केन्द्रीय संस्करण

सिङ्गापुरले नेपाललाई जितका लागि ८२ रनको लक्ष्य दियो

person access_timeअसोज २६, २०७५ chat_bubble_outline0

काठमाडौँ– आइसिसी विश्व टी–२० एशिया छनोट समूह ‘बी’ अन्तर्गत छनोट चरणको अन्तिम खेलमा सिङ्गापुरले नेपाललाई जितका लागि ८२ रनको लक्ष्य दिएको छ । 

मलेसियाको राजधानी क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सिङ्गापुरले १७ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ८१ रनको योगफल बनायो । सिङ्गापुरका लागि सुरेन्द्रन चन्द्रमोहनले सर्वाधिक २५ रनको योगदान दिए । ३२ बल खेल्दै उनले ३ चौका प्रहार गरे । त्यसैगरी मनप्रीत सिङ र सिद्वान्तले समान १०/१० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन् । 

बलिङतर्फ नेपालका सन्दीप लामिछाने एक्लैले ४ विकेट लिए । त्यस्तै सोमपाल कामी र करण केसीले २/२ विकेट झारे भने ललित राजबंशी र वसन्त रेग्मीले १/१ विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ । एशिया छनोट समूह ‘बी’ बाट दोस्रो चरणको छनोटमा पुगिसकेका नेपाल र सिङ्गापुरका लागि आजको प्रतिस्पर्धा उपाधि रक्षाका लागि हुँदैछ । 

यस खेलको विजेताले प्रतियोगिताको उपाधि रक्षा गर्नेछ । नेपालको लक्ष्य पनि सिङ्गापुरविरुद्धको खेल जित्दै उपाधि रक्षा गर्ने हो । यसअघि खेलेका पाँच खेलमा नेपाल अपराजित टोली हो । प्रतियोगिताको पहिलो खेलमा नेपालले असोज १७ मा म्यान्मालाई ८ विकेटले पराजित गरेको थियो ।

त्यस्तै नेपालले दोस्रो खेल २० गते मलेसिया, २१ गते थाइल्याण्ड, २३ गते भूटान तथा २४ गते चीनलाई पराजित गरेको थियो । यसअघिका खेलको पाँच खेलमा सिङ्गापुर पनि अपराजित टोली हो । नेपाल र सिङ्गापुरले समान पाँच खेलबाट १०/१० अङ्क जोडेका छन् । रनरेटका आधारमा नेपाल अङ्क तालिकाको शीर्ष स्थानमा छ । 

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ