बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बोगटीको अन्त्येष्टी आज नहुने, अधुरै रह्यो उनको यस्तो सपना

मङ्गलबार, २३ असोज २०७५, १७ : ५५
मङ्गलबार, २३ असोज २०७५

काठमाडौं– आज दुर्घटनामा निधन भएका नेपाल कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको अन्त्येष्टी केही दिन ढिलो हुने भएको छ ।  अष्ट्रेलियामा रहँदै आएकी उनकी एक छोरीले बुबाको मुख हेर्ने अन्तिम इच्छा जाएर गरेका कारण उनको अत्येष्टी आज नगरिने भएको हो ।

 ललितपुरको टिकाथलीस्थित आफ्नै घरअगाडि रुखले किचेर सख्त घाइते भएका उनको उपचारका क्रममा ललितपुरस्थित बिएण्डबी अस्पतालमा  निधन भएको हो । 

घाइते भएलगत्तै अध्यक्ष बोगटीलाई ललितपुरको ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा उपचारका लागि लगिएको थियो । अस्पताल पुर्याएलगत्तै अस्पतलालले उनको निधनको पुष्टि गरेको हो । उनको पार्थिव शरीर आजै पाटन अस्पतालमा पोष्टमार्टम गरिएको छ । 

उनको निधनको खबर फैलिएपछि बि.एण्ड.बि तथा पाटन अस्पतालमा कृष्ण मल्ल, शिव श्रेष्ठ, रबिन्द्र खड्का, लय संग्रौला, सरिता लामिछाने, कबिता शर्मा, रवि गिरी, रेजिता उप्रेती, दिब्येश्वर गौतम लगायत दर्जनौ कलाकारकर्मी पुगेका थिए ।

अस्पताल पुगेका अधिकाम्स चलचित्रकर्मीले उनको योगदान र उनले आटेका कामको चर्चा गरेका थिए । ‘छोरा युएसए आर्मीमा भएकोले बिदा मिल्न सक्ने नसक्ने एकिन भएको छैन’ कलाकार रविन्द्र खड्काले भने ‘अष्ट्रेलियाबाट छोरी आएपछि मात्र अन्तिम संस्कार गरिने कुरा अहिले भएको छ ।’ बोगटीको शव अन्तिम श्रद्धाञ्जलीका सुरुमा उनकै घर नजिक बस्तिमा र त्यसपछि प्रज्ञा प्रतिष्ठानमा राखिने खड्काले जानकारी दिए । बोगटीको शवलाई राष्ट्रिय सम्मानसहित अत्येष्टी गर्न नेपाल सरकारलाई समेत अनुरोध गरिएको उनको भनाई रहेको छ । 

चलचित्र छायाँकनका लागि बोगटी स्टुडियो निर्माण गरेका बोगटी साना तथा ठूला पर्दाका राम्रा कलाकार मानिन्थे । उनले केही चलचित्र पनि निर्माण गरेका थिए । बोगटी ‘स्वाभिमान’ र ‘माया गर ल’ चलचित्रका निर्माता हुन् ।

उनले दर्जन बढी चलचित्र तथा टेलिश्रृंखलामा अभिनय गरेका छन् ।  हाल चलचित्र कलाकार संघका अध्यक्ष समेत रहेका बोगटी आफनै निजी लगानीमा कलाकार संघको भवन निर्माणको मुद्दा उठाएर चौधौं महाधिवशेनबाट संघको नेतृत्वमा पुगेका थिए ।

भवनका लागि जग्गाको व्यवस्था गर्ने काममा दिनरात खटिएका बोगटीको कलाकार संघका लागि भवन खडा गर्ने सपना भने अधुरै रह्यो ।  त्यस्तै उनको निधनप्रति नेपाल चलचित्र निर्माता संघले गहिरो दुःख व्यक्त गरेको छ । आज एक शोक विज्ञप्ति जारी गर्दै संघले बोगटीको मृत्युले चलचित्र क्षेत्रलाई अपूरणीय क्षति पुगेको जनाएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप