केन्द्रीय संस्करण

ओली सरकारको प्राज्ञिक बेइमानी ?

person access_timeअसोज २५, २०७५ chat_bubble_outline0

आश लाग्दो मान्छे जेठाजु पर्यो भनेझैँ पार्टी अध्यक्ष तथा प्रधानमन्त्री के.पी. शर्मा ओलीबाट  अब त देश र जनताका लागि अवश्य केही हुन्छ भन्ने आशा थियो । अरूले झैँ यस लेखकले धेरै आशा गरेको थियो । उहाँका कैयौँ सकारात्मक पक्षहरूको लेख मार्फत् उल्लेख गरेको थियो । तर एकाध घटनाबाट निराशा उत्पन्न हुन  थालेको छ । 

पटक पटक लिखित सुझाव दिँदादिँदै पनि प्रज्ञा प्रतिष्ठानमा अरू योग्य मात्र होइन योग्यतम व्यक्तिहरू हुँदाहुँदै पनि उप्रेतीलाई कुलपतिमा पुनः अर्को कार्यकालका लागि नियुक्त गरेपछि सरकारको  प्राज्ञिक इमानप्रति गम्भीर आशङ्का भयो  ।

बरु सङ्गीत तथा नाट्य प्रतिष्ठानका निवर्तमान कुलपति गैरप्रगतिशील ज्येष्ठ सर्जक सरुभक्तले आफू दोहोर्याएर  कुलपति बन्नु भन्दा सिर्जना साधानामा निमग्न  हुने उद्घोष गरे । तर आफूलाई प्रगतिशील भन्नेहरू सिर्जनामा भन्दा सोहोर्नमा मग्न देखिन्छन् । 

एक त प्रगतिशील सर्जकहरू आफूलाई शिरदेखि तिरसम्म पार्टीको कार्यकर्ता मात्र हुन रुचाउँछन् । अर्कातिर नेताहरू पनि सर्जक, विषयगत विद्वान् र अनुसन्धाता भन्दा लौरे कार्यकर्ता भएकामा खुसी हुन्छन् । नत्र सौन्दर्यशास्त्रीय दृष्टिले यतिविधि समृद्ध प्रगतिशील लेखन यति कमजोर हुने थिएन । 

त्यसैले  जब प्राज्ञिक, बौद्धिक तथा ज्ञानको इमान राखिँदैन भने अरू इमानको बखानको अर्थ रहँदैन । प्राज्ञिक बौद्धिक इमानको सर्वोपरि भूमिका हुन्छ । जब प्रज्ञामा अज्ञ र अल्पज्ञ विराजमान हुन्छ तब प्रगतिशील देशभक्त उदात्त संस्कृतिमा धमिरा लाग्छ । 

मानवीय विवेकले नै उपयुक्त स्थानमा उपयुक्त पात्रलाई स्थापित गर्छ तर जब विवेक बाँझो हुन्छ,  तब जे पनि हुन्छ र हुँदो रहेछ ।  

नेपाल प्रज्ञा प्रतिष्ठान ऐन (०६४) को सर्वथा विपरीत हुने गरी अत्यन्त गुपचुपमा अहिले कुलपति नियुक्तिको  काम गरिएको देखिन्छ । 

प्रज्ञा प्रतिष्ठान कला, साहित्य जस्ता सांस्कृतिक उत्थान र उन्नयनको जग हो । समाजलाई गुणात्मक रूपमा फेर्ने यस्ता प्रतिष्ठानमा कला, साहित्य र संस्कृतिका संवाहक वरिष्ठ र विज्ञ व्यक्तित्वलाई विराजमान नगराउनु समाजलाई खोक्रो, बोक्रो र छोक्रो बनाउनु हो । 
गहन अध्ययन, अनुसान्धन  र अन्वेषणमा खासै ध्यान नदिएर पुस्तकका लागि पुस्तक प्रकाशन गरेर प्रज्ञा प्रतिष्ठानले फुइँ छाँटेको सुन्दा देख्नेलाई लाज भएको छ । 

प्रज्ञा  ऐनले प्राज्ञलाई नै कुनै एक विषय र विधामा गहन अनुसन्धान गरेको र यस क्षेत्रको ख्याति प्राप्त व्यक्तित्व चयन गर्ने उल्लेख गरिएको छ । त्यसमा   कुलपति  जस्ता व्यक्तित्व भनेका ख्याति प्राप्त प्राज्ञिक व्यक्तित्वका शीर्ष व्यक्तित्व हुन् तर  प्रधानमन्त्रीकै विशेष अग्रसरतामा दुईवटा निबन्ध सङ्ग्रह र  दुईवटा लेख सङ्ग्रह लेखेका भरमा उप्रेतीलाई  कुलपति चयन गरेर विशिष्ट र विज्ञ प्राज्ञिक जगत्को हुर्मत लिइयो । 

कुलपति नियुक्तिले  अब गहन अध्ययन, अनुसन्धान, खोज र कृति प्रकाशन जस्ता उदाहरणीय र उन्नत स्तरको पठनको कुनै  काम छैन भन्ने सन्देश ओली सरकारले प्रवाह गरेको छ । 

प्रधानमन्त्रीकै सरसल्लाहमा २०७५ असार २९–३१ भानु जयन्तीका अवसरमा प्राज्ञिक जगत्का शीर्ष व्यक्तित्व प्रा. राजेन्द्र सुवेदीका संयोजकत्वमा हिमवत् खण्ड कला साहित्य सम्मिलनमा अहोरात्र देशका सर्जक एकाग्र भएर लागिपररहेका थिए । उता प्रधानमन्त्री कार्यालयमा प्रज्ञा प्रतिष्ठानमा  पद, प्रतिष्ठाको गुप्त भागबन्डा चलिरहे अहिले पोल खुल्यो  । 

 अझ  भागबन्डामा निर्लिप्तहरूले हिमवत् खण्ड कला साहित्य सम्मिलनलाई भित्रभित्रै असफल बनाउन भरमग्दुर प्रयत्न गरेको पनि थाहा भयो ।

 केही ओली सन्निकट नेताले भानुलाई बाजे कवि र नेपाली भाषालाई खसेत्रो भाषा भनेर खिसीट्युरी पनि गरिरहे । 

प्रधानमन्त्री ओलीका सकारात्मक पक्षको चर्चा गर्दा यस लेखकले धेरै खत र बात सहनु पर्यो । तथापि सकार देखेर  समर्थन गरियो तर अहिले नकार देखेपछि मित्रवत् आलोचना सुरु गर्नैपर्ने बाध्यता आइपरेको छ ।

 ओली समक्ष एक भेटमा यस लेखक कसैको चाकरी चाहिँ गर्दैन भनेकै हो । केही पाउँला र खाउँला भनेर क्षुद्र आशले सत्ता र सरकारका साना वा ठूला विकृतिको समर्थन गरेको भए राणा, शाह र पञ्चायत आदि अनेक कुशासन थिए । 
बिष्टा धेरै होस् कि थोरै त्यसको विशेषता दुर्गन्ध हो । त्यसैले दुर्गन्ध कदापि सह्य हुँदैन ।

 शुक्राचार्यले १८औँ शताब्दीमा नै यदि कुनै राजाले देशको भलो  गर्दैन भने उसलाई कुकुरलाई घिसोरझैँ घिसारेर खाल्टामा पुरे हुन्छ भनेका थिए भने लोकतान्त्रिक गणतान्त्रिक कालको  एक्काइसौँ शताब्दीको यो लेखक ऐनका तमाम विधि, विधान र पद्धति मिचेर उन्नत अग्रज प्राज्ञिक जगत्लाई घोर अपमान गर्दा  ओली सरकारलाई मौन र मूक समर्थन गरेर बस्नै सकेन  ।

यस विषयमा यस लेखकलाई अहिले नै ओली सरकारको आलोचना गर्न हतार नगर्न  आएका सुझावलाई  वास्ता नगरी चरम बेथिति हुँदा मौन र मूक बस्न सकिएन । 

आखिर सम्भावित सरकारी नियुक्ति पाउँदा पनि  राम्रो र उदाहरणीय काम गर्नेहरूलाई कामको चिन्ता हुन्छ । यस्ता मान्छे  भातलाई भन्दा भविष्यलाई महत्व दिन्छन् । 

 लेखकले प्राज्ञिक तथा सर्जक समाजका पनि केही चरम अवसरवादीहरूले सत्ता र सरकारलाई समाप्त पार्ने कुलक्षण देखेर लेख्ने आँट गरिएकै हो । 

ओली सरकारले अहिले गरेको र विगत राजशाही शासन व्यवस्थामा गरेका  कुलपति नियुक्तिसित पनि तुलना गर्दा यस लेखकलाई चरम सरम भएको छ । 

भन्नलाई प्रतिभाको फूलबारी भन्ने तर प्रज्ञामा काँढालाई  मात्र फुल्ने अवसर दिने र त्यहाँ उन्युको मात्र  सदा राइँदाइँ कदापि सुहाएन ।

 सच्चा विद्वान्, लेखक र कलमजीवी कारमा मात्र अपहत्ते गर्दैन । आजीवन सत्ता, शक्ति, सुविधा र जागिरजीवी हुन अपहत्ते गरेपछि त्यो प्राज्ञ पठन संस्कृतिबाट पूरै पन्छिन्छ । 

त्यस्तालाई  सिर्जना, स्वाध्ययन, अन्वेषण र प्रकाशन जस्ता कुरा गौरवबोध किमार्थ हुँदैन  । यदि यस्तो हुन्थ्यो भने कृति नाममा दुईतीनवटा नाम मात्रका  पुस्तक मात्र छापिने थिएनन् । 

जसले अमुक पदमा  अपहत्ते गर्छ भने दालमा कालो छ भन्ने बुझे हुन्छ । एक अनलाइन पत्रिकाले प्रज्ञा प्रतिष्ठानमा करोडौँ घोटाला भएको समाचार प्रकाशित गरेकै थियो । 

प्राज्ञ भनेको प्रखर वा परिपक्व बुद्धि भएको, बुद्धिमान्, अत्यन्त सीप भएको सिपालु, दक्ष, अध्ययनद्वारा प्रशस्त ज्ञान आर्जन गरेकोव्यक्ति, विशिष्ट विद्वान्, पण्डित तथा विज्ञलाई  भनिन्छ । वास्तवमा यस्ता व्यक्तित्वहरू देशका आँखा, कान, दिल, दिमाग, भाग्य र भविष्य हुन् । तर यसैमा मोतिया बिन्दु भएपछि देश कुहिराको काग हुन्छ ।

शासक त त्यसै पनि अनेक चरम अवसरवादीहरूले घेरिएर अन्धो र लङ्गडो हुन्छ । 

  जनताको बहुदलीय जनावदले नै पनि राम्रो काम राम्रै तरिकाले सम्पन्न गर्ने सुझाव दिएको छ । यसले प्राज्ञिक स्वतन्त्रताको पक्ष पोषण गरेको हुनाले पाच्य रूपमा  यस विषयलाई खुल्ला बहसमा ल्याउन खोजेको हो । 

आलोचनात्मक चेत शून्य भएको प्रगतिशील समाजमा यो अनुशासनहीन काम नै पनि हुनसक्छ । यस्ता विषयमा  ओली सरकारले जनसांस्कृतिक महासङ्घलगायत पार्टीका भगिनी सङ्गठनको अस्तित्वलाई बेवास्ता समेत  गरेको देखिन्छ । 

वैचारिक र कला साहित्य सौन्दर्य शास्त्रीय सङ्गठनका कहिल्यै नजिक हुन र आबद्ध हुन नचाहने अराजक व्यक्तिलाई चुलामा चढाएर डाडुपुन्यु थमाएपछि चरम अवसरवादी संस्कृति मात्र पन्छिन्छ । 

सम्बन्धित सरोकार संस्थालाई पन्छाएर प्रधानमन्त्रीले प्रज्ञा लगायत संस्थामा  ठाडो  केन्द्रीयता लागू गरेको हुनाले सरकारका  काममा समर्थन नदेखिएको स्पष्ट हुन गयो । 

सरकार सञ्चालन विषयमा पनि यही खालको रबैयाको चर्चा सुन्दा यस लेखकलाई कुनै अचम्म लागेन । हुँदाहुँदा विगत वर्षको बजेटमा नै हुकुमी पारामा तीन एकेडेमीलाई एउटैमा गाभ्ने घोषणा गरियो तर त्यो अहिले अलपत्र पर्दा सरकार चाउरिएको मरिचझैँ भएको देखिन्छ । 

सच्चा प्राज्ञलाई  आफ्ना सिर्जन कर्ममा नै गौरव बोध हुन्छ र यसैमा तिनलाई भ्याईनभ्याई हुन्छ । सामान्य र सतही व्यक्ति र राजनीतिले यस्ता व्यक्तित्वलाई गन्दैन । गुणीजनले मात्र गुण, देख्छ, बुझ्छ र गुणको कदर गर्छ । नत्र आफ्नै गण र गोत्र मात्र सम्झिन्छ । 

प्राज्ञ भनेको  सरदर लेखक, कवि र सर्जकभन्दा विशिष्ट हुन्छ । विषयगत समग्र सन्दर्भ, प्रसङ्ग र प्रभावसहितको ज्ञानी ध्यानी चाहिँ प्राज्ञ हो । 

साहित्य र कलाले समाजलाई गुणात्मक रूपमा परिवर्तन गर्न सक्ने सामथ्र्यको खोज गर्नुपर्छ । त्यसैले त्यस खालको विज्ञतम कुलपति हुँदा मात्र यसमा गम्भीर चिन्ता र चासो हुन्छ । 

प्रज्ञा प्रतिष्ठानको प्रमुख भनेको मुटु हो र यो तमाम सर्जकहरूको धुकधुकी हो । यस्तो हुँदा मात्र देशैभरि सिर्जनाको धमनीमा रक्त सञ्चार हुन्छ । अनुसन्धानात्मक तथा सिर्जनात्मक चेत र चिन्तन शून्य नेतृत्वबाट रचनात्मक वातावरण किमार्थ बन्दैन । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ