केन्द्रीय संस्करण

५० देखि ६० लाख नेपालीलाई मानसिक समस्या, अझै पनि धामीझाँक्रीमा विश्वास

person access_timeअसोज २४, २०७५ chat_bubble_outline0

काठमाडौँ । आज २६औँ विश्व मानसिक स्वास्थ्य दिवस । ‘बदलिँदो विश्व परिवेशमा युवा र मानसिक स्वास्थ्य’ भन्ने मूल नाराको साथ अक्टोबर १० मा नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ । यस क्षेत्रमा काम गरेका सरकारी तथा गैरसरकारी संस्थाले जनचेतनामूलक कार्यक्रम आयोजना गरेका छन् । 

नेपालमा प्रत्येक वर्ष मानसिक रोगीको सङ्ख्या बढ्दै गएको छ । सरकारले भने मानसिक स्वास्थ्यलाई प्राथमिकतामा नराखेकाले मानसिक रोगीले भरपर्दो उपचार सेवासमेत पाउन सकेका छैनन् । मनोचिकित्सक तथा मार्क नेपाल सेवा केन्द्रका अध्यक्ष गोपाल ढकालले नेपालमा मानसिक रोगीको अवस्था बारे जानकारी गराएका छन् । 

मानसिक स्वास्थ्य  
मानसिक स्वस्थ्य भनेको मन स्वस्थ्य हुनु हो । हाम्रो मनलाई मस्तिष्कले सञ्चालन गरिरहेको हुन्छ । मस्तिष्कको क्रियाकलाप भनेको सोच्ने, विचार गर्ने, निणर्य गर्ने, सोचाइ, भावना, स्मरणशक्ति सन्तुलन गर्नु हो । मानसिक रूपमा अस्वस्थ्य मान्छेको धारणा, सोचाइ, विचारमा आम मान्छेभन्दा नितान्त फरक हुन्छ । जुन कुरालाई मानसिक अस्वस्थता र मनको रोग भनिन्छ ।  
५० देखि ६० लाख नेपालीमा मासिक रोग 

कुल जनसङ्ख्याको २० देखि २५ प्रतिशत नेपालीलाई यो समस्या छ ।  अर्थात् ५० देखि ६० लाख नेपालीलाई कुनै न कुनै किसिमको मानसिक तथा मनोवैज्ञानिक समस्या छ । त्यसको ८ देखि १० लाखलाई  उपचार गर्नुपर्ने र २ देखि ३ लाखलाई  अस्पताल नै भर्ना गर्नुपर्ने अवस्थाका रोगी रहेका छन् । अरू बाँकी सामान्य खालका मानसिक रोगीहरू रहेका छन् । मानसिक स्वास्थ्यमा स्केजुफेनियाँ भनेको कडा खालको रोग हो । यस्तो मानसिक रोग लागेको व्यक्तिलाई तुरुन्तै अस्पताल भर्ना गरेर निरन्तर चिकित्सकको निगरानीमा राख्नुपर्छ । 

नेपालमा सहज उपचार छैन 
गाउँमा मानसिक रोगीलाई विभिन्न तरिकाले राखेको पाइन्छ । बिरामीमा देखिएको समस्यालाई अस्पतालभन्दा पनि धामीझाँक्रीकोमा उपचारका लागि लानेको सङ्ख्या धेरै छ । 

सहरी क्षेत्रमा पनि मानसिक स्वास्थ्यसम्बन्धी उपचार गर्ने सङ्घसंस्था पर्याप्त मात्रामा छैनन् । जसले गर्दा ग्रामीण र सहरी दुवै क्षेत्रका नागरिकले मानिसक रोगको उपचार पाउन सकेका छैनन् । यस्तै नेपालमा मनोचिकित्सक र मनोवैज्ञानिकहरूको सङ्ख्या पनि निकै कम रहेको छ । बजेटको कुरा गर्ने हो भने मानसिक स्वास्थ्यमा सरकारले निकै कम बजेट विनियोजन गर्दै आएको छ । यसले गर्दा केन्द्रमा रहेको एउटा अस्पताल पनि सञ्चालन गर्न निकै कठिन भएको अवस्था छ । केन्द्रको मानसिक अस्पताल पनि ५० बेडमा मात्रै सीमित हुनपरेको अवस्था छ ।   झण्डै ५० प्रतिशतभन्दा बढी उपचार पाउनबाट वञ्चित भएका छन् । यसले गर्दा ठूलो सङ्ख्याका मानसिक रोगी धामीझाँक्रीकोमा धाउन बाध्य छन् ।

मानसिक रोगको लक्षण 
नरम र कडा खालको गरी मानसिक रोग २ प्रकारका हुन्छन् । जसलाई हामी स्केजुफेनिया, मेनिया, बाइपलर भनेर ३ सयदेखि ५ सयको हाराहारीमा मानसिक रोगी रहेका छन् । नयाँ नयाँ रोगहरू पनि थपिँदै छन् । मोबाइल, फेसबुक र बढी मात्रामा सामाजिक सञ्जालमा व्यस्त हुने व्यक्तिमा पनि मानसिक समस्या देखिन्छ । 

कडा खालको मानसिक रोग 
कडा खालको मानसिक रोग लागेको छ भने त्यो व्यक्तिको व्यवहार, काम गराइ, भावना, विचार हरेक कुरामा फरक हुन्छ । त्यस्तो व्यक्तिले म रोगी हुँ भन्दैन । अरू रोगी हुन म ठीक छु भन्ने सोचाइ हुन्छ । उपचार गर्न पनि जान मान्दैन । कसैको पनि वास्ता हुँदैन । आफ्नै संसारमा हिँडेको हुन्छ । 

नरम  मानसिक रोग
नरम खालको मानसिक समस्यामा परेको व्यक्तिको चाहिँ सोचाइ भावना, सबै कुरा आम व्यक्तिको जस्तै हुन्छ । तर भित्रभित्रै उसको मनलाई सताइरहेको हुन्छ । जस्तै; सामान्य खालको मानसिक समस्या भनेको डर, चिन्ता, डिप्रेसन, काप्ने हुन्छ । अहिले विद्यालयका छात्राहरू चिच्याउने, डराउने, धामी जस्तो काप्ने गर्छन्, त्यो पनि एक किसिमको मानसिक समस्या हो ।

मानसिक रोग लाग्नुको कारण 
अहिलेको यो वर्षको विश्व मानसिक स्वास्थ्य दिवसको नाराले किशोर किशोरीकोे स्वास्थ्यलाई ध्यान दिइएको छ । पछिल्लो समय बलात्कारका घटना बढेका छन्, किशोरीहरू प्रभावित छन् । यस्तै दाइजो प्रथा, बाल विवाह, छाउपडी प्रथा जस्ता कुराले महिलाको मानसिक स्वास्थ्यमा समस्या परिरहेको छ । किशोर, किशोरीको मानसिक स्वास्थ्यमा पनि ध्यान दिएको पाइँदैन । यो उमेरका व्यक्ति झगडालु, झनक्क रिसाउने हुन्छन् । यस्तै एक्लोपनको महसुस हुनु डिप्रेसनमा पर्ने, कुलतमा फस्ने र कामको जिम्मेवारी, अध्ययन आदि गर्दा किशोर, किशोरी उमेर समूहमा अलि बढी तनाव हुन्छ । 

संयुक्त परिवारमा बस्ने बालबालिका तथा किशोर किशोरीहरूमा यो समस्या कम हुन्छ । हिजोआज  बालबालिकालाई होस्टलमा राखेर बुबाआमा विदेश जाने प्रचल बढेको  छ । यस्ता बालबालिकामा यस्तो समस्या बढी पाइएको छ । बाबुआमाबाट टाढा रहेका बालबालिका तथा किशोरकिशोरीहरूलाई सामाजिक सञ्जाल, परिवारले समय नदिँदा कुलतमा लाग्ने, गतलबाटोमा हिँड्ने  गर्छन् । यस्त यावत कारण पनि मानसिक रोग लाग्न सक्छ । मानसिक रोग लागेकै कारण किशोर–किशोरीले आत्महत्या गर्ने दर पनि बढेको छ । ५० देखि ७५ प्रतिशत मानसिक रोग किशोर किशोरी उमेरबाट सुरु हुन्छ । यही समयमा बालबालिकाको ख्याल गर्न सकेनौँ भने मानसिक रोगले दीर्घकालीन असर गर्न सक्छ । 

समाज र मानसिक स्वास्थ्य  
नेपाली समाजले मानसिक स्वास्थ्यलाई रोगको रूपमा हेरेको पाइदैन । मानसिक स्वास्थ्यलाई पूर्वजन्मको पाप, गल्ती गरेका कारण यस्तो भएको हो भन्ने र रोगीलाई सहयोग नगर्ने चलन अझै पनि हराएको छैन । उदाहरणका लागि केही दिन पहिला काठमाडौँको गङ्गबुमा बर्दी लगाएको प्रहरी र स्थानीयले एक मानसिक रोगीप्रति गरेको दुरव्र्यवहारलाई हामीले सम्झन सक्छौँ । राजधानीमा बस्ने मान्छेको सोचाइमा त मानसिक रोगीलाई गर्ने व्यवहारमा परिवर्तन आएको छैन भने ग्रामीण क्षेत्रमा बस्ने व्यक्तिले कहिले बुझ्ने होला । 

वर्षाैंसम्म अपराधीलाई जसरी मानसिक रोगीलाई डोरीले बाँधेर, खोरमा थुनेर राखेको हामीले देख्दै आइरहेका छौँ । मैले भन्न खोजेको कुरा जसरी शरीरमा कुनै पनि समस्या हुँदा परिवारका सबै सदस्यले ख्याल गर्छन् । त्यो कुरा मानसिक समस्या भएको व्यक्तिमा पाइँदैन । तत्कालको कुरा गर्ने हो भने मानसिक स्वास्थ्य सरकार र नागरिकको प्राथमिकतामा परेको छैन ।
हाम्रो समाजमा मानसिक रोगको परीक्षण, औषधि उपचार नै हुँदैन भन्ने अन्धविश्वास छ । यसले गर्दा मानसिक रोगीलाई घृणा र नकारात्मक रूपमा हेर्ने गरिन्छ र   अन्य रोगी जसरी मानसिक रोगीको खुलेर उपचार गर्न अस्पताल लगिँदैन ।  

शिक्षाले पनि मानसिक रोगीको उपचारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । विद्यालयमा शारीरिक स्वास्थ्यको बारेमा अध्यापन गराइन्छ तर मानसिक स्वास्थ्यको बारेमा अध्यापन गराइँदैन । नेपालमा जति पनि मानसिक रोगी छन् त्यसको ५० प्रतिशत १४ वर्ष उमेरदेखि सुरु हुन्छ । यसैले विद्यालयदेखि नै मानसिक स्वास्थ्यको बारेमा अध्ययन अध्यापन हुन जरुरी छ ।

धेरै मानसिक रोगको उपचार सम्भव छ
जीवनको कालखण्डमा १७ देखि २० प्रतिशत व्यक्ति डिप्रेसनमा जानसक्ने सम्भावना हुन्छ । समाज, राजनीतिक अस्थिरता, जीवनमा घटेका घटना, दुव्र्यवहारमा परियो भने मानसिक समस्यामा पर्न सकिन्छ  । जोखिम पनि त्यतिकै छ । जोसुकै पनि मानसिक समस्यामा पर्न सक्छ । 

जीवनमा आइपर्ने विभिन्न समस्या तथा घटना आइपर्यो र आफूमा नकरात्मक परिवर्तन भएको महसुस भएमा मानसिक रोग परामर्शदाता कहाँ गएर परामर्श लिनुपर्छ । 

समयमै रोगबारे परामर्श लिएमा धेरै हदसम्म मानसिक रोग निको हुन्छ । गम्भीर र कडा प्रकृतिको मानसिक रोग छ भने औषधि खानुपर्ने हुन्छ । तर नरम खालको छ भने साइको थेरापी गर्दा निको हुन्छ । 
कतिपय मानसिक रोगीलाई लामो समयसम्म औषधि खानुपर्ने हुन्छ । कुनै रोगी औषधि खाए पछि छोटो अवधिमा नै पूर्ण रूपमा निको हुन्छन् भने कसैलाई जीवनभरी नै औषधि खानुपर्ने हुन्छ । तर जे भए पनि औषधि सेवनपछि मानसिक रोगीले बिस्तारै सामान्य मान्छे जसरी जीवन बिताउन सक्छ । 

सुगर, प्रेसरको औषधि खाएर पनि मान्छेले सामान्य जीवन विताइरहेका छन् । मानसिक रोगीले खाने औषधि पनि त्यस्तै हो । 

अहिले नेपालमा कति र कस्तो अवस्थामा मानसिक रोगी छन् भनेर सरकारले अध्ययन अनुसन्धान गरेको छैन । पहिलो नम्बरमा अनुसन्धान गर्नुपर्ने अवस्था छ । दोस्रो, विद्यालयको पाठ्यक्रममा मानसिक स्वास्थ्यलाई राख्नुपर्याे । जनशक्ति बढाउने र स्थानीय तहसम्म यो सेवालाई पुर्याउनु पर्यो । नागरिक मानसिक समस्यामा परेको छ भने देशलाई नै घाटा हुन्छ ।  मानसिक समस्यामा परेको व्यक्तिले उत्पादनमूलक काम गर्न सक्र्दैन । मानसिक रोगीको सङ्ख्या थपिनु भनेको राष्ट्रका लागि पनि बेफाइदा हो । 

समाधानको उपाय 
मानसिक स्वास्थ्यका बारेमा खुलेर कुराकानी गर्ने वातावरण तयार गर्नुपर्छ । मानसिक स्वास्थ्यको बारेमा जनाकारी दिने जनशक्ति कम रहेको छ । यसप्रति सरकारले पहल गर्नुपर्छ । मानसिक स्वास्थ्यका लागि बजेट एकदमै कम छ । कुल बजेटको १० प्रतिशत स्वास्थ्य क्षेत्रमा छुट्याउनुपर्ने हुन्छ तर त्यो अहिलेसम्म लागू भएको पाइदैन । यसले गर्दा मानसिक स्वास्थ्य क्षेत्रमा बजेट अपुग छ । स्वास्थ्य भनेको शारीरिक मात्रै होइन, मानसिक स्वास्थ्य पनि स्वास्थ्य हो । यो सेवालाई स्थानीय तहसम्म पुर्याउँनुपर्छ । 

नेपालको संविधानले पनि स्वास्थ्यलाई मौलिक हकमा राखेको छ । तर मानसिक स्वास्थ्यलाई खासै चासो दिएको पाइँदैन । अस्पतालमा पनि सबै रोगको विभाग नै खडा गरिएको हुन्छ तर मानसिक स्वास्थ्यको विभाग निकै कम स्वास्थ्य संस्थामा मात्र भेटिन्छन् ।
 

अञ्जु तामाङ

अञ्जु तामाङ रातोपाटीका लागि  स्वास्थ्य बिटमा रिपोर्टिङ गर्छिन् ।   

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ