बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पशु चिकित्सकको सुझाव : दशैँमा कस्तो खसी किन्ने ?

बिहीबार, २५ असोज २०७५, १४ : ४१
बिहीबार, २५ असोज २०७५

नेपालीहरूको महान चाडको आगमन सँगसगै मासुको खपत तथा उपभोग बढ्दै जाने गर्छ । मासुको उपभोग चाडावाडमा मात्र सीमित नभई घरमा पाहुना आउँदा वा कुनै पनि विवाह, व्रतबन्ध, पास्नी जस्ता भोज भतेरमा मासु नभई नहुने महत्वपूर्ण आहार बनेको छ । मासुमा पाइने पोषण तथा स्वादका कारणले राम्रो त छँदै छ यसका अलावा अस्वस्थ पशुको बध गरी उपभोग गरिने मासुले त्योभन्दा धेरै घाटा हुन्छ । त्यसो हुनाले स्वस्थ पशु नै मासुका लागि प्रयोग गर्नुपर्ने हुन्छ । उक्त हानिलाई कम गर्न रोगी पशुलाई सहजै पहिचान गरी स्वस्थ पशुलाई मात्र मासुका लागि प्रयोग गर्न सकियो भने  मासुबाट मानिसमा सर्ने धेरै रोगबाट बच्न सकिन्छ । मासुको लागि स्वस्थ खसीबोका अथवा पशु हुन जरुरी छ । स्वस्थ पशुपन्छीलाई यसरी चिन्न सकिन्छ ।

१. असामान्य रूपमा स्वास फेरिरहेको, रौँ फुलाएर जिङ्रिङ्ग भएको पशु :
सामान्यतः पशुहरूमा जीवाणु, विषाणुको सङ्क्रमण भइरहेको बेला वा अन्य रोगहरूले सङ्क्रमित भइरहेका बेला स्वास छिटो फेर्ने र ज्वरो आएर रौँ ठाडो पारी फुलेर जिङ्रिङ देखिने हुनले त्यस्ता पशु अस्वस्थ र रोगी हुन्छन् ।

२. असामान्य व्यावहार देखाउने पशु :
केही रोग लागेका कारण पशुहरूले प्रायः टाउको पर्खालमा ठोक्ने, आफ्नो पुच्छर वा पेटमा हेरी वृत्त आकारमा धुम्ने, विभिन्न वस्तु वा मानिस जनावरलाई आक्रमण गर्न खोज्ने जस्ता व्यवहार देखाउँछन् । यस्ता लक्षण देखाउने पशुपन्छी रोगी हुन्छन् र त्यस्ताको मासु खानाले विभिन्न रोग सर्ने सम्भावना बढी हुन्छ ।

३. हिँडाइमा असामान्य देखिने पशुपन्छी :
पशुपन्छीका खुट्टा वा शरीरको कुनै भागमा चोट पटक लागेको खण्डमा हिँडाइ असामान्य देखिन्छ । सामान्यतः पशुपन्छी १२ घण्टा अघिदेखि बहिरी वा भित्री रूपमा चोटयुक्त छन् भने यो समयमा उसको शरीरले विभिन्न किसिमका हर्मोन  उत्पादन गर्न सुरु गर्छ । त्यस्ता हर्मोनले मासुको स्वाद र गुणस्तर विग्रिन्छ । यस्ता पशुपन्छीको मासु मानव शरीरका लागि राम्रो मानिँदैन ।

४. असामान्य हाउभाउ देखाउने पशुपन्छी : 
आँखा निन्द्रा लागेजस्तो, लट्ठिएको जस्तो अथवा चिन्ताजनक अवस्थामा दिखने पशुपन्छी र पेट फुलेको, टाउको र खुट्टा तन्काएकाएर सहजै उठ्न वा बस्न नसक्ने पशुपन्छी रोगी हुने हुँदा त्यस्ता पशु नकिन्नु नै राम्रो हुन्छ । यस्ता पशु रोगी हुन्छन् ।

५. असामान्य शारीरिक सङ्गठन भएका पशुहरू :
जोर्नीहरू बढेका, सुन्निएका, पेट र कल्चौँडो सुन्निएका, बङ्गारा सुन्निएका पशु अस्वस्थ हुन्छन् । यस्ता पशु मासुका लागि उपयुक्त मानिँदैन ।

६. नाक, कान, गुद्वार र योनीबाट असामन्य किसिमको फोहोरहरू निस्केको पशु वा पखाला लागेको, योनीबाट असामन्य रूपमा गन्हाउने तरल पदार्थ निस्किरहेको वा आँखाका भागहरू बढेका पशुहरू मानव स्वास्थ्यका लागि प्रतिकूल हुन्छन् ।

७. सिङमा हरियो रङ लगाएका खसीबोका मात्र किन्नुहोस :
तपाईं काठमाडौँ उपत्यकामा मासु किन्दै हुनुहुन्छ भने सिङमा हरियो रङ लगाएका खसीबोका छान्नु होस् । नजिकको पशु हाटबजारमा पशु सेवा विभागबाट खटिएका पशु चिकित्सकले स्वास्थ पशुलाई उपभोक्ताले चिन्न सहज होस् भनी पशुको सिङमा हरियो रङ लगाउने गरेका छन् । यसर्थ हरियो रङ लगाएको पशु मात्र किन्नु होस् । सिङमा रातो रङ लागेको खसी बिरामी वा अस्वस्थ छन् भन्ने सङ्केत हो । यस्ता पशुको मासु खानका लागि योग्य छैन । 

८. नजिकको पशु हाटबजार वा खसी बजारबाट मात्र किन्नुहोस् :
सामान्यतः नेपालका सबै पशु हाट बजार र खसीबजारमा पशु सेवा विभाग वा अन्तर्गतका कार्यालयबाट नियमित अनुगमन भइरहने भएकाले त्यस्ता बजारमा पाइने पशुपन्छीहरू बाटोमा बिक्री गरिनेभन्दा स्वस्थ हुने भएकाले नजिकको हाटबजार वा खसी बजारबाट मात्र किन्नुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. मनोजकुमार शाही
डा. मनोजकुमार शाही

लेखक पशु सेवा विभाग, हरिहरभवन ललितपुरका पशु चिकित्सक हुन् ।

लेखकबाट थप