शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरमा भेडा–च्याङ्ग्रा महँगो

बिहीबार, २५ असोज २०७५, १३ : ४३
बिहीबार, २५ असोज २०७५

भक्तपुर– भक्तपुरमा दशैँका लागि मुस्ताङबाट ल्याइएको भेडा–च्याङ्ग्रा विगत वर्षभन्दा यस वर्ष महँगिँदै भक्तपुर आइपुगेको छ । भक्तपुरको सल्लाघारी ल्याईएको भेडा–च्याङ्ग्रा अहिलेसम्मकै महँगो मूल्य निर्धारण गर्दै बिक्री शुरु भएको छ । 

यस वर्ष सल्लाघारीमा ल्याई पुर्याइएको च्याङ्ग्रा प्रतिकिलो रु ७५० र भेडाको रु ६७५ मूल्य निर्धारण गर्दै व्यवसायीले बिक्री शुरु गरेका हुन् । गत वर्षभन्दा प्रतिकिलो सय रुपैया मूल्य बढाएर व्यवसायीले बिक्री गरेका छन् । 

मुस्ताङमै भेडा–च्याङ्ग्रा महँगो भएकाले यस वर्ष प्रदेश सरकार र स्थानीय सरकारलाई सात ठाउँमा निकासी कर तिर्दै ल्याउनु परेकाले महँगो भएको व्यवसायी पशुपति सिलवालले बताए । विगत १८ वर्षदेखि दशैँमा भेडा–च्याङ्ग्राको व्यवसाय गर्दै आएका उनले भने– ‘देश सङ्घीयतामा गएपछि त आफ्नै देशमा पनि विदेशमा झैं फरक–फरक ठाउँमा कर तिर्दै आउनुपर्ने, यस वर्ष प्रदेश र स्थानीय सरकारलाई मात्रै सात ठाउँमा कर तिर्नुपर्यो, अनि कसरी होस् सस्तो ।’ 

व्यवसायीका अनुसार मुस्ताङबाट म्याग्दी, पर्वत, कास्की, तनहुँ, धादिङ, काठमाडौँ हुँदै भक्तपुरको सल्लाघारीसम्म भेडा र च्याङ्ग्रा ल्याउँदा कर तिर्दै आउनु पर्यो । केन्द्रीय सरकारले खसी–बोका, भेडा–च्याङ्ग्रामा कर नलिन आग्रह गरे पनि स्थानीय सरकारले अटेर गरेपछि त्यसको प्रत्यक्ष मारमा भने आम सर्वसाधरण पर्ने भएका छन् । 

सिन्धुपाल्चोकका अर्का व्यापारी रमेश खड्काले मुस्ताङको घारमै एउटा च्याङ्ग्राको रु १६ हजारदेखि रु २४ हजारसम्म तिर्नु परेको बताउँदै ठाउँठाउँमा तिर्नुपर्ने करले यस वर्ष निकै समस्या आएको बताए । विगतका वर्षमा यसरी ठाउँठाउँमा कर तिर्नुपर्ने अवस्था नभए पनि यस वर्ष भने ठाउँठाउँमा कर तिर्दै ल्याउनु परेको उनको भनाइ छ । 

सल्लाघारीमा यस वर्ष करिब दुई हजार च्याङ्ग्रा, करिब हजार भेडा ल्याइएको छ भने अरू ल्याउने क्रम जारी छ । सल्लाघारीमा च्याङ्ग्राको तयारी मासु गतवर्ष प्रतिकिलो रु एक हजार २५० मा बिक्री गरेको भए पनि यस वर्ष भने प्रतिकिलो रु एक हजार ६०० मा बिक्री भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप