शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विमल ‘ए’ डिभिजन लिगमा डेब्यु गर्दै

बुधबार, २४ असोज २०७५, १५ : ०७
बुधबार, २४ असोज २०७५

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोलीका युवा स्ट्राइकर विमल घर्तीमगर ‘ए’ डिभिजन लिगमा डेब्यु गर्दैछन् । 

भारत, बेल्जियम र नेदरल्याण्डसमा समेत व्यावसायिक फुटबल खेलिसकेका विमल ‘ए’ डिभिजन लिगमा आज डेब्यु गर्न लागेका हुन् । अन्तिम समयमा च्यासल युथ क्लबमा अनुबन्धित भएका विमलले सोही क्लबबाट कप्तानको भूमिकासहित आज ‘ए’ डिभिजन लिगमा डेब्यु गर्ने क्लबले जनाएको छ । 

विमललाई लिन अन्य क्लबले प्रयास गरे पनि अन्तिममा विमल च्यासल गएका थिए । च्यासल युथ क्लबले आज लिगको पहिलो खेलमा मछिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्दैछ । ‘राष्ट्रिय फुटबल टोलीका स्टार विमलले कप्तानको जिम्मेवारीसहित शीर्ष डिभिजनको लिगमा डेब्यु गर्ने तय भएको छ’–क्लबका मुख्य प्रशिक्षक राजुकाजी शाक्यले भने । चौध वर्षको उमेरमा बङ्गलादेशविरुद्ध मैत्रीपूर्ण खेलमार्फत राष्ट्रिय टोलीमा स्थान बनाउँदै आएका विमलले राष्ट्रिय टोलीका लागि नौ गोल गरिसकेका छन् । 

विमलले यसअघि २०७१ सालको राष्ट्रिय लिगमा सुदूरपश्चिमबाट खेलेका थिए । एन्फाको बुटवल एकेडेमीमा २०६७ सालमा प्रवेश गरेका विमलले त्यहाँ रहेर दुई वर्ष प्रशिक्षण गरे ।

सन् २०१२ को एएफसी यू–१४ प्रतियोगितामा राम्रो प्रदर्शन गरेपछि उनलाई राजधानीको एकडेमीमा ल्याइयो । राष्ट्रिय टोलीका तत्कालीन प्रशिक्षक कृष्ण थापाले १४ वर्षकै उमेरमा उनलाई राष्ट्रिय टोलीबाट खेलाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप