शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ह्युमपाइपमा च्यापिएर घाइते तथा मृतक परिवरलाई सहयोग गर्ने गृहमन्त्रीको प्रतिवद्धता

बिहीबार, २५ असोज २०७५, १४ : ३७
बिहीबार, २५ असोज २०७५

काठमाडौँ– गृहमन्त्री रामबहादुर थापाले वीरगन्जको लालबंगला परिसरमा ह्युमपाइपले च्यापिएर घाइते तथा मृत्यु भएका परिवारलाई सरकारबाट सहयोग दिलाउने प्रतिबद्धता जनाएका छन् ।

असोज २२ गते बीरगञ्जको लालबंगला परिसरमा ह्युमपाइपले च्यापिएर चारजना घाइते भएका थिए, त्यसमध्ये एकजनाको उपचारकै क्रममा निधन भएको थियो । घटना भएकै दिनदेखि त्यसलाई क्षतिपूर्ति दिलाउनेदेखि लिएर दोषीलाई कारवाही गराउने कार्यमा लागेका पर्साका प्रतिनिधिसभा सदस्य एवं संघीय समाजवादी फोरम नेपालका नेता प्रदीप यादवले आज गृहमन्त्री थापालाई ज्ञापनपत्र बुझाउने क्रममा उनले पीडित परिवारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको बताइएको छ । 

गृहमन्त्री थापाले वीरगञ्जमा भएको घटना दुःखदायी हो, घटनाको बारेमा छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रतिबद्धता समेत जनाएको नेता यादवले बताए । घाइतेको उपचार तथा मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग आफ्नो रहेको उनले बताए । 

सांसद यादवले लालबंगला परिसरमा ह्युम पाइप राख्ने कालिका कन्ट्रक्सनकै लापरवाहीका कारण दुःखद घटना भएकाले त्यसलाई कारवाहीको माग गर्दै प्रतिनिधिसभाका उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई समिति ज्ञापनपत्र बुझाएका थिए । त्यस्तै, उनले शहरी विकास मन्त्री इस्तियाक राइनलाई पनि ज्ञापनपत्र बुझाएका थिए । 

तीनजना घाइतेमध्ये एकजनाको खुट्टा काट्नुपर्ने अवस्था रहेको छ ।  सो दुर्घटनामा घाइते भएका राकेश यादवकी छोरी आयुषा यादवको उपचार वीरगञ्ज हेल्थ केयर अस्पतालमा भइरहेको छ । सो अस्पतालमा उपचार भइरहेको रोहित चौधरीको निधन भएको छ ।

काठमाडौको वीएण्डवी अस्पतालमा उपचार गराइरहेकी वीरगन्ज रानीघाटका गोबिन्द चौधरीका छोरीहरु १० वर्षीया अनुष्का चौधरी र सात वर्षीया अंकिता चौधरीको उपचार भइरहेको छ । घाइते तीनैजनालाई सांसद यादवले २५–२५ हजार रुपियाँ सहयोग गरेका छन् भने मृतक परिवारलाई ५० हजार सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । 

सांसद यादवको दवावमा घटनाको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय पर्सामा सर्वपक्षीय छलफल भएको थियो । छलफलमा घाइते भइ उपचार गराइ रहेका दुई बालिकाको उपचारका लागि कालिका कन्ट्रक्सनका मालिकले दुई लाख रुपैयाँ उपलब्ध गराएका छन् भने यस्तै वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचार गराइ रहेकी आयुषा यादवको उपचारमा लाग्ने सम्पूर्ण खर्च पनि ब्यहोर्ने प्रतिबद्धता जनाएको छ । 
साथै, मृतक परिवारलाई तत्कालका लागि किरिया खर्चको रकम दिने सहमति गरेको छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप