बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भोटो : नेपाली उत्पादनबाटै फेसनमा नयाँ नाम

बिहीबार, २५ असोज २०७५, ०९ : २०
बिहीबार, २५ असोज २०७५

काठमाडौँ । बजारमा फेसनका नयाँ नयाँ शैलीको प्रयोग विभिन्न रङमा देख्न सकिन्छ । कहिले पुराना फेसन पुनः दोहोरिएर आउने गर्छन् भने कहिले पूर्णतः मौलिक खालका फेसन आउँछन् । 

अझ युवा पुस्ताले फेसनलाई नयाँ नयाँ रूपमा प्रस्तुत गर्न थालेका छन् । फेसनलाई त युवाले नै लिड गरिरहेका हुन्छन् । तर आजकाल फेसनले उमेरको हदबन्दी तोडेको छ । उमेरले पाका देखिनेहरूले पनि नयाँ नयाँ फेसन शैलीलाई पछ्याएको पाइन्छ । फेसनेबल बन्न अनि नयाँ शैलीमा ठाँटिएर हिँड्न रुचाउनेहरूको कमी छैन बजारमा । 

व्यवसायीहरूले विदेशी फेसन ब्रान्डहरूलाई पछ्याइरहेको अवस्थामा केही यस्ता युवा व्यवसायीहरू पनि छन्, जो नेपाली फेसनलाई विश्वसामु परिचित गराउन तम्सिएका छन् ।

हाल नेपाली पहिचान र नेपाली उत्पादनलाई बजारमा स्थापित गराउन तल्लीन भएको एक नाम हो– ‘भोटो’ । सुन्दा अलि फरक अनि अनौठो लागे पनि भोटो भन्ने वित्तिकै हामी आफ्नो बालापनमा फर्किसक्छौँ । भोटो नलगाउने नेपाली कमै होलान् । भोटो नेपालीको पहिचान पनि हो । यो नाम आफैमा फरक त छँदैछ साथै नेपाली पहिरन शैलीको प्रतिनिधित्व पनि गरिरहेको बुझ्न सकिन्छ ।

‘भोटो’ विशुद्व नेपाली उत्पादनबाट निर्मित कपडाको ब्रान्ड हो । यो नेपाली फेसन शैलीको प्रतिनिधित्व गर्ने लक्ष्यका साथ अघि बढेको छ । हुन त अहिले बजारमा विश्वका कुनै पनि ब्रान्डका कपडा खरिद गर्न सकिन्छ । केही नेपाली ब्रान्डहरू पनि बजारमा स्थापित भइसकेका छन् । त्यही भीडमा अर्को ब्रान्ड पनि थपिएको छ । त्यो हो ‘भोटो’ ।

डिजाइनर होमकी सञ्चालिका तथा सीएनसी क्र्याफ्टकी कार्यकारी निर्देशक पूजा रिमाल भोटोलाई एउटा विशुद्व नेपाली पहिचान दिने ब्रान्डका रूपमा स्थापित गर्न लागिपरेकी छिन् । पेसाले इन्टेरियर डिजाइनरसमेत रहेकी पूजाले भोटो ब्रान्डलाई बजारमा ल्याउन एक वर्षको बजार सर्वेक्षण गरेकी छिन् । भोटोमा उनलाई पूजा पाण्डेले साथ दिएकी छिन् ।

पूजा रिमाल अनि पूजा पाण्डेले पहिरनमा मौलिक पहिचान दिने उद्देश्यले भोटो सञ्चालनमा ल्याएका हुन् । २०१७ मा काठमाडौंको हात्तीसारस्थित कृष्ण पाउरोटी चोकमा भोटोको नाम दिएर एउटा पसल सञ्चालनमा आयो । झट्ट हेर्दा विदेशी ब्रान्डका सामान जस्ता देखिने आकर्षक उक्त पसलमा जो कोही छिर्न आँट नै गर्न सकेनन् । पूजा भन्छिन्, एक पटक ग्राहक पसलभित्र छिरे पछि मात्र थाहा पाउन सक्छन् कि यो कुनै वर्गका लागि होइन, बरु यो त सबै नेपालीका लागि हो भनेर । 

नेपाली युवा व्यवसायीको यो प्रयास भोटोले नेपालमै उत्पादित कच्चा पदार्थबाट आधुनिक डिजाइनका कपडा निर्माण गरिरहेको छ । नेपाली ऊनको राम्रो प्रयोग गरेको छ भोटोले । बच्चादेखि वृद्धासम्मका लागि उत्कृष्ट नेपाली पहिचानसहितको विभिन्न डिजाइनका कपडा भोटोमा रहेको सञ्चालिका पूजा बताउँछिन् ।  

भोटो युनिसेक्स फेसन ब्रान्ड हो, जहाँ जुन सुकै उमेर समूहका महिला तथा पुरुषका लागि गुणस्तरीय सामान पाइन्छन् । फेसनको दुनियाँमा नेपाली ब्रान्डको उदयले गुणस्तरीय सामानको छनौट गर्ने अवसर बढेको छ । भोटोकी सञ्चालिका पूजा भन्छिन्, ‘नेपाली उत्पादनलाई प्रोत्साहित गर्नका लागि पनि यो ब्रान्ड लिएको आएका छौँ ।’ भोटोलाई उत्कृष्ट नेपाली उत्पादनका रूपमा विकास गर्दै लैजाने पूजाको योजना छ । 

आफ्नै उत्पादन कम्पनीसमेत रहेको भोटोले फर्मल इन्फर्मल ड्रेसदेखि जुत्ता, ब्याग र अन्य सामान उत्पादन गरेको छ । नेपालमा पाइने कच्चा पदार्थको प्रयोग भोटोको सामानमा गरिएको छ भने केही फ्याब्रिकहरू भने बङ्गलादेश, भारत तथा चाइनाबाट आयात गरेको पूजा बताउँछिन् । 

नेपाली ब्रान्ड भन्ने वित्तिकै केही महँगो र नेपालीहरूले खरिद गर्न सक्दैनन् भन्ने बुझाइ भए पनि भोटोका उत्पादन सबैले खरिद गर्न सक्ने मूल्यको भएको पूजा बताउँछिन् । भोटोले ह्यान्ड मेड (हातले बुनेका) सामानलाई बढी महत्व दिएको छ । यस्ता सामानमा पनि कम मार्जिन राखैरे भए पनि सस्तोमा सामान बिक्री गरेको पूजाले बताइन् ।

केही नौलोपनसहित आएको भोटोले विदेशी उत्पादनको प्रयोगबाट अवाक ग्राहकका लागि केही नयाँपन अवश्य दिनेछ । पूजा भन्छिन्, ‘क्वालिटीमा कम्प्रमाइज नगरी थोरै नाफामा भोटोका उत्पादनलाई नेपालीमाझ स्थापित गर्नेछौं ।’

भोटोले नयाँ प्रयोग पनि गरिरहेको छ । सामान खरिदका लागि आउने ग्राहकबाट प्रतिक्रिया लिइन्छ र त्यही प्रतिक्रियाअनुसार ग्राहकको रोजाइ अनि मागलाई मध्यनजर गरेर सामान उत्पादन गरिन्छ । नेपालीहरूले आफ्नो मौलिकपन अनि स्वदेशी उत्पादनलाई माया गर्ने गरेको त नेपालमा उत्पादित अन्य ब्रान्डको चर्चाबाट पनि थाहा हुन्छ । त्यसैले पनि स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नु पर्छ भन्नेमा नेपालीहरू धेरै नै सचेत रहेको पूजाले पाएकी छिन् । 

काठमाडौँको हात्तीसारमा सञ्चालनमा आएको भोटोलाई स्वदेशी ब्रान्डका रूपमा स्थापित गरेर भविष्यमा अन्य स्थानमा पनि विस्तार गर्दै लैजाने योजनामा छिन् पूजा । साथै भोटोका उत्पादनलाई विदेशमा पनि फैलाउँदै लैजाने पूजाको योजना छ । बजारमा प्रतिस्पर्धा निकै भए पनि भोटोले सानो सानो कुरामा ध्यान दिएर सामान उत्पादन गर्ने गरेको छ । बजारको मागअनुसार आफूलाई ढाल्दै जाने सोचले भोटोले हाल बजार सर्वेक्षण अनि ग्राहकको चाहनालाई नै पहिलो प्राथमिकता दिएको छ । 

मुख्यतः ग्राहकलाई सामानको गुणस्तरबारे बुझाउन नै कठिन छ । त्यसमा पनि नेपाली उत्पादनमा विश्वास गरिहाल्ने बानीको कमीले गर्दा पनि पहिलो चुनौती भनेको गुणस्तर रहेको छ । भोटोले गुणस्तरमा ध्यान दिएर उत्पादनलाई बढाउँदै लैजाने हो भने बजारमा स्वदेशी उत्पादनले राम्रो ठाउँ पाउनेमा कुनै शङ्का छैन ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप