बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बेनीमा एक महिना लामो ‘बर्खेनाच’ सुरु

शनिबार, ०७ साउन २०७४, १२ : ३८
शनिबार, ०७ साउन २०७४

म्याग्दी - म्याग्दी सदरमुकाम बेनीमा परम्परागत रुपमा देखाउँदै आएको ‘बर्खेनाच’ देखाउन शुरु गरिएको छ । 

नेवार समुदायको साँस्कृतिक पहिचानको रुपमा रहेको बर्खेनाच घण्टाकर्ण चर्तुदर्शीदेखि हरितालीका तीजको दिनसम्म विभिन्न नाच देखाएर मनाउने गरिन्छ । साउन ६ गते देखि शुरु भएको बर्खेनाच अन्तर्गत भदौ ८ गतेसम्म विभिन्न नाच देखाउने तयारी भएको नेपाल भाषा मंकाः खलः अन्तर्गत रहेको ल्यामपुचःका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो । 

सो बर्खेनाच अन्तर्गत लाखेनाच, घोडानाच, नागानागीनी नाच, श्रीकृष्ण र सथयात्रासहित विविध नाच देखाइने ल्यामपुचका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । 

बर्खेनाच अन्तर्गत जनैपूणिमाको दिन र भोलिपल्ट वर्षभरीमा दिवंगत भएका व्यक्तिको घरबाट उनीहरुको सम्झनामा सापरु अर्थात नागानागीनी नाच निकाल्ने चलनसमेत रहेको छ । बेनी बजारमा बस्ती बसेदेखि नै नेवार समुदायको सक्रियतामा बर्खेनाच देखाउँदै आएको पाइन्छ । 

ऐतिहासिक महत्व बोकेको बर्खेनाचमा पछिल्लो समय बेनीका युवाले सक्रियतापूर्वक सहभागिता जनाउने गरेका छन् । केही समय अगाडि बर्खेनाचको लागि युवा कलाकारलाई तालीमसमेत दिइएको थियो । 

शुक्रबार घण्टाकर्ण पर्वको असवरमा बेनीस्थित संगम चोकमा समाजमा दुःख दिनेपात्रको रुपमा चित्रित घण्टाकर्णको आकृति बनाएर बजार परिक्रमा पश्चात म्याग्दी र कालीगण्डकी नदीको दोबानमा लगेर विसर्जन गरिएको थियो । 

यसै घण्टाकर्ण पर्वको दिनदेखि सुरु हुने बर्खेनाचमा परापूर्वकालमा समाजमा दुःख दिएको र विकृित फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति वियोगमा गरेको चरित्र प्रदर्शनलाई बर्खेनाचमा देखाउने गरिन्छ । 

बर्खेनाच अन्तर्गत तीजको दिनमा दानवीयस्वरुपको लाखेलाई भगवान श्रीकृष्णले बध गरेपछि असत्यमाथि सत्यको विजयी हुने सन्देशसहित यो नाच सकिने प्रचलन रहेको नेपाल भाषा मंका खलःका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप