बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिभुवन विमानस्थलमा १ बोतल पानीको सय रुपैयाँ, चिया कपको दुईसय !

मङ्गलबार, २३ असोज २०७५, १६ : २६
मङ्गलबार, २३ असोज २०७५

काठमाडौं– ‘डोमेस्टिक टर्मिनलमा १ लिटर पानीको एकसय रुपैयाँ पर्छ, कत्तिसारो महँगो हो ?’ केही दिनअघि त्रिभुवन विमानस्थल नागरिक उड्ययन प्राधिकरणका महा–प्रबन्धक राजकुमार क्षेत्रीसँग उनका एक नातेदार युवतीले गुनासो गरिन् ।  उनको गुनासोपछि क्षेत्रीले मातहतका कसैलाई टेलिफोन गरे अनि तातो–चिसो पेय पदार्थ कत्तिमा बिक्री हुने गरेको छ, गोप्य रुपमा बुझेर आफुलाई रिपोर्ट गर्न निर्देशन दिए ।

 विमानस्थलमा निर्देशन दिने, रिपोर्ट गर्ने काम त चलिरहन्छ, तर दैनिक सयौं यात्रुको चाप हुने डोमेस्टिक तर्फको महँगी र अस्तव्यस्तता अहिलेसम्म नियन्त्रण हुन सकेको छैन् । 

‘हरेक डोमेस्टिक प्यासेन्जरबाट त्रिभुवन विमानस्थल नागरिक उड्ययन प्राधिकरणले २ सय रुपैयाँ एयरपोर्ट ट्याक्स उठाउने गरेको छ’ लगातार विमानस्थलबाट आवतजावत गरिरहने एक प्रतिष्ठित व्यवसायी भन्छन्, ‘तर, यसको सुधार गर्ने र सहुलियत दरमा यात्रुले चिया–कफी खान पाउने व्यवस्था गर्नेतर्फ कसैले ध्यान दिएको पाईंदैन् । 

त्रिभुवन विमानस्थलको डोमेस्टिक टर्मिनलतर्फ लामो समयदेखि अविन ताम्राकार र सुवास श्रेष्ठले पसल सञ्चालन गर्दै आएका छन् । उनीहरुले सामान्य १ कप चियाको १५० रुपैयाँदेखि २ सय रुपैयाँसम्म असुल्ने गरेको पाइएको छ । १ लिटर मिनरल वाटरको १ सय रुपैयाँ पर्छ । यसबारे सरकारको कुनै पनि निकायले अनुगमनसम्म गर्ने आँट गरेको छैन् । 

त्रिभुवन विमानस्थल नागरिक उड्ययन प्राधिकरणले क्यान्टिन सञ्चालन गरेर यात्रुहरुलाई सहुलियत दिन सक्ने भएपनि टेण्डरको बहाना पुरा गरेर लामो समयदेखि सुवास श्रेष्ठलाई नै एयरपोर्टको महत्वपूर्ण स्पेस सुम्पिँदै आएको छ । 

‘एउटा चिया पसलले ३ बर्षमा ७० लाख तिर्नुपर्छ’  त्रिभुवन विमानस्थल नागरिक उड्ययन प्राधिकरणका महा–प्रबन्धक राजकुमार क्षेत्री भन्छन्, ‘अन्यत्र भन्दा केही महँगो त हुन्छ, तर अचाक्ली महँगो भएको पाईए हामी नियन्त्रण गर्छौं ।’ 

त्रिभुवन विमानस्थलले पेय पदार्थका लागी पसल भाडामा लगाउने टेण्डर गर्दा मूल्यको डेढीभन्दा लिन नपाउने भनेर तोक्नुपर्ने भएपनि त्यसरी नतोकिएको पाइएको छ ।   डोमेस्टिक तर्फमात्रै विमानस्थले यात्रुबाट दैनिक कम्तिमा २० लाख प्यासेन्जर सर्भिस चार्जबापत उठाउने गरेको छ । तर, त्यहाँको व्यवस्थापन लाजमर्दो छ ।

प्यासेन्जर सर्भिस चार्ज वापतको रकमले यात्रु बस्ने कुर्सी र एयर कन्डिसन सिस्टम अप टु डेट राख्नुको साटो विमानस्थलले उक्त रकम बोनस बाँड्ने गरेको त्रिभुवन विमानस्थलका एक अधिकृतले रातोपाटीलाई जानकारी दिए । 

‘विगतमा व्यवस्थापनमा समस्या थियो, कुर्सी र एयर कन्डिसननै थिएन्’ त्रिभुवन विमानस्थल नागरिक उड्ययन प्राधिकरणका महा–प्रबन्धक राजकुमार क्षेत्री भन्छन्, ‘अहिले कुर्सी फालाफाल छ, हाम्रो इन्फ्रास्ट्रक्चर नै पुरानो छ, अब डेढ महिना पख्नुस् विगतभन्दा फरक पाउनुहुन्छ ।’  

त्रिभुवन विमानस्थल हरेक दिन मर्मतको नाममा १५–१५ मिनेटको दरले ३ पटकसम्म बन्द हुने गरेको छ । यसरी एकै दिनमा तीनपटक सम्म विमानस्थल बन्द हुँदा जहाज आकाशमा लामो समय होल्ड हुने गरेको छ । त्यसले गर्दा जहाजको कस्ट मात्रै बढ्दैन, हवाई इन्धनको खपत समेत बढ्ने गरेको छ । त्यसबारे विमानस्थल व्यवस्थापन र पर्यटन मन्त्रालयले दिर्घकालिन समस्या समाधानका लागि कुनै कदम चाल्न सकेको छैन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप