शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सिक्टा छानबिन समितिले बुझायो प्रतिवेदन

शुक्रबार, २६ असोज २०७५, २२ : ५५
शुक्रबार, २६ असोज २०७५

काठमाडौँ– राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सिक्टा सिँचाइ आयोजनामा देखिएका समस्या समाधानका सम्बन्धमा गठित छानबिन समितिले आज प्रतिवेदन बुझाएको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई आज छानबिन समितिका संयोजक एवं मन्त्रालयका सहसचिव सुशीलचन्द्र तिवारीले प्रतिवेदन बुझाएका हुन् । 

बाँके जिल्लाको करिब ४२ हजार हेक्टर कृषियोग्य जमीनमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ निर्माणाधीन आयोजनाको मूल नहरमा समस्या देखिएपछि सरकारले छानबिन समिति गठन गरेको थियो । 

राप्ती नदीको बाँध निर्माण सम्पन्न भएसँगै मूल नहरको परीक्षणको क्रममा पानी सञ्चालन गर्दा नहरमा क्षति पुगेको थियो । निर्माण व्यवसायीबाट आयोजना हस्तान्तरण नभएको अवस्थामा देखा परेको समस्या समाधानको लागि ठेक्का सम्झौताअनुसार निर्माण व्यवसायीकै दायित्व हुने देखिएको छ । कूल रु २५ अर्ब लगानीको सो आयोजनाको कूल भौतिक प्रगति ५५ प्रतिशत छ । 

समस्याग्रस्त सम्भावित स्थानको भौगर्भिक अवस्था तथा माटोको सम्बन्धमा समेत विशेषज्ञसहितको संलग्नतामा सुक्ष्म प्राविधिक अध्ययन अनुसन्धान गरी आवश्यक सुधारका कार्य गराउन यसअघि नै मन्त्रालयले आवश्यक निर्देशन दिएको थियो । 

माटोको अवस्था नहेरिकन नहर निर्माण गर्दा समस्या आएको भन्दै छानबिन समितिले निर्माण व्यवसायीले समेत केही बदमासी गरेको पाइएको प्रतिवेदन तयार पारेको छ । 

छानबिन समितिले तयार पारेको प्रतिवेदन केही दिनभित्रै सार्वजनिक गरिने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । प्रतिनिधिसभाको कृषि तथा जलस्रोत समितिले समेत सो आयोजनाको स्थलगत अध्ययन गरेको छ । 

यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत आयोजनामा देखिएको समस्याका बारेमा सुक्ष्म अध्ययन गरेको छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप