शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘टिष्टुङ चिनारी’ पुस्तक बिमोचन

बिहीबार, २५ असोज २०७५, १४ : ५१
बिहीबार, २५ असोज २०७५

काठमाडौ– पत्रकार एवं लेखक रामजी बलामीको दोश्रो पुस्तक ‘टिष्टुङ चिनारी’ को बिमोचन गरिएको छ । 

प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणी पौडेल, प्रत्यायोजन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारी, प्रतिनिधी सभाका सांसद विरोध खतिवडा, थाहा नगरपालिकाका मेयर लवशेर बिष्ट, वडाध्यक्ष शशिधर सुवेदी, टिष्टुङ महोत्सव मूल समारोह समितीका संयोजक ईन्द्र बहादुर श्रेष्ठ लगायतले पुस्तक बिमोचन गरेका हुन् ।

पुस्तकमा उत्तरी मकवानपुरको थाहानगरस्थित ऐतिहासिक बस्ती टिष्टुङको गोपालवंशदेखि गणतन्त्रसम्मका विषयवस्तुहरु समावेश छन् । 

नाम हराएको ठाउँ टिष्टुङका बारेमा वास्तविक जानकारी प्राप्त गर्न पुस्तक उपयोगी हुने वक्ताहरुले बताएका थिए ।

पुस्तकमा यो ठाउँको नाम कसरी टिष्टुङ हुन पुग्यो, कसरी बज्रबाराही हुन पुग्यो र अहिले कसरी थाहा नगरपालिका भयो भन्ने कुराहरु उल्लेख छन् । त्यस्तै गरी पुस्तकमा टिष्टुङको भौगोलिक बनावट, हावापानी, बनजंगल, जिवजन्तु लगायतका विषयहरु पनि पुस्तकमा समावेश छन् । पुस्तकमा ३ वटा लिच्छविकालिन शिलालेखहरुका बारेमा विस्तृत व्यहोरा उल्लेख छ । यसका साथै  टिष्टुङका अन्य शिलापत्रहरु र कुन्छाल, टौखेल, कलाँटु, चित्लाङ लगायत ठाउँमा रहेका शिलालेख, लालमोहर र ताडपत्रहरुका बारेमा समेत पुस्तकमा पढ्न पाईन्छ । 

त्यस्तै यहाँको वस्ती विकास र अहिलेको सामाजिक संरचनालाई पनि पुस्तकमा समावेश गरिएको छ । यहाँ बसोबास गर्ने समुदाय, उनीहरुको भाषा, धर्म र संस्कृतिलाई पनि पुस्तकले प्रस्तुत गरेको छ । त्यस्तै यस क्षेत्रमा भएका साना ठूला धार्मिकस्थलहरुका बारेमा पनि पुस्तकमा उल्लेख छ । त्यस्तै पुस्तकमा यो क्षेत्रका प्रमख धार्मिकस्थल बज्रवाराही माई र तीन बर्षे बज्रवाराही जात्राका बारेमा पनि विस्तृत जानकारी समावेश छ । वाराही पिठमा गरिने प्रमुख पूजाहरु, बली फाल्ने पूजा, बाह्र बर्षे नाच लगायतका विषयवस्तु पनि पुस्तकमा समावेश छन् । टिष्टुङकोत दरवार र तलेजु मन्दिरका बारेमा पनि पुस्तकमा लेखिएको छ । 

यसका साथै पुस्तकमा यहाँको विकासक्रमलाई पनि समावेश गरिएको छ । यहाँको सडकको विकासक्रम, शिक्षाको विकासक्रम, स्वास्थ्य सेवाको विकासक्रम, कृषि तथा सिचाईको अवस्था, पर्यटकीय सम्भावना लगायतका कुराहरुलाई पनि तथ्य र मितिसहित सिलसिलेवाररुपमा प्रस्तुत गरिएको छ । त्यस्तै पुस्तकमा स्व. रुपचन्द्र बिष्टको थाहा अभियानलाई पनि समावेश गरिएको छ । त्यसैगरी यहाँ भएका बित्तीय संघसंस्था र भूकम्पले पारेको प्रभावका बारेमा पनि पुस्तकमा समावेश छन् ।

टिष्टुङलाई भित्रैदेखि चिन्न चाहनेहरुका लागि यो पुस्तक उपयोगी छ । पुस्तकमा इतिहासदेखि वर्तमानसम्म आईपूग्दा टिष्टुङमा भएका परिवर्तनहरुलाई समावेश गरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप