बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

५ नम्बर प्रदेशमा यस्तो छ प्रहरीको सुरक्षा रणनीति

बिहीबार, २५ असोज २०७५, ११ : ३७
बिहीबार, २५ असोज २०७५

बुटवल– मुलुक सङ्घीय संरचनामा गएपछि नेपाल प्रहरीले पनि सङ्घीय संरचनाअन्तर्गतकै सुरक्षा रणनीति तय गरेको छ । हरेक प्रदेशमा प्रहरीले आफूले गर्ने कामको वर्गीकरण गर्दै प्राथमिकीकरण गरिरहेका छन् । प्रदेश प्रहरीले आआफ्नो क्षेत्रअनुसार चुनौतीको पहिचान गर्दै सोही अनुरूप रणनीति बनाएका छन् ।

बुटवलमा हालै सम्पन्न प्रदेश स्तरको सुरक्षा गोष्ठीमा प्रदेश प्रहरी कार्यालयले आफ्नो सुरक्षा रणनीति  प्रस्तुत गरेको थियो । प्रदेश प्रहरी प्रमुख डीआईजी शेरबहादुर बस्नेतले सुरक्षा योजनाबारे यसरी खुलाएका छन् ।

चाडपर्व लक्षित सुरक्षा योजना 
प्रदेश प्रहरी कार्यालयले चाडपर्व सुरक्षा ल्याएको छ । दशँै तिहार र छठ पर्वलाई लक्षित गरेर सुरक्षा योजना तयार पारेको हो ।  

दशैँका बेला सहरका घरहरू खाली हुने गर्छन् । त्योबेला चोरीका घटनामा वृद्धि हुन सक्छन् । तसर्थ हामीले प्रहरी गस्ती र मोबाइल टोली बिस्तार गरेका छौँ । टोल टोल प्रहरी पुर्याएका छौँ । 

विशेष सतर्कता अपनाइएको छ । कुनै सूचना पाउनासाथ तत्काल प्रहरी पुग्ने व्यवस्था मिलाइएको छ । अर्कोतिर दशैँको बेलामा घर जाने यात्रुहरूको चापँसगै पकेटमार, बसमा यात्रा गर्दा विभिन्न नसालु पदार्थ खुवाएर लुट्ने जस्ता घटना रोक्न पनि प्रहरी सक्रिय छ ।

यात्रुलाई टिकटमा ठगी गर्ने, एउटै सिटमा दुई जनाको पैसा लिने, सामानहरू चोरी गर्ने जस्ता कार्य रोक्नका लागि बसपार्कमा प्रहरी हेल्प डेक्स स्थापना गरेका छौँ । पाँच नम्बर प्रदेशका बसपार्कहरूमा ट्राफिक र जनपथ प्रहरीको टोली मिलाएर हेल्प डेक्स स्थापना गरेका छौँ ।

यातायातसँग सम्बन्धित विषयमा बसपार्कको हेल्प डेक्सले सबै काम गर्छ । रूपन्देहीमा २० वटा टोली गठन गरेका छौँ भने अन्य जिल्ला पनि आवश्यकताअनुसार टोली गठन गरिएको छ । 

सीमा नाकामा कडाइ 
नवलपरासीको महेशपुरदेखि बर्दियाका सीमा नाकाहरूमा प्रहरीको सक्रियता वृद्धि भएको छ । हामी अन्य सुरक्षा निकायसँग पनि समन्वय गरेर सीमाक्षेत्रमा हुने तस्करी नियन्त्रण गर्ने प्रयासमा छौँ । खुला सिमानाका कारण ससाना नाकाहरूबाट हुने चोरी तस्करी नियन्त्रण गर्न विशेष ध्यान दिएका छौँ ।

राज्यलाई नोक्सान पुर्याउने जोसुकैलाई कानुनी दायरा ल्याउन हामीले पाएको अधिकार प्रयोग गर्न प्रहरी पछि हट्दैन । दशैँ अवधिभर सुनौलीलगायत विभिन्न नाकामा ब्यानर राखेरै हेल्प डेस्क स्थापना गरेका छौँ । 

यसो गर्दा सीमा क्षेत्रमा विदेशबाट आएका नेपाली दाजुभाइहरू लुटिने, दुव्र्यवहार व्यहोर्नुपर्ने अवस्थाको अन्त्य हुन्छ । 

जुवातास रोक्ने 
जुवातास अन्य बेलामा खेलाएको र खेलिरहेको हामीले विभिन्न ठाउँबाट पक्राउ गरेका छौँ । मूलतः चाडपर्वको बेला अलि धेरै यस्ता गतिविधिहरू वृद्धि हुने भएकाले पाँच नम्बर प्रदेश प्रहरी निकै चनाखो भएर लागेको छ ।

हामीले जुवा खेलाउने र खेल्नेलाई सूचना दिन सर्वसाधारणलाई अपिल गरेका छाँै । यस्तो बेला प्रहरी टोल टोलमा हुनेछ । तसर्थ कहीँकतै जुवातास खेलेको पाइएका कारबाही गर्न कुनै कसर बाँकी राख्न पछि पर्ने छैनौँ । 

यसका लागि छुट्टै टोली बनाएर पनि काम गर्न सकिन्छ । आवश्यक पर्दा जतिबेला पनि प्रहरी पुग्ने छ । 

लागूऔषधका लागि स्पेसल 
प्रदेश ५ को प्रहरीले लागूऔषध नियन्त्रणका लागि पनि विशेष योजना अगाडि बढाएको छ । लागूऔषध कारोबार र सेवन दुवै रोक्न प्रत्येक जिल्ला प्रहरी कार्यालयलाई कडा निर्देशन दिएका छौँ । उनीहरूले लागूऔषधको छुट्टै युनिट नै बनाएर काम गरिरहेका छन् । जसको परिमाण हामीले पछिल्लो तीन महिना कपिलवस्तुको कृष्णनगर र दाङ जिल्लाबाट ठूलो मात्रामा चरेस बरामद गरेका छाँै । यस्तै बाँकेबाट अफिम बरादम गरेका छौँ । 

अन्य जिल्लाहरूबाट पनि लागूऔषध नियन्त्रणमा आएका छन् । तराई र पहाडी दुवै क्षेत्रमा लागूऔषधको कारोबार, सेवन रोक्नका लागि स्पेसल अभियान नै चलाएका छौँ । हामी यसलाई सचेतना अभियानसँग पनि जोडेका छौँ । विभिन्न विद्यालय, आमा समूह, सङ्घ संस्थाहरूसँग मिलेर पनि लागूऔषधको विषयमा हामीले काम गरेका छौँ । 

फरारहरू धमाधम पक्राउ 
अदालत र प्रहरीले खोजी गरेका या अन्य अपराध गरेर फरार रहेकाहरूको सूची लिएर काम गरेका छाै‌ । 
अदालतको समन्वयमा फरारलाई कानुनी दायरमा ल्याउनका लागि पनि प्रदेश प्रहरी सक्रिय छ । त्यसको परिमाण नेपालगञ्ज र दाङ जिल्ला एक दशकदेखि  फरार अपराधी हामीले नियन्त्रणमा लिएका छाँै । 
अन्यको खोजीका लागि प्रहरी व्यापकरूपमा सक्रिय छ । हामीले लिस्ट नै तयार पारेर पुराना घटनाका अभियुक्त या अदालतले खोजी गरिरहेका अन्य अपराधीहरूलाई नियन्त्रणमा लिन छुट्टै टोली बनाएका छौँ ।  

विप्लव र सीके राउतका गतिविधि शून्य 
प्रदेश ५ मा चाहे सीके राउत समूह होस् चाहे विप्लव समूहको । कुनै पनि समूहले अपराध गर्न खोज्छ भने त्यो रोक्न हामी तयारी अवस्थामा छौँ । मन्त्री उपेन्द्र यादव यो प्रदेशमा आउँदा सीके राउत समूहका केही व्यक्तिहरू कार्यक्रम बिथोल्ने प्रयास गरे । उनीहरूलाई तत्काल नियन्त्रणमा लिएर कानुनअनुसार प्रक्रिया अगाडि बढायौं । नेत्रविक्रम समूहले कतै कुनै घटना घटाए या घटाउने सूचना पाए  हामी एक्सनमा जान्छौँ ।

दुर्घटना न्यूनीकरण
बढ्दो सवारी दुर्घटना यो प्रदेशमा मात्रै होइन मुलुकका अन्य प्रदेशमा पनि प्रहरीका लागि निकै चुनौती छ । सवारी दुर्घटनाका कारण दैनिक मानिसको मृत्यु हुने घटना रोक्नका लागि ट्राफिक सचेतनालाई जोड दिएका छौँ । यसमा सचेतना निकै महत्वपूर्ण पाटो हो । जसका लागि हामीले प्रत्येक जिल्ला प्रहरी कार्यालयलाई ट्राफिक प्रहरीसँग समन्वय गरेर सचेतनामूलक कार्यक्रम सक्रितापूर्वक गर्नका लागि निर्देशन दिएका छौँ । रूपन्देही, बाँकेलगायतका जिल्लामा अहिले सचेतनामूलक कार्यक्रम सम्पन्न भएका छन् । अब दाङमा पनि छिट्टै गर्ने तयारी छ । अन्य जिल्लाहरूमा पनि स्थानीय सङ्घसंस्थासँग मिलेर सचेतनामूलक कार्य गर्नका लागि प्रहरी सक्रिय छ । 

मदिरा रोक्न गाउँगाउँमा अभियान 
मदिराका कारणले विभिन्न अपराध निम्त्याएको छ । मदिराको अवैध उत्पादन रोक्न पनि प्रहरी सक्रिय छ । अझ पहाडी जिल्लाहरू  गुल्मी, अर्घाखाँची, प्युठानलगायतका जिल्लामा स्थानीय आमा समूहसँग मिलेर मदिराको घरेलु उत्पादन र सेवन रोक्ने काम भएका छन् । कतिपय गाउँहरू मदिरा सेवनमुक्त घोषणा गरिएको छ । 

विपद् व्यवस्थापन 
विगतको तुलनामा बाढी, पहिरो र डुबानले यो वर्ष कम क्षति पुर्याएको छ । अब हिउँदमा हुने आगलागी तथा हावाहुरीले हुने घटनामा उद्धार गर्न प्रहरीको  भूमिका महत्वपूर्ण हुन्छ । अन्य विपद्का लागि सुरक्षा निकाय, अन्य निकायसँग सहकार्य गरेर काम गर्ने छाँै । हामीले प्रदेशको सुरक्षा आफ्नै किसिमले गरेका छौँ । आआफ्नो एरियामा २४ घण्टा तत्काल पुग्नका लागि सिनियर प्रहरी अधिकृत र जुनियर  कमान्डमा टोली गठन भएको छ । केही फरक तालिम लिएका पनि छन् । 

चेकिङ 
प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय र अन्य मातहतका प्रहरी कार्यालयले गरेका कामहरूसँगै  विशेष  चेकिङ पनि प्रदेश प्रहरी कार्यालयले गरेको छ । 
खासगरी ड्युटीका लागि खटिएका प्रहरीको चेकिङ बढाइएको छ । ड्युटी राम्रो गरे नगरेको पनि हेर्ने गरिएको छ । 
त्यसका लागि जिल्ला जिल्लामा छुट्टै युनिट खडा छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप