बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

देशका सबै गाउँ, नगरपालिका र प्रदेशमा रङ्गशाला बनाइने

शुक्रबार, २६ असोज २०७५, १४ : १६
शुक्रबार, २६ असोज २०७५

भक्तपुर– युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले सरकार देशको गाउँ/गाउँमा रङ्गशाला निर्माणको तयारीमा लागेको बताएका छन् । 

नेपाल खेलकूद महासङ्घ भक्तपुरले आज मध्यपुरथिमिको निकोसेरामा आयोजना गरेको प्रथम निकोसेरा जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिताको उद्घाटन कार्यक्रममा उनले खेलकूदको विकासमा सरकार लागिरहेको बताएका हुन् ।

मन्त्री विश्वकर्माले भने, ‘सरकार गाउँ/गाउँमा रङ्गशाला निर्माणको तयारीमा जुटेको छ, देशका सबै गाउँपालिका र नगरपालिकामा खेलकूद रङ्गशाला र सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला बनाइनेछ ।’ 

भक्तपुरमा अन्तर्राट्रियस्तरको रङ्गशाला निर्माणका लागि सरकारले काम अगाडि बढाएको बताउँदै उनले विवाद निम्त्याएर यो अवसरलाई भक्तपुरका बासिन्दाले गुमाउन नहुने बताए ।

मन्त्री विश्वकर्माले खेलकूदमा लागेर अब खेलाडिले पछुताउनुपर्ने दिन गएको दाबी गर्दै भने, ‘वर्तमान सरकारले स्वर्णपदक विजेता खेलाडीलाई मासिक रु पाँच हजार र नेपालको ओलम्पियन खेलाडीलाई मासिक रु तीन हजारका दरले जीवनभर सम्मान भत्ता उपलब्ध गराएर वितरण गर्न थालिसकेको छ ।’ 

सरकारले समृद्ध नेपाल र सुखी नेपाली अभियान शुरु गरेको बताउँदै उनले खेलको विकासले मात्र त्यो सम्भव भएकाले सरकारले खेलकूदका लागि चाहिने आवश्यक वातावरण बनाउने बताए । 

सरकारले खेलाडीको स्वास्थ्य एवं जीवन बीमा गर्ने प्रबन्ध सरकारले गरिसकेको मन्त्री विश्वकर्माको भनाइ थियो । नेकपाका भक्तपुर अध्यक्ष बचन देउजाले खेलकूदको विकासले नै देशको विकास हुन्छ भन्दै खेलकूद र खेलाडीको विकासमा सरकार लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा जिल्ला खेलकूद विकास समितिका उपाध्यक्ष श्यामसुन्दर बस्नेत, महासङ्घ भक्तपुरका उपाध्यक्ष कविराम थापा, निकोसेरा डोजाङका अध्यक्ष महेश प्रजापतिलगायतले जिल्लामा खेलकूदमा युवा र बालबालिकाको आकर्षण बढेको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप