शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

यसरी वित्छ भुवन केसीको दिन

शनिबार, ०७ साउन २०७४, १२ : ५८
शनिबार, ०७ साउन २०७४


अभिनेता भुवन केसी आजभोलि अभिनयभन्दा बढी फिल्म निर्माणमा व्यस्त छन् । उनी यतिवेला चलचित्र ‘कृ’ को छायांकनमा व्यस्त छन् । ५० वर्षको उमेर कटे पनि उनी युवा नै देखिन्छन् । यस्तो छ उनै फिट एन्ड ह्यान्डसम नायकको लाइफ स्टाइल स्

८ बजे बिउँझन्छु
अहिले चलचित्रको छायांकन भइरहेकाले दिनरात फिल्मकै काममा व्यस्त छु । फिल्मको काम नभएका वेला रेगुलर ८ बजे निद्रा खुल्छ । निद्रा खुले पनि बेडबाट झरिहाल्दिनँ ।

२ कप चियारकफी बेडमै चाहिन्छ
लागेको बानी कहीँ नजाने भनेजस्तै बिहान निद्रा खुलिसकेपछि बेडमै दुई कप चिया वा कफी खान्छु । जस्तोसुकै व्यस्तता भए पनि उठिसकेपछि एकैपटक दुई कप चिया वा कफी खानैपर्ने बानी छ ।

आधा घन्टा बाथरुममा बिताउँछु
चिया–कफी खाइसकेपछि बेडबाट उठ्छु । त्यसपछि नुहाइधुवाइका लागि बाथरुम पस्छु । बाथरुममा दाँत सफा गर्नेदेखि नुहाइधुवाइमा झन्डै आधा घन्टा बित्छ । बिहान उठ्नेबित्तिकै धेरैले जिम गर्ने बानी बनाएका हुन्छन्, तर मेरो यो बानी कहिल्यै छैन ।

केही समय टिभी, पत्रपत्रिका हेर्छु
बाथरुमबाट फर्किएपछि पानी पिउँछु । ब्रेकफास्ट उत्ति गर्दिनँ । बेडमै बसेर समय भएसम्म एक घन्टा, नभए आधा घन्टा पत्रपत्रिका र टिभी हेर्छु । टिभी, पत्रपत्रिकामा इन्टरटेनमेन्ट समाचारहरू अलि धेरै हेर्छु ।

नजिकका साथीभाइलाई फोन डुलाउँछु
पत्रपत्रिका र टिभी हेरिसकेपछि सधैँ अपडेटमा रहने साथीभाइहरूलाई फोन गरेर हालखबर बुझेको हुन्छु । अघिल्लो दिनको व्यस्तताले फोन गर्न नपाएका साथीहरूलाई पनि यही समय कल गरेको हुन्छु । उनीहरूसँग हालखबर सोध्छु ।

आधा घन्टा फेसबुकमा भुल्छु
आजभोलि सामाजिक सञ्जाल फेसबुक पनि धेरैको खबर पाउने सहज माध्यम बनेको छ । म आधा घन्टादेखि पौने घन्टासम्म फेसबुक चलाउँछु । फेसबुकमा धेरै साथीहरूका म्यासेजहरू पेन्डिङमा हुन्छ भने म्यासेज पठाउँछु ।

१०–१२ बजे खाना
खाजा खाने बानी नभएकाले म ११ बजेदेखि १२ बजेभित्र खाना खान्छु । खानामा ठ्याक्कै कस्तो प्रकारको भन्ने हुँदैन । त्यस्तो भव्य मेनु हुँदैन । प्रायजसो नेपाली दाल–भात–तरकारीसँग थोरै मासु हुनुपर्छ ।

दिनभर भेटघाट र अफिसमा व्यस्त
पछिल्लो समय चलचित्र ‘कृ’को छायांकनमा व्यस्त भएकाले सुटिङ स्पटतिरै हुन्छु । अथवा, चलचत्रिको कामका लागि हिँडिरहेको हुन्छु । अरू दिन प्रायः अन्तर्वार्ता, भेटघाटमै समय बितेको हुन्छ । भेटघाटमा जानैपर्ने भए मात्र जान्छु, रमाइलोका लागि होइन । महत्वपूर्ण भेटघाटबाहेक अरू समय अफिसमा बित्छ । नयाँ फिल्मको स्क्रिप्ट पढ्ने, आजभोलि फिल्म बनाउन लागेकाले कसरी राम्रो चलचत्रि बनाउने भन्नेमै समय बितिरहेको हुन्छ । साँच्चिकै भन्दा मेरो चौबीसै घन्टा फिल्मसम्बन्धी गतिविधिमै बित्ने गर्छ ।

६–७ बजे घर फर्किन्छु
दिनभरि कामको व्यस्तताले साँझपख थाकिएको हुन्छ । सरासर घर पुग्छु । अनि हातमुख धुन्छु र चिया–कफी खान्छु । यो समयमा बिहानजस्तो दुई कप कफी–चिया नभए पनि हुन्छ । भयो भने झनै राम्रो भयो ।

टिभी÷फेसबुकमा ९ बजेसम्म भुल्छु
साँझ थाके पनि लगभग ९ बजेसम्म टिभीमा विभिन्न समाचारहरू, मनोरञ्जनात्मक कार्यक्रम हेरेर बित्छ । केही समय फेसबुक चलाउँछु ।

१०–११ बजे डिनर गर्छु
साँझको खानामा उत्तिसारो ध्यान दिन्नँ । आमनेपालीले जस्तो मज्जाले दालभात टन्न मुछेर खानु पर्दैन । भातमा जोड पनि छैन । प्रायः नाइट पनि सुटिङमै व्यस्त हुने हुँदा सुत्ने टाइमटेबल एकैनासको हुँदैन ।

१२ बजेतिर सुत्छु
खाना खाइसकेपछि दिनभरिका कामका बारेमा सोच्छु । केही महत्वपूर्ण काम भए गर्छु । मलाई लाग्छ, जीवन एउटै शैलीमा कन्टिन्यु जाँदैन । अध्यायअनुसार फरक एक्टिभिटी भइरहेको हुन्छ । एउटा अध्याय थियो, धमाधम फिल्म खेलेँ । कसरी फिल्ममा राम्रोसँग अभिनय गर्ने भन्ने सोचेर दिन बित्थे । अहिले अर्कै अध्यायमा छु, त्यहीअनुसारको जीवनशैली जिइरहेको छु । आजभोलि कसरी राम्रा फिल्म दर्शकलाई दिने भन्ने सोचेरै समय बितेको हुन्छ । लगभग १२ बजेसम्म सुतिसकेको हुन्छु । फिल्मको छायांकन भयो भने कतिवेला सुतिन्छ, पत्तो हुँदैन ।

प्रस्तुति :रामजी ज्ञवाली , नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप