शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पुरानो सिंहदरबार अब भत्काउन नपर्ने

शुक्रबार, २६ असोज २०७५, ०९ : २८
शुक्रबार, २६ असोज २०७५

काठमाडौँ । सिंहदरबारको पश्चिम मोहोडातर्फको मुख्य भाग भत्काउनु नपर्ने भएको छ । भवनमा भूकम्पको असरबारे अध्ययन गरेको विज्ञ टोलीले सिंहदरबारलाई पहिलेकै अवस्थामा फर्काउन सकिने प्रतिवेदन बुझाएको प्राधिकरणले जनाएको छ । भूकम्पपछि पर्याप्त संरक्षण नगर्दा पानी चुहिएर भवनका केही क्षति पुगेको, भवनको दक्षिण कुनामा पानी चुहिँदा चर्किएको र २ वटा कोठा खसेको छ । भवनको ६८ प्रतिशत काठ राम्रो रहेको र कुहिएको अवस्थामा कुनै काठ नरहेको अध्ययनबाट थाहा भएको प्राधिकरणका सहसचिव राजुमान मानन्धरले रातोपाटीलाई जानकारी दिए ।

भूकम्पले भवन चर्किएर बाँङ्गो नभएको, भवनमा घण्टी झुन्याउँदा सीधा हुने ‘प्लम्ब कन्डिसन’मा रहेको उनले बताए । उनले भने– ‘भवनमा धरै क्षति नपुगेको अध्ययनकर्ता परामर्शदाता कम्पनीले प्रतिवेदन बुझाएको छ । सिंहदरबारलाई पहिलेकै अवस्थामा ल्याउन सकिने अध्ययनले देखाएको छ ।’ 

प्राधिकरणले पुरानो भवनको अवस्था थाहा पाउनका लागि ‘इन्फ्रास्ट्रक्चर इन्जिनियरिङ रिसर्च एन्ड कन्सल्ट्यान्ट प्रालि’सँग १ करोड ७० लाखमा सम्झौता गरेको थियो । सो कम्पनीले १० दिन पहिले आफ्नो प्रतिवेदन प्राधिकरणलाई बुझाएको हो । गएको जेठदेखि काम थालेको सो कम्पनीलाई प्रतिवेदन बुझाउन भदौसम्मको समय दिइएको थियो । ४ महिना लगाएर गरेको अध्ययनले केही मर्मत गरेर पहिलेको अवस्थामा सिंहदरबारलाई फर्काउन सकिने निष्कर्ष निकालेको हो । 

सिंहदरबारलाई कसरी पहिलेकै अवस्थामा फर्काउने भन्नेबारेमा डिजाइनको काम भइरहेको छ । केके गर्ने, कुनकुन ठाउँमा स्टिल प्रयोग गर्ने, कसरी स्तरोन्नती गर्ने भन्ने बारेमा प्रक्रिया अघि बढेको उनले बताए । पुरानो सिंहदरबारमा सिमेन्ट पनि प्रयोग भएको, फलामको बिम पनि प्रयोग भएकाले मर्मतका क्रममा यी सामग्री प्रयोग गर्न अवरोध नहुने भएको सहसचिव मानन्धरले जानकारी दिए ।

सिंहदरबारलाई पहिलेकै अवस्थामा फर्काउने बारेमा पुरातत्वविद्, सम्पदाप्रेमीसँग पनि छलफल गरेको छ । सिंहदरबारको मर्मत गर्दा त्यहाँ भित्र रहेका पुरातात्विक सामग्रीको स्वरूपमा खलल नपुर्याउन उनीहरूले सुझाव दिएका छन् । सिंहदरबारभित्र जरायो, भेडाको टाउको, चर्चित पेन्टरहरूको समूहले गरेको पेन्टिङ, फ्रान्सबाट ल्याइएको झुमर, बेलायतको बकिम्घम प्यालेसमा रहेको घडीको अर्को जोडी, एसियाकै ठूलो कार्पेट लगायतका पुरातात्विक सामग्री रहेका छन् । यी सामग्री अहिले संरक्षणका लागि गृह वा रक्षा मन्त्रालयमा रहेको सहसचिव मानन्धरले बताए । सिंहदरबारलाई जोगाउनका लागि छानामा अहिले प्लास्टिकले छोपिएको छ । डिजाइनको काम सकेपछि सिंहदरबारलाई पहिलेकै अवस्थामा फर्काउने काम अघि बढ्ने उनले बताए । सिंहदरबारमा प्लास्टिक ओडाउन, फलामको टेको लगाउन तथा अध्ययनका नाममा ३ करोड बढी खर्च भइसकेको छ । 

यो पनि हेर्नुहोस :

सिंहदरबारको मुख्य भवनमा फलाम ठड्याउन मात्रै डेढ करोड खर्च : ‘रेट्रोफिटिङ’को टुङ्गो छैन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप