शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दुई नेपाली चेली बेल्जियमको चुनावी मैदानमा

बुधबार, २४ असोज २०७५, १६ : १३
बुधबार, २४ असोज २०७५

बेल्जियम – बेल्जियमको दोश्रो ठूलो शहर आन्त्वरपेन र शैक्षिक नगर लुभेनका नगरपालिकाहरूको निर्वाचनमा नेपाली समुदायका दुई जना महिला उम्मेदवार अहिले चर्चाको शिखरमा छन् । आन्त्वरपेनको प्रोभिन्सियल तथा नगरपालिकाको काउन्सिलरमा लिला शर्मा मानन्धर र लूभेनको नगरपालिकाको काउन्सिलरमा रश्मी निरौला यही अक्टोबर १४ तारिखमा हुने निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन् । उनीहरू दुवैजनाको विजयलाई धेरैले निश्चित् मानेका छन् ।

संयोगले दुवै जना नेपाली चेली बेल्जियमको दोश्रो लोकप्रिय पार्टी एसडी एण्ड भी का आधिकारिक उम्मेदबार हुन् । 

आप्रवासीमैत्री मानिएको पार्टी एसडी एण्ड भी ले बेल्जियमको संघीय सरकारसमेत नेतृत्व गरिसकेको छ । सन् २००८÷२००९ मा सिडी एण्ड भी का बरिष्ट नेता हरमन भ्यान रोम्पू बेल्जियमको प्रधानमंत्री भएका बेला कैयन नेपाली लगायतका अन्य देशका आप्रवासीहरूले गैरबेल्जियन नागरिकका रूपमा बैधानिकता पाएका हुन् । 

बेल्जियममा कानुनअनुसार बेल्जियन र गैरबेल्जियन आवासीय नागरिक दुवैले चुनावमा मतदान गर्न पाउने अधिकार छ । 

यस्तै आन्त्वरपेन शहरका नेपाली समुदायबीच प्रभावशाली व्यक्तित्व योगेन्द्र श्रेष्ठले सिडी एण्ड भी कै कारणले आफू बेल्जियममा बैधानिक भएर निर्धक्क साथ बस्न पाएको र बेल्जियन नागरिक सरह नेपालीलगायत गैरबेल्जियनहरुले पनि त्यहांको सबै अधिकार र सुविधा हकभोग गर्न पाएकोले आफ्नो भोट सिडी एण्ड भी पार्टीका उम्मेदबारहरूलाई जाने बताएका छन् ।  

दुवै नेपाली चेलीलाई गत जनवरी महिनामा सिडी एण्ड भी ले आफ्नो पार्टीको आधिकारिक उम्मेदबार घोषित गरेपछि कस्सिएर चुनावी प्रचार प्रसारमा व्यस्त रहंदैआएका छन् ।  सिडी एण्ड भी पार्टीका नेता र मंत्रीहरू नै नेपाली समुदायका उम्मेदबारहरुको चुनावी कार्यक्रमहरूमा सहभागी भएकाले नेपाली समुदायको प्रतिष्ठा ह्वात्तै बढेर गएको छ । 

बेल्जियमको भ्रमणमा आएका बेला असोज ३ मा संविधान दिवसका उपलक्ष्यमा बेल्जियमको नेपाली राजदूतावासमा आयोजित समारोहका प्रमुख अतिथि परराष्ट्रमंत्री प्रदीपकुमार ज्ञवालीले लिला र रश्मीसंग भेटघाट गरेका थिए । 

लिला त्रिभूवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नात्तकोत्तर उतीर्ण गरेकी छन् भने रश्मीले सेन्ट जेभियर्स कलेजबाट वाणिज्यशास्त्रमा स्नातक गरेकी छिन् । लिला र रश्मी दुवै कामकाजी महिला हुन् । नेपालमा छंदा दुवैजनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंगठनमा कार्य गरेको अनुभव हासील गरेका छन् । 

लिला हाल गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषद् समितिको सदस्य छन् भने बेल्जियम एसिया फोरम जस्तो संस्था गठन गर्नमा महत्वपूर्ण भूमिका रहेको थियो । रश्मीले नेपालमा रहंदा बैकिङ्ग र लैङ्गिक समानता सम्बन्धी राष्ट्रसंघीय परियोजनामा काम गरेको अनुभव राख्छिन् । सिडी एण्ड भी ले महिला सशक्तिकरण, आप्रवासी अधिकार र सामाजिक कार्यहरुमा दुवै महिलाको सक्रियतालाई ध्यानमा राखेर उम्मेदबारी चयन गरेको हो । तीज र नेपाल दिवस जस्ता सांस्कृतिक कार्यक्रमहरु आयोजना गने कार्यमा बेल्जियमका नेपाली महिला समुदायको उल्लेख्य भूमिका रहने गरेको छ ।  

 लिला आन्त्वरपेन नगरपालिकामा र रश्मी लूभेन नगरपालिकामा नेपालीमूलको पहिलो र एकमात्र महिला उम्मेदबार भएकाले उनीहरू नेपाली समुदायका मतदाताको प्राथमिकतामा परेका छन् । बेल्जियनका विभिन्न नगरपालिकामा नेपाली समुदायबाट झण्डै एक दर्जन पुरुष प्रत्यासीले पनि उम्मेदवारी दिएका छन् । 

नेपालको राजनीतिक आस्थाका आधारमा बेल्जियमको निर्वाचनमा उम्मेदवारी दिने होडबाजी चलेका कारण नेपाली समुदायको मत विभाजित हुने गरेकाले आजसम्म नेपाली समुदायकाले निर्वाचनमा विजयी बन्न सकेका छैन । यस पटकको निर्वाचनमा यी दुवै महिला चेलीहरुको उम्मेदवारीका कारण नेपाली समुदायको मत विभाजन नभई उनीहरुलाई विजयी गराउनुपर्ने धेरैको धारणा रहेको पाइन्छ ।   

सडी एण्ड भी पार्टी निरन्तर सरकारमा बसेर देशको नीतिनिर्माणमा महत्वपूर्ण योगदान पु¥याउंदैआएकोले नीतिनिर्माण तहमा नेपाली समुदायको पहु‘च बढाउन मद्दत पुग्ने भएकोले यस पार्टीप्रति नेपाली समुदायमाझ आकर्षण रहेको छ । 

आन्त्वरपेनबाट उम्मेदवारी दिने लिलाको नेपाली समुदायलाई यसपालीको निर्वाचनमा नेपाली महिलालाई विजयी गराई नेपाली समाजले एउटा ईतिहास कायम गर्न सफल हुनुपर्छ भन्ने आग्रह गरेकी छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप