शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अन्ततः बामदेव गौतम काठमाडौँबाटै चुनाव लड्ने : मानन्धर भन्छन्, ‘पार्टीको निर्णय नै मेरो निर्णय’

मङ्गलबार, २३ असोज २०७५, १५ : ००
मङ्गलबार, २३ असोज २०७५


काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्य वामदेव गौतमको सांसद बन्ने चाहना पुरा हुने भएको छ । काठमाडौं–७ बाट निर्वाचित सांसद रामवीर मानन्धरले गौतमका लागि सिट खाली गर्न सहमत भएका छन् । 

सोमबार बसेको नेकपाको सचिवालय बैठकमा गौतमलाई काठमाडौँबाट उपनिर्वाचनमार्फत् संसदमा भित्र्याउने विषयमा छलफल भएको थियो । 

सांसद मानन्धरले दिएको राजीनामा पत्र सचिवालयमा छलफल भएको थियो । नेता गौतमलाई सांसद बनाउने विषयमा सचिवालयका अन्य नेता सहमत भएपनि रक्षामन्त्री समेत रहेका सचिवालयका सदस्य ईश्वर पोखे्रलले भने विरोध जनाएका थिए । 

उनले यो निर्णय गलत भएको भन्दै पार्टी नेतृत्वलाई सच्चाउन सुझाब दिएको एक नेताले बताए । 

‘सचिवालय बैठकमा यो विषयमा छलफल भएको सत्य हो । तर औपचारिक निर्णय बुधबारको बैठकले गर्छ । नेता गौतमले रातोपाटीसँग भने, ‘उहाँ (सांसद मानन्धर) ले राजीनामा लेखेर दिनुभएको सत्य हो । तर अझै केहि कुरा मिल्न बाँकी छन् । भोलि (बुधबार)को सचिवालय बैठकले यस विषयमा थप निर्णय गर्छ,’ नेता गौतले बताए । 

सांसद मानन्धरले राजीनामाका लागि दिएको निवेदन संसदबाट स्वीकृत भए लगत्तै गौतमको विषयमा औपचारिक निर्णय हुने सचिवालय एक नेताले बताए । 

पार्टीको निर्णय मान्न तयार –मानन्धर
सांसद मानन्धरले नेता गौतमका लागि आफुँ राजीनामाका लागि तयार रहेको रातोपाटीलाई बताएका छन् । सांसद मानन्धरले भने, ‘सोमबार पार्टीको सचिवालय बैठकमा यो विषयमा छलफल भैसकेको छ । अव मेरो विषयमा पार्टीले जे निर्णय गर्छ, म मान्न तयार छु ।’ 

उनले भने ‘पार्टीको निर्णयनै मेरो निर्णय ।’ सांसद मानन्धरले राजीनामा लेखेर बुझाईसकेका छन् । तर पार्टीबाट औपचारिक निर्णय भैसकेको छैन । 

निर्णय रोक्ने खेलपनि भएको छ

नेता गौतम निकट एक नेताका अनुसार वामदेवलाई काठमाडौँबाट चुनाव लड्न नदिन सक्रियता पूर्वक लागेको बताए । ‘विभिन्न ठाउँमा ईश्वर कमरेडले बामदेवलाई सांसद बनाउन हुदैँन भनेर हिँड्नु भएको छ । पार्टी महासचिवमा विष्णुपौडेललाई बनाएको प्रति पनि उहाँको आपत्ति रहँदै आएको छ । त्यसमा वामदेवले आफुँलाई असयोग गरे भन्ने आरोप उहाँको छ ।’ ति नेताले भने ‘यदि अहिले बामदेव लाई सांसद बन्न रोक्न सके पछि प्रधानमन्त्रीको पालो आउँदा मै बन्छु भन्ने चाहना उहाँको होला तर त्यो विल्कुल गतल हो । ई्रश्वर कमरेडले यो निर्णय रोक्नुपर्छ भनेर लागिरहनु भएको छ । तर उहाको प्रयास सफल हुदैँन ।’ ति नेताले बताए ।  

नेता गौतमको सांसद चाहना किन ?

तत्कालीन बामगठबन्धनको तर्फबाट साझा उम्मेदवारका रूपमा बर्दिया–१ बाट चुनाव लडेका गौतम काँग्रेस नेता सञ्जय गौतमसँग पराजित भएका थिए । नेकपाको सचिवालयमा गौतम र नारायणकाजी श्रेष्ठ मात्रै सांसद छैनन् । श्रेष्ठले गोरखा–२ मा बाबुराम भट्टराईसँग पराजित भएका थिए ।   

नेता गौतमले अन्तर्घातका कारण आफूले चुनाव हार्नुपरेको आफुँ निकट नेताहरुसँग बताउँदै आएका छन् । नेता गौतमले यस्तो बताएपछि तत्कालीन एमालेले छानविन समिति पनि बनाएको थियो । तर उक्त समितिको विस्तृत प्रतिवेदन भने बाहिर आएन । 

नेता गौतम अन्तर्घात गरेर आफूलाई हराउने नेता–कार्यकर्तालाई चुनाव जितेरै देखाउन चाहन्छन् । ‘उहाँ (बामदेव) मा चुनाव जितेरै सांसद हुने मन छ । यो अन्तर्घात गर्नेलाई जवाफ पनि हुन्छ भन्ने उहाँको बुझाइ छ ।’ नेकपा सचिवालयका एक सदस्यले रातोपाटीसँग भने । 

नेकपाका उच्च स्रोतहरूले बताएअनुसार गौतम प्रतिनिधिसभाकै सदस्य बन्नका लागि इच्छुक हुनुमा उनमा प्रधानमन्त्री बन्ने अपेक्षाले पनि काम गरेको छ । मन्त्री हुन राष्ट्रियसभाको सदस्य भए पनि हुन्छ तर प्रधानमन्त्री बन्नका लागि प्रतिनिधिसभाकै सदस्य हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

‘भविष्यमा प्रधानमन्त्रीको सम्भावना हुन आफू पनि दौडमा रहन सकियोस् भनेर उहाँले प्रत्यक्ष चुनाव लडेर संसदमा प्रवेश गर्ने मन बनाउनु भएको छ,’ बामदेव निकट मानिने तत्कालिन एमालेका एक नेताले बताए । 

तत्कालिन माओवादीका अध्यक्ष प्रचण्डले एक पटक संसदमै तत्कालीन एमालेभित्र आफूले धेरै नेतालाई प्रधानमन्त्री बनाएको, अब शीर्ष नेतामध्ये एक जना रहेको र उनी पनि भविष्यमा प्रधानमन्त्री बन्न सक्ने बताएका थिए । त्यसपछि एक पत्रिकालाई दिएको अन्तरवार्तामा नेता गौतमले पनि आफू भविष्यमा प्रधानमन्त्री बन्न सक्ने बताएका छन् ।

को हुन् सांसद मानन्धर ?

काठमाडौं ७ बाट निर्वाचित मानन्धर दोस्रो पटक सांसद निर्वाचित भएका हुन् । मानन्धर १८ हजार १ सय २ मत प्राप्त गरी विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी राप्रपाका बिक्रम थापाले १० हजार ७९ मत पाएका थिए । 

मानन्धरले एसएलसीसम्मको अध्ययन गरेका छन् । २०३६ सालमा मालेबाट राजनीतिक क्षेत्रमा प्रवेश गरेका मानन्धर २०४६ सालदेखि तत्कालिन नेकपा एमालेमा सक्रिय थिए । २०४९ सालमा काठमाडौं वडा नंं १६ को वडाअध्यक्ष भएका मानन्धर २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा विजयी भएका थिए । 

यस अघिका प्रयास असफल
नेता गौतमलाई उपनिर्वाचन मार्फत सांसद बनाउने बिषयमा यस अघि धेरै जिल्लामा प्रयास भए ।  डोल्पाबाट पर्यटन राज्यमन्त्री धनबहादृुर बुढालाई राजिनामा गराएर डोल्पामा चुनाव लड्ने योजनामा थिए । तर जनताले दबाब दिएको भन्दै बुढाले राजीनामा दिन मानेनन् । त्यसपछि बाँकेका सांसद नन्दलाल रोकायसँग राजीनामाका लागि भएको प्रयास पनि असफल रह्यो । त्यसलगत्तै बैतडीबाट दामोदर भण्डारी, प्युठानबाट जनमोर्चाकी दुर्गा पौडेललाई राजीनामा गराएर उपनिर्वाचन लड्ने योजना सफल भएको थिएन । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बबिता शर्मा
बबिता शर्मा
लेखकबाट थप