शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

“छुट्टी नपाएको सिपाही”

शनिबार, २७ असोज २०७५, १० : २४
शनिबार, २७ असोज २०७५

कविता 
-निर्मल घिमिरे     

परदेशिएका लाहुरेहरु
ग्वार–ग्वार्ति झर्दै होलान्
रोटे पिङको फन्फनीमा
यूवाहरु रम्दै होलान्
रात्माटोले लिपिएका चार कुने आगनीमा
यताउता चारैतिर घोर्ले खसी ढल्दै होलान्
मेरो आगमनको एक÷एक पललाई
आफ्नै मनको आगनीमा
मिलनका सपनाहरु सजाएर बसेकी तिमी
खुसीका सुगन्धित फूलहरु
मनभरी फुलाएर पर्खेकी तिमी
मायाका उन्मादमा बसन्ती भएर
मेरै प्रतिक्षामा बसिरहेकी तिमी
यता मेरो छुट्टी नमिल्ने खबरले
कहिल्लै सुक्क–सुक्क नभक्कानिनु
काली तिमीले यो दशैँ राम्रोसँग मनाउनु 

दशैँ सुरु हुदै गर्दा, जर्साबको घरमा
अर्दली रुपी यो जीवनले
जर्साबनीको माइतीलाई पनि
रिझाउन सक्नुपर्ने मेरो बिडम्बना
उनीहरुले स्याम्पियन फोडी रमाउँदा
देशभक्त कहलिएको होनहार सिपाही म, 
भान्छे अनि वेटर बनी मासु र सलाद ओसारी
बोलीमा लोली मिलाउँदै हाँसिदिनु पर्ने मेरो कर्म
अघिल्लो दशैँ देखि योजना बनाए पनि
जर्साबको सालो परदेशबाट आउने भएकाले
यसपाली छुट्टी मिलाउनै सकिएन
बुबाआमा अनि छोरोको अघिल्तिर कहिल्लै नरुनु
काली तिमीले दशैँ राम्रोसँग मनाउनु 

धेरै यादआएमेरो, हाम्रो छोराको अनुहारमा हेर्नु
अनिमलाई सम्झेर छातीमा टाँस्नु
देशभित्रै परदेशी भएपछि के गर्नु बाबै
गाडा–दोयक दशैँ तिहार बित्यो यसै गरी
अर्दलीमा कैद भएको सिपाही न परे म
अहिले आफ्नै ऐठनको कैदमा परेको छु
म आउन नसक्ने खबरले
कहिल्लै विक्षिप्त नहुनु
काली तिमीले यो दशैँ राम्रोसँग मनाउनु 

मलाई थाह छ बाबै उता खरको छानो
तारामण्डल देखिने गरी चुहिने भएको 
जागिर खाई मायाको सिमन्टीले टाल्छु भनेको थिएँ
आफू र आफ्ना लागि बाच्छु भनेको थिएँ
थाहै नपाई अरुका लागि मात्रै बाँच्ने बानी परिसकेछ
यता बिछोड, वेदना र अभावले मन भारी भएकोछ
समय नै त्यस्तै प¥यो काली
चाहेर पनि यसपाली आउनै सकिन
म नआउने खबरले हिक्कहिक्क हुने गरी
गालामा हात राखेर बलेसीमा बसी
भक्कानिएर कदापी नरुनु
काली तिमीले दशैँ राम्रोसँग मनाउनु 

लोकतन्त्र ल्यायौँ, गणतन्त्र ल्यायौँ
जे ‘तन्त्र’ र ‘बाद’आए पनि
जे आए सबै ठूलाबडा र माथिकालाई आए
हामी सिपाहीहरुलाई चाँहि कहिल्यै आएन
मुटु थर्कने गरिचुश्ता–जुत्ता भुइँमा बजार्दै
“हस् साब र जयनेपाल साब” मै सिमित रहेको यो जिवन
स्वाधिन भएर पनि अरुको अधिनमा परिरहेँ
ब्यारेगको सेन्ट्री पोष्टमा इयरफोन कानमा ठोसी
विछोडका ‘दशैँ गित” सानो स्वरले बजाउँदै
बाटाभरीका जोडी हेरी भित्री मन रुवाउँदै
डिउटी पोष्टबाट यो पत्र कोर्दै छु
आमाबुबा र छोरोको राम्रो ख्याल राख्नु
काली यसपालीको दशैँ राम्रोसँग मनाउनु
तिमीलेदशैँ राम्रोसँग मनाउनु ।

-हरिवन नगरपालिका १०, सर्लाही

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप