मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्रीलाई सिंहदरवारमै दुई बोतल रक्सी उपहार !

शुक्रबार, २६ असोज २०७५, १२ : ३१
शुक्रबार, २६ असोज २०७५

काठमाडौं– ‘पावर ब्रोकर’ देखि कुटनीतिक नियोगसम्मले दशैंमा ‘हाइप्रोफाइल’ व्यक्तिलाई उपहार टक्र्याउँछन् । तर, उपहार के हुन्छ र कहाँ दिइन्छ भन्ने प्रायः गोप्य नै हुन्छ । तर, यसपटक अनौठो भएको छ । 

केपी ओली सरकारका मन्त्रीलाई सिंहदरवारमै रक्सी उपहार दिइएको छ । तपाईंलाई यो समाचार अनौठो लाग्न सक्छ । तर, अनौठो नमान्नुस्, मन्त्रीहरुले कसरी रक्सी उपहार पाए, हामी जस्ताको त्यस्तै बताउँदैछौँ । 

केहि दिन अगाडि चिनियाँ र भारतीय दूतावासका निलो प्लेटका गाडी मन्त्रीलाई उपहार दिने रक्सीका बोतल बोकेर सिंहदरवार पसे । तर, ती गाडी अलग–अलग समयमा सिंहदरबार पसेका थिए । 

दुवै दूतावासका कर्मचारीले मन्त्रीहरुको सचिवालय–सचिवालय पुगेर दशैँको शुभकामना सहितको स्टीकर टाँसेको रक्सी उपहार दिएर फर्केका छन् । 

‘हामीलाई चिनियाँ र भारतीय दूतावासको तर्फबाट रक्सीका उपहार आएका थिए । पछि बुझ्दै जाँदा सबै मन्त्रीकहाँ पुगेका रहेछन्,’ एक मन्त्रीका नीजि सचिवले रातोपाटीसँग भने, ‘दिउँसै सिंहदरवारमा रक्सीका बोतल उपहार ल्याएर के सन्देश दिन खोजेका हुन्, केही बुझिएन । कम्तीमा क्वार्टरमा पुर्याएको भए पनि गोपनियता त बच्थ्यो । मन्त्रीज्यूको नीजि सचिवालयको टेबलमा मन्त्रीज्यूको उपहार भनेर छाडेर हिँडे ।’ 

हामीले ओली सरकारका ६ मन्त्रीका सचिवालयमा सम्पर्क गर्दा सबैले रक्सी उपहार आएको पुष्टी गरे । र, उनीहरुले आफ्नो, मन्त्री र मन्त्रालयको नाम भने उल्लेख नगर्न आग्रह गरे । 

चीनको उपहार ‘ग्रिन लेवल’, भारतको ‘चिवास’
‘ह्याप्पी दशै–२०७५’ को स्टीकर टाँसेर मन्त्रीकहाँ रक्सी उपहार पुगेको थियो । यस्तो उपहार पाउने अर्का एक मन्त्रीका नीजि सचिवले चिनियाँ दूतावासले ‘ग्रिन लेवल’ र भारतीय दूतावासले ‘चिवास टुवेल इयर्स’ रक्सीको बोतल पठाएको बताए । 

अपमान भएको मन्त्रीको भनाई
भारतीय दूतावासले सस्तो रक्सी पठाएर मन्त्रीहरुको अपमान गरेको मन्त्रीहरुबीच छलफल समेत भएको छ । ‘अनौपचारिक कुराकानीमा मन्त्रीहरुवीच भारतले रक्सीमा पनि अपमान गरेको छलफल नै भयो ।’ अर्को मन्त्रीका नीजि सचिवले सुनाए, ‘भारतले सस्तो रक्सी दिएको मन्त्रीज्यूहरुलाई मन परेको छैन ।’

कति मुल्य छ उपहार आएको रक्सीको ? 
चिनियाँ दुतावासबाट मन्त्रीलाई दिएको ‘ग्रिन लेबल’ एक लिटरवाला बोतल रक्सीको मुल्य आठ हजार छ । त्यसै गरी भारतीय दुतावासले दिएको ‘‘चिवास टुवेल इयर्स’ रक्सीको एक बोतलको मूल्य पनि झन्डै उस्तै पर्न आउँछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप