शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ कलाकारको दशैं योजना

शुक्रबार, २६ असोज २०७५, १३ : ५२
शुक्रबार, २६ असोज २०७५

काठमाडौँ –हिन्दू नेपालीको पर्व दशैं हामी नेपालीको घरआँगनमा भित्रिसकेको छ ।

वर्षभरी एक्सन कटमा रमाउने कलाकारलाई पनि यतिबेला दशैंको माहोलले छोइसकेको छ । दशैंको किनमेलदेखि गाउँको यात्रासम्मको हतारो सबैमा देख्न सकिन्छ ।

केही कलाकार यो वर्ष फूर्सद निकालेर आफन्तसँग दशैं मनाउने कसरतमा छन् भने केही सांगीतिक कार्यक्रमको व्यस्तताले दशैं मनाउन नपाउने बताउँछन् । कतिपय कलाकार यसपटको दशैं आफ्ना लागि विषेश हुने सुनाउँछन् । 

कतिपय कलाकारले दशैंको विशेषयोजना समेत बनाएका छन्, भने केही दशै हल्काफुल्काकै बिदा गर्ने मूडमा देखिएका छन् । कलाकारको दशैं योजना उनीहरूकै शब्दमाः

निखिल उप्रेती (अभिनेता)
दशैंको त्यस्तो केही योजना बनाएको छैन । दशैं मांसहारीका लागि विषेश होला । आफू त साकाहारी परियो । अहिले नयाँ चलचित्रको होमवर्कमा गरिहेको छु । दशैं मनाउँछु । तर पेटमा अहिले समस्या देखिएको छ । त्यसैले घरमै बस्छु । परिवारसँग मनाउँछु । पुख्यौली घर सर्लाहीमा आमाबुबा हुनुहन्छ । टीका थाप्न त्यहाँ जाने योजना छ । स्वस्थ्यले साथ दिए जान्छु ।

कोमल वली (गायिका तथा राष्ट्रियसभा सांसद)
केही दिन अगाडि गृह जिल्ला दाङ आएकी छु । यो पटकको दशैं दाङमै मनाउने योजना छ । दाङमा रामलीलाको आयोजना पनि गरिएको छ । त्यसको उद्घाटन मैले गर्दैछु । बुबाआमा काठमाडौं भएकोले टीकाको दिन टीका थाप्न काठमाडौं फर्कन्छु । पुरानो साथीभाई भेट्ने, सुखदुःख शेयर गर्ने, गाउँका समस्या बुझ्ने लगायत कार्य दशैं बिदामै गर्दैछु । पुराना यादहरु यसपालीको दशैंमा ताजा हुनेछन् । म माननीय भएपछि नभेटेको साथीहरुलाई भेट्ने र उनीहरुसँग भलाकुसारी गर्ने योजना पनि छ ।

स्वस्तिमा खड्का (अभिनेत्री)
मेरो चलचित्र ‘जय भोले’ फूलपातीको दिनबाट लाग्दैछ । यसको प्रचारप्रसारमा लाग्नु पर्छ । अहिले पनि समय दिइरहेकी छु । हुन त केही दिन पहिले मेरो अभिनय रहेको अर्काे चलचित्र ‘छक्का पन्जा ३’ लागेको थियो । यसको प्रचारमा खासै समय दिनु परेको छैन । पहिला पहिला जस्तो दशैंमा नयाँ पहिरन लगाउनु पर्ने भन्ने पनि लाग्दैन । दशैंमा भेटेसम्म पिङ खेल्छु । तास पनि खेल्न मनपर्छ । तास बाहिरभन्दा पनि घरको आफन्तसँग खेल्दा रमाइलो लाग्छ । आफूभन्दा ठूलासँग टीका थाप्ने आशीर्वाद लिने यस्तै यस्तै हो ।

रमेश उप्रेती (अभिनेता)
नयाँ चलचित्रको काम थालेको छैन, त्यसैले फूर्सदै छ । तैपनि दशैंको लागि भनेर त्यस्तो केही योजना बनाएको छैन । दशैं मनपर्ने चाड हो । साथीभाई आफन्त भेट्ने, परिवारसँग रमाइलो गर्ने यस्तै हो । आफूभन्दा ठूलासँग टीका थाप्ने आफू भन्दा सानोलाई टीका लगाउने ।

स्वेता खड्का (अभिनेत्री)
दशै परिवारसँग मनाउने हो । दुई वर्षपछि मैले गतवर्ष दशैं मनाएको थिएँ । यो समाचार मिडियामा पनि छाएको थियो । दशैं मलाई एकदमै मनपर्ने चाड हो । मेरा लागि दशैंको पहिरन डिजाइनरले नै तयार गरिदिएका छन् । परिवारका लागि सपिङ गर्न बाँकी छ । सानादेखि ठूला सदस्यसम्मका लागि सपिङ गर्दिन्छु । दशैंमा परिवासँग रमाइलो गर्ने, तास खेल्ने, आफन्तको घरमा गएर आफूभन्दा ठूलासँग टीका थाप्दै आशिर्वाद लिने योजना छ । साथीभाइले पनि आफ्नो घरमा बोलाउँछन् भ्याएसम्म पुग्छु ।

खगेन्द्र लामिछाने (अभिनेता)
‘मासुभात’ चलचित्रको सुटिङ चलिरहेको छ । फूलपातीबाट मेरो अभिनय रहेको चलचित्र ‘जय भोले’ लाग्दैछ । अहिले ‘जय भोले’को प्रचार प्रसारको दौडधुप छ । दशैंको केहीदिन दर्शकसँग हलमा हुन्छु । त्यसपछि गाउँ स्याङ्जा जान्छु । चलचित्रको कामले धेरै भयो घरजान नपाएको, केही दिन भएपनि घरमा गएर आफन्तसँग बसेर दशैं मनाऔं भन्ने विचार छ । आफन्तसँग टीका र आशिर्वाद थापेर फर्कन्छु ।

नवीन पौडेल (गायक)
हिन्दूहरुको महान चार्ड विजयादशमी उल्लासमय चाडको रुपमा मैले लिँदै आएको छु । परिवारका सदस्य तथा आफन्त एकै स्थानमा भेटघाट गरेर रमाइलो गर्नुनै यसको विशेष महत्व हो । कार्यक्रमको व्यस्तताले सपिङ पनि धेरै गर्न भ्याएको छैन । नवमीको दिनसम्म सांगीतिक कार्यक्रममा व्यस्त रहने भएकाले साथीभाई आफन्तलाई धेरै समय दिन भ्याउँदिन । यो कारणले अलि खल्लो महसुस भएको छ । भ्याए र मिलेसम्म सबैसँग रमाइलो गर्ने, मान्यजनको हातबाट टीका लगाउने योजना छ । 
 

सलोन बस्नेत (अभिनेता)
चलचित्र ‘ए मेरो हजुर २’ को सुटिङ चलिरहेको छ । त्यसमै व्यस्त छु । दशैंका लागि सुटिङ रोकिन्छ होला । यो दशैंमा परिवारसँग सीमरा घुम्न जाने केही पहिले योजना थियो । सुटिङले गर्दा मिलेन । दशैं परिवारसँग, साथीभाइसँग गाउघरमै मनाउँछु ।
 पिङ खेल्ने, घुम्ने, आफूभन्दा ठूलासँग टीका थापेर आशिर्वाद लिने यस्तैयस्तै भनौं न । सुटिङका लागि बेलाबेलामा सपिङ गरिरहेको छु । त्यसैले दशैका लागि भनेर केही सपिङ गर्दिनँ ।

भावना गुरुङ (अभिनेत्री)
दशैंमा धेरै थरिथरिका, मिठोमिठो परिकार बनाएर साथीभाइ, आफन्तलाई पार्टी दिने विचार छ । दशैं मेरो मनपर्ने चाड पनि हो । स्याम्पेन फोरेन, धेरैथरि मासुको परिकार बनाएन भने मलाई दशैं आएको जस्तो लाग्दैन । दशैमा बच्चादेखि नै नयाँ कपडा लगाउने चलन छ । त्यसको फलोपनि गर्ने गरेकी छु । तास पनि खेल्छु । तर, तासमा जितेको रेकर्ड छैन । जहिले पनि हार्ने गरेकी छु । पिङ कहाँकहाँ हालेका छ । खोज्दै गएर खेल्छु । मिल्यो भने साथीभाई लिएर ‘लङ ड्राइभद्घ जाने विचार छ । 

राज घिमिरे (अभिनेता)
दशैंमा सबैजना आफ्ना लागि योजना बनाउँछन् । मेरो भने जहिले पनि आफैं खाने, आफैं रमाउने भन्दा पनि समाज सेवातिर रुचि रहँदै आएको छ । ललितपुरको हाँडीगाउँदेखि गोदावरीसम्म आउँने बाटो विभिन्न ठाउँमा प्वाल परेको छ । त्यो बाटोमा दैनिक दुर्घटना हुने गरेको छ । त्यसैले यो पटक म दशैं मनाउने सबै खर्च त्यो बाटोमा लगाउन चाहान्छु । के कति सक्छु । बाटोको खाल्टोमा ग्राबेल गरेर मर्मत गर्ने योजना रहेको छ ।

साहिमा श्रेष्ठ (गायिका)
दशैंमा थुप्रै कार्यक्रमहरु छन् । त्यसैले धेरै बिजी हुनेछु । केही अगाडि देखिको नियमित कार्यक्रमले गर्दा यो पटक दशैंका लागि केही सपिङ गर्न भ्याएकी छैन । परिवार आफन्तसँगसँगै बसेर दशैं रमाइलो गर्ने इच्छा हुँदा पनि समय मिलाउन नसकेको अवस्था छ । यो वर्ष हाम्रो टीका लगाउन मिल्दैन । त्यसैले पनि खास योजना छैन ।

नवल खड्का (निर्माता/नायक)
दशैं निकै रमाइलो गर्दै परिवारसँग मनाउने योजना छ । साथीभाइसँग पनि रमाइलो गर्ने योजना छ । दशैं मेरो मनपर्ने चाड हो । आफूभन्दा ठूलासँग आशिर्वाद लिदै टीका लगाउने चलन दशैको विशेष लाग्छ । यो दशैंमा आमाबुबा आफन्त मान्यजनको हातबाट टीका थाप्छु । टीकाको भोलिपल्ट खोटाङस्थित  ससुराली जाने योजना छ । 

मञ्जु ढकाल (फेसन डिजाइनर)
सधैंको कामबाट केही दिन भएपनि फूर्सद मिल्छ दशैंमा । दशैं मेरो मनपर्ने चाड पनि हो । बच्चाबच्चीसँग घुम्ने र रमाइलो गर्ने योजना छ । पहिला पहिला दशैंमा नयाँ लुगा लगाउने मिठो खाने भन्ने कुरो हुन्थ्यो । तर अहिले सधैं मिठोखाने, नयाँ लगाउने गरिन्छ ।
 मन्दिर गएर शक्तिपिठहरुको दर्शन गर्ने, आफन्त, ठूलाबडा, मान्यजनको हातबाट टीका थाप्ने आदि नै हो । व्यस्त समयमा आफन्त भेटघाटको अवसर भनेको दशैंमा मिल्ने गर्छ ।

गोपालकाजी कायस्थ (निर्माता तथा बितरक)
दशैंमा मेरो पहिलो प्रथामिकता भनेको दर्शकका लागि हुने गरेको छ । त्यसैले दशैंमा लागेको चलचित्र दर्शकले राम्रोसँग हेर्न पाउने ब्यवस्थापनका लागि म लाग्नेछु । त्यसपछि परिवार आफन्तसँग रमाइलो गरेर दशैं मनाउने योजना छ । आफूभन्दा ठूलासँग टीका लगाएर आशिर्वाद थाप्ने चलन दशैंको विशेष लाग्छ ।

राज क्षितिज (अभिनेता)
मेरो पुख्यौली घर रौतहट हो । उतै गएर दशैं मनाउने विचार छ । दशैं मेरो मनपर्ने चाड मध्यको एक हो । यो चाडले साथीभाई आफन्तसँग पनि नजिक गराउने काम गर्दछ । दशैंका लागि बुबालाई दौरासुरुवाल र कोट किनेको छु, भने आमाको लागि सारीचोलो किनिदिएको छु । दशैमा साथीभाई आफन्तसँग निकै रमाइलो गर्ने योजना छ । 

कर्णराज गिरी (गायक) 
दशैंका केही दिन साङ्गीतिक कार्यक्रममा व्यस्त रहन्छु । त्यसपछि परिवारसँग मनाउने योजना छ । दाइ, दिदीबहिनी र आफन्तसँग धेरै समय भयो भेट नभएको, दशैंले त्यो संयोग जुर्ने भयो । आफन्तसँग मिलेर विशेष बनाउँछु । काठमाडाँैबाट गाउँ जाँदैछु । त्यसैले केही सपिङ त आफन्तका लागि गर्नै पर्यो । सबैका लागि कपडा किनेको छु । जुवातास खेल्ने मेरो बानी छैन । पिङ भने खेल्छु । 

सीताराम पोखरेल (गायक) 
बुबाआमा बिराटनगरमा हुनुहन्छ । त्यसैले दशैंमा म पनि विराटनगर जान्छु । विराटनगरमा दुर्गा मन्दिर छ त्यहाँ दर्शन गर्ने र पुराना साथीभाई भेट्ने योजना छ । झोरहाट महोत्सव पनि छ । त्यसमा पनि सहभागी हुँदैछु ।  दशैंमा आफूभन्दा ठूलासँग टीका थाप्ने, विभिन्न खेलमा रमाउने त सामान्य नै हो । 

खुश्बु खड्का (अभिनेत्री) 
परम्परादेखि चल्दै आएको दशैं एकदमै रमाइलो लाग्छ । दशैंको आफन्तसँग टीका थाप्ने चलन राम्रो लाग्छ । आफ्ना लागि केही सपिङ गर्ने विचार छ । यो दशैं परिवारसँग नै मनाउने योजना छ । घरमा टीका लगाएपछि आफन्तको घरमा टीका थाप्न जान्छु । काठमाडौँ रहेका साथीहरूसँग पनि दशैंको दिनमा भेटेर रमाइलो गर्ने सोच छ । 

चिरन्जीवि भण्डारी (गायक तथा संगीतकार)
कार्यक्रमले भ्याइ नभ्याइ छ । धेरै कार्यक्रममा सहभागी हुने योजना छ । त्यसपछि घर गएर साथीभाई आफन्तसँग रमाइलो गर्दै दशैं मनाउने विचार छ । आफूभन्दा गन्यमान्यसँग टीका लगाउने, आशिर्वाद लिने योजना छ । भर्खर थाइल्याण्डबाट पब्लिक च्वाइ अवार्ड जितेर आएकी छु । साथीभाइसँग उक्त खुसी पनि शेयर गर्नुछ । 
  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप