केन्द्रीय संस्करण

प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य

person access_timeअसोज २४, २०७५ chat_bubble_outline0

धनगढी — सुदूरपश्चिम प्रदेशसभाको वर्षे अधिवेशन मङ्गलबार अन्त्य गरिएको छ । 

प्रदेशसभाको बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखको सचिवालयबाट प्राप्त प्रदेशसभाको अधिवेशन अन्त्य भएको सम्बन्धी पत्र पढेर सुनाएका थिए । 

गएको जेठ २ गते शुरु भएको वर्षे अधिवेशनभर ४७ दिनमा ५३ बैठक बसेको सभामुख थापाले बैठकमा जानकारी दिए । प्रदेशका नामाङ्कन र स्थायी राजधानी रहने स्थानको टुङ्गो यही वर्षे अधिवेशनले लगाएको छ । 

प्रदेशको नाम सुदूरपश्चिम प्रदेश र स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिका– २ र ४ राख्ने प्रस्ताव संसद्को दुईतिहाइले पारित गरेको थियो । 

यस्तै प्रदेशसभा गठन भएको झण्डै आठ महीनापछि प्रदेशसभामा रहेका विभिन्न समितिका सभापतिको निर्वाचन पनि यही अधिवेशनले गरेको छ । 

वर्षे अधिवेशनले स्थानीय तहको कानून निर्माण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, गाउँ तथा नगरसभा सञ्चालनसम्बन्धी विधेयक, स्थानीय तहलाई वित्तीय हस्तान्तरण गर्ने सम्बन्धी विधेयक, प्रदेश आकस्मिक कोष सम्बन्धी विधेयक, स्थानीय तहका पदाधिकारीको सेवा, सुविधासम्बन्धी विधेयक, मुख्यमन्त्री तथा मन्त्री र प्रदेशसभाका पदाधिकारीको सेवा सुविधासम्बन्धी विधेयक, अर्थ विधेयक, कर तथा गैरकर राजश्व लगाउने र उठाउनेसम्बन्धी विधेयकजस्ता १५ विधेयक पारित गरेको छ । 

मङ्गलबारको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले सुदूरपश्चिम प्रदेशको आर्थिक ऐन ९पहिलो संशोधन० २०७५ को दफा १० लाई संशोधन गर्नेसम्बन्धी विधेयकलाई पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई पारित गरिएको छ । 

यस्तै आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले प्रस्तुत गरेको प्रशासकीय कार्यविधि नियमित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ लाई समेत बैठकले पारित गरेको छ । 

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ