्र हो । 

– यसको प्रयोग पटकपटक गरेमा गर्भ निरोधक साधनले काम नगर्ने हुनसक्छ । 

– आकस्मिक गर्भ निरोधक चक्की एक पटक सेवन गरेपछि अर्काे पटकको असुरक्षित यौन सम्पर्कबाट सुरक्षा दिदैन । यस्ता चक्की खानाले केही दिन सम्म वाकवाक लाग्ने, बान्ता हुने र रक्तश्राव हुन सक्छ । 
आकस्मिक गर्भनिरोधक साधन प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु 
आकस्मिक गर्भ निरोधक साधन आपलकालीन अवस्थामा मात्रै प्रयोग गर्न सकिन्छ । आकस्मिक गर्भनिरोधक साधनलाई नियमित साधनको रुपमा हेर्नु हुँदैन । आकस्मिक गर्भ निरोधक साधन आवश्यक परेको खण्डमा जुनसुकै समयमा पनि प्रयोग गरिने साधनको विकल्पको रुपमा प्रयोग गर्नुहुँदैन ।

परिवार नियोजनबाट हुने फाइदाहरु 
परिवार नियोजनको साधन प्रयोग गरेमा धेरै फाइदा हुन्छ । नचाहेको गर्भ नबस्ने हुँदा समस्या हुँदैन । जसले गर्दा श्रीमानश्रीमतीले  भविष्य सुन्दर बनाउन सक्छन् ।

यतिमात्रै होइन आमा स्वस्थ्य भएपछि जन्मने सन्तान पनि स्वस्थ्य हुन्छ  । बाबुआमाले सन्तान जन्माएपछि उसको स्याहार, खानेकुरा, लत्ताकपडा, शिक्षादीक्षा र सुन्दर भविष्यको बारेमा ध्यान पु¥याउँन पाउँछन् । सन्तानले पनि आमाबुबाको आवश्यक हेरचाह, सुरक्षा, माया र स्याहारसुसार पाउँछन् । 

यी कुरामा ध्यान दिन जरुरी
परिवार नियोजनका साधन प्रयोगले तपाईँको जीवनमा फाइदा त हुन्छ नै तर प्रयोग गर्ने व्यक्तिले अन्य कुरामा पनि ध्यान दिन जरुरी हुन्छ । 

परिवार नियोजनका चक्कीहरुले एच.आई.भी÷एड्स वा अन्य यौनजन्य रोग जस्तै धातरोग वा भिरङ्गीबाट सुरक्षा प्रदान गर्दैन । 

यदि कसैमा एच.आई.भी÷एड्स वा यौनजन्य संक्रमणको जोखिममा छ भने कण्डमको प्रयोग गरी सुरक्षित रहन सकिन्छ । परिवार नियोजनको साधनहरुको बारेमा नजिकैको स्वास्थ्य संस्थाबाट जानकारी लिएर मात्रै प्रयोग गर्दा राम्रो हुन्छ । 

(नेपाल सीआरएस कम्पनी र मेरीस्टोप नेपालको सहयोगमा अञ्जु तामाङले तयार पारेको सामग्री) 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप