शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गरिबी निवारण कोष र चौधरी फाउण्डेसनबीच समझदारी

बुधबार, २४ असोज २०७५, १५ : २७
बुधबार, २४ असोज २०७५

काठमाडौं । विपन्न वर्गका हस्तकला उत्पादक कालीगढहरुको उत्पादनको दिगो विकास र वजारसम्मको पहुँच स्थापना गर्न गरिवी निवारण कोष र चौधरी फाउण्डेसनले सहकार्य गर्ने भएका छन् ।

कोषद्वारा विभिन्न जिल्लामा गठन भएका उत्पादन समूहका सदस्यहरुले उत्पादन गरेका हस्तकलाका सामग्रीहरु उत्पादनलाई अझ सुदृढ एवं व्यवस्थित बजार प्रबद्र्धन गर्ने उद्देश्यले कोष र फाउण्डेशनबीच बुधवार एक समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

उक्त समझादारीमा कोषका तर्फवाट कार्यकारी निर्देशक नहकुल केसी र फाउण्डेसनको तर्फवाट प्रवन्ध निर्देशक निर्वाण चौधरीले हस्ताक्षर गरेका हुन् । समझदारी अनुसार कोषको कार्यक्रम अन्तर्गत गठन भएका हस्तकला सम्बन्धी उत्पादनहरुलाई नवलपरासी जिल्लामा रहेको “शाश्वतधाम” मा अवस्थित संस्कृति सम्पदा भण्डारमा आवश्यक्ता अनुसार बिक्री स्टलमा राखिने छ । 

कोषले कोषमार्फत गठन भएका साझा सुबिधा केन्द्र, उत्पादन समुह तथा कालिगढ़हरुको विवरण फाउण्डेसनलाई उपलब्ध गराउनेछ कोषसँग रहेका नमुना उत्पादनहरुको प्रदर्शन तथा बजार प्रवद्र्धनका लागि फाउण्डेसनलाई उपलब्ध गराउने छ ।

यसैगरी फाउण्डेसनले कोषद्वारा गठन भएका उत्पादन समूहका सदस्यहरु मार्फत उत्पादित हस्तकलाका सामाग्रीहरुको बजार प्रबद्र्धन गर्न सहयोग गर्नेछ । फाउण्डेसनले उक्त बस्तुहरुको “उन्नति बजार” मा बिक्री स्टलमार्फत बिक्री एवं प्रवद्र्धनमा सहयोग गर्नेछ ।

कोषले सहयोग गरेका उत्पादन समूहका सदस्यहरुले तयार गरेको वस्तु बिक्री गर्दा “नेपालको” ब्रान्ड नामको प्रयोग गरिनेछ । यसैगरी फाउण्डेसनले हस्तकलाका सामान खरिद गर्दा साझा सुबिधा केन्द्र वा उत्पादन समूहसँग अनिवार्य रुपमा सम्झौता गर्नेछ । साथै खरिद मूल्य समसामयिक तथा पारदर्शी हुने उक्त पत्रमा उल्लेख गरिएको छ ।

कोषले हस्तकला कार्यक्रम अन्तरगत जापान सामाजिक विकास कोषको आर्थिक सहयोग र विश्व बैंकको व्यवस्थापनमा “द्वन्द्व प्रभावितका लागि बजार निर्माण परियोजना” मार्फत तेह्रथुम, धनुषा, कपिलबस्तु, दाङ, दैलेख, गोरखा र म्याग्दी जिल्लामा ढाका, मिथिला पेंटिंग, सिक्की, अल्लो, माटोका भाँडा, राडीपाखी, बाँस, प्राकृतिक रंगाई, नेपाली कागज र ऊनी अन्तरगतका सीप क्षेत्रमा १४ वटा साझा सुबिधा केन्द्र निर्माण गरी ३७५ उत्पादन समुहका ७,५२७ हस्तकलाकर्मीहरुको परम्परागत सीपलाई परिष्कृत गरी जीवनयापनका लागि दिगो आर्थिक वृद्धि गर्न सहयोग गर्दै आईरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप