बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा ५ करोडको इन्स्योरेन्स गराएर के गरिँदैछ नेपालीमाथि ?

बैङ्किङ फ्रड कि नेपाली मारेर इन्स्योरेन्स क्लेमको योजना ?
मङ्गलबार, २३ असोज २०७५, ११ : ०९
मङ्गलबार, २३ असोज २०७५

काठमाडौँ । पाँचखाल–७ होक्से, काभ्रेका प्रल्हाद सापकोटा असारदेखि २ पटक भारतको दिल्लीलगायतका विभिन्न स्थानमा पुगिसके । भदौको ११ गते मात्रै उनी दोस्रो पटक दिल्ली पुगेर फर्किएका छन् । 
प्रल्हाद मात्रै होइन, उनकै गाउँबाट यतिबेला ७ जना महिला र पुरुषलाई भारतको पन्जाब, दिल्ली, यूपीलगायतका स्थानमा लगिएका छन् । 

गाउँमै रहेका सुरज नाम गरेका एक दलालमार्फत् प्रल्हादलगायतका व्यक्तिहरू भारतको विभिन्न सहरमा पुगेका छन् । तर दलालले किन र के कामका लागि उनीहरूलाई भारत पुर्याइरहेका छन्, न जानेहरूलाई थाहा छ, न त दलालले नै सही कुरा भन्ने गरेका छन् । 

यस्तो छ दिल्ली कथा
पाँचखाल होक्सेका बासिन्दाहरू सामान्यतः आर्थिक रूपमा कमजोर छन् । आर्थिकरूपमा विपन्न भएपछि उनीहरूमाथि चलखेल गर्न सकिन्छ भन्ने दलालहरूले राम्रैसँग बुझेका छन् । 

लामो समय पन्जाब, दिल्लीलगायतका स्थानमा बसोबास गर्ने सुरज लामा भन्ने सुरज तामाङ गएको वैशाखमा एकाएक गाउँमा देखा परे । लामो समय भारतमा बसेका सुरजको हाइफाई राम्रै छ । उनै सुरजले लामो समयदेखि भारतका बैङ्कहरूमा काम गर्ने गरेको जानकारी गाउँलेहरूलाई दिए । तर भारतको बैङ्कमा के र कस्तो काम गर्ने भन्ने बारे भने सुरजले केही बताएनन् । मात्र ग्राहक खोज्ने एजेन्ट रहेको सुरजले गाउँलेसँग बताएका छन् । 

२० लाख भारतीय रूपैयाँको ‘ललिपप’
यिनै सुरजले होक्सेका गाउँलेहरूलाई भारतमा गएर बैङ्क खाता खालेर ऋण निकाले प्रतिव्यक्ति २० लाख भारतीय रूपैयाँ पाइने आश्वासन गाउँलेहरूलाई दिए । जाबो बैङ्कमा सामान्य खाता खोल्दा २० लाख भारतीय रूपैयाँ पाउने भए को पो जान चाहँदैन र ! सुरजसँग ७ जना मानिस बैङ्कमा खाता खोल्ने प्रयोजनका लागि दिल्ली लागे । 

सुरजले गाडीको बाटो हुँदै उनीहरूलाई दिल्ली पुर्याए । 

नेपाली नागरिकहरू दिल्ली गएर उतै बैङ्क खाता खोल्ने कुरा त्यति सहज विषय होइन । त्यसमाथि बैङ्कबाट ऋण निकाल्ने कुरा त झनै असम्भव जस्तै हो । तर पनि सुरजले यो सबै व्यवस्था हुने भन्दै होक्सेबाट ७ जना व्यक्तिलाई बैङ्कमा खाता खोल्ने भन्दै दिल्ली पुर्याए । 

पहिलो चरणमा मोहन भन्ने प्रल्हाद सापकोटा र उनकी श्रीमतीलाई सुरजले दिल्ली पुर्याए । उनीहरूको भारतीय परिचय पत्र, रासन कार्ड र प्यान कार्ड बनाइयो । 

तर भारतमा उनीहरूको आफ्नै नाममा यी सबै कागजपत्र बनाइएको छैन । बरु भारतीय ठेगाना राखेर भारतीय व्यक्तिकै नाममा राष्ट्रिय परिचयपत्र, रासनकार्ड तथा प्यान कार्ड तयार पारिएको छ । यो सबै काम गर्नका लागि पन्जाब, दिल्ली र यूपीमा दलालहरू तैनाथ रहेका छन् ।

यसरी खोलियो भारतीय बैङ्कमा खाता
प्रल्हादका अनुसार दलालहरूले उनको नाम हुकुम चन्द बनाइदिएका छन् । त्यही हुकुम चन्दको नामबाट दिल्लीको प्रतापबिहारमा रहेको एक बैङ्कमा पल्हादको खाता खोलिएको छ । 

उनलाई आफ्नो खाता खोलिएको बैङ्कको खास नाम थाहा छैन । यद्यपि बैङ्कको रङ हरियो रहेको भने प्रल्हाद बताउँछन् । 

दलालहरूले उनको जन्ममिति १९६५ जुन २६ बनाएका छन् । जन्ममिति अनुसार उनी यतिबेला ५३ वर्षका भए । तर उनलाई खासमा बैङ्कमा खाता खोल्ने र त्यसबाट ऋण निकाल्ने भनिएको रहेछ । भारतीय

ठेगाना र भारतीयकै नाममा बैङ्क खाता खोल्ने भएकाले केही समस्या नपर्ने पनि उनलाई आश्वस्त पारिएको छ ।

दलालहरूको भनाइ र योजनाअनुरूप प्रल्हाद पहिलोपटक असारमा दिल्ली पुगे र त्यहाँको आधिकारिक कागजपत्र बनाएर बैङ्क खाता खोले अनि नेपाल फर्किए । 

यसबीचमा उनले बैङ्कले जारी गरेको चेकमा हस्ताक्षर गरेर सबै चेक दलाललाई नै फिर्ता दिएका छन् । 

त्यसको करिब ४५ दिनपछि उनी फेरि तिनै दलालको पछि लागेर दिल्ली पुगे । 

यसपटक उनलाई ऋण निकाल्नका लागि बोलाइएको थियो । 

यसपटक बैङ्कले प्रल्हादको औँठाछाप तथा आँखाको रेटिनाको नमुना पनि बैङ्कले राख्यो । त्योसँगै बैङ्कले प्रल्हादको फोटो पनि आफै खिचेर राख्यो ।

‘खासमा खाता खोल्नेबित्तिकै ऋण निकाल्न नमिल्ने रहेछ । त्यही भएर पहिले कागजात बनाएर खाता मात्रै खोलेको र अहिले ऋण लिएको रहेछ ।’ प्रल्हादले रातोपाटीसँग भने ।

दोस्रो पटक दिल्ली जाँदा प्रल्हाद करिब १ महिना बसे । खानपिन र बसाइमा उनलाई कुनै कसर बाँकी राखिएन । जे खान्छन् खान दिइयो । 

बैङ्कमा दलालको सेटिङ, दिल्लीको घर नै नामसारी
बैङ्कमा खाता खोल्ने र ऋण लिने प्रक्रियाका लागि प्रल्हादको नाममा दिल्लीको एउटा घर नै नामसारी गरिएको छ । पल्हादका अनुसार दिल्लीको प्रतापबिहारमा रहेको एउटा ठूलो घर उनको नाममा नामसारी गरिएको छ । तर उक्त घरको कुनै कागजपत्र उनीसँग छैन । 

त्यति मात्रै होइन, जुन नाममा उनको कागजपत्र बनाइएको छ, ती कागजहरू पनि प्रल्हादसँग छैनन् भने उनको हकदार पनि एक भारतीय नागरिकलाई नै बनाइएको छ । 

बैङ्कमा ऋण लिनका लागि जाँदा उनको घाँटीमा ‘नेकब्रेस’ लगाइयो, त्यो पनि दलालको डिजाइनअनुसार । अनि भनियो, घाँटीको अप्रेसन गरेको कारण डाक्टरले नबोल्नु भनेका छन् । बैङ्कमा रहेका व्यक्तिहरूले सोधेको प्रश्नको उत्तर उनले इसाराले दिए र मात्र एउटा सामान्य हस्ताक्षर गरियो । त्यसपछि उनको ‘लोन’ पास भयो ।

यो कति वर्षको कस्तो ‘लोन’ हो प्रल्हादलाई थाहा छैन । तर प्रल्हादलाई यति थाहा छ कि त्यही लोनका माध्यमबाट दलालहरूले टीभी, फ्रिज, इन्भर्टरलगायतका घरायसी वस्तु किनिसकेका छन् । त्यसबाहेक लगत्तै गाडी पनि किन्ने योजना दलालको रहेको प्रल्हाद बताउँछन् । यो कुराकानी तयार पार्दासम्म (असोज ६) सायद गाडी पनि किनिसकेको हुनसक्ने प्रल्हाद बताउँछन् ।

इन्स्योरेन्सकै लागि वार्षिक २ लाख रूपैयाँ 
लोन लिएसँगै प्रल्हादको भारतमै इन्स्योरेन्ससमेत गरिएको छ । प्रल्हादको अनुसार लोन लिएकै समयमा इन्स्योरेन्सका लागि भन्दै २ लाख भारतीय रूपैयाँ प्रिमियमस्वरूप तिरिएको छ । यो म्यादी जीवन बिमा हो कि कस्तो प्रकृतिको बिमा हो प्रल्हादलाई थाहा छैन । सामान्य लेखपढ मात्र गर्न जानेका प्रल्हादलाई त्यसबारे थप केही जानकारी छैन । यदि म्यादी जीन बिमा हो भने वार्षिक २ लाख रूपैयाँको भारतमा करिब ५ करोड बराबरको इन्सुरेन्स गर्न सकिन्छ ।

नेपाली नागरिकलाई भारतीय नागरिक बनाई इन्स्योरेन्स गराए पनि त्यसको हकदार भारतीय नागरिक नै बनाइएको छ । हुकुम चन्द उर्फ प्रल्हादको भारतमै छोरा र बुवासमेत बनाइएको छ । यदि उनलाई केही भएमा वा कुनै कारणवस उनको मृत्यु भएमा इन्स्योरेन्स क्लेम गर्नका लागि भारतमै दलालहरू तैनाथ रहेका छन् ।

२० लाख दिन्छु भने पनि कत्ति नि दिएनन्
प्रल्हादलाई नेपालबाट भारत लैजाने क्रममा बैङ्कमा खाता खोलेर ऋण लिएपछि २० लाख भारतीय रूपैयाँ दिने भनिएको थियो । तर प्रल्हाद दुई पटक दिल्ली पुगेर आइसके पनि अहिलेसम्म १० हजार पनि पाएका छैनन् । तर नेपालबाट जाँदा र आउँदा लाग्ने खर्च तथा राम्रो कपडा, चस्मा, जुत्तालगायतका वस्तु भने दलालले नै किनेर दिएका छन् । प्रल्हाद भन्छन्, ‘खै मलाई पनि अब त गडबढ लाग्न थालेको छ । पैसा पाउनेभन्दा पनि ज्यानकै खतरा देख्न थालेको छु ।’ 

५० कटेपछि ऋण लिन कठिन
भारतमा बैङ्कबाट ऋण लिनका लागि अधिकांश बैङ्कहरूको अधिकतम उमेर ५० वर्ष हो । ५० सम्मका व्यक्तिहरूले बैङ्कबाट ऋण लिन सक्छन् भने सकेसम्म यस्ता ऋण ६० वर्ष पुग्दासम्म तिरिसक्नुपर्ने व्यवस्था छ । केही बैङ्कहरूले नियमित पेन्सन वा आम्दानी छ भने ६५ वर्षसम्म ऋण तिर्न सक्ने गरी पोलिसी बनाए पनि अधिकांश बैङ्कहरूले भने ६० वर्ष पुग्दा सबै ऋण तिरिसक्नुपर्ने गरी आफ्नो नीति बनाएका छन् । 

यस्तो अवस्थामा भारतमा ऋण लिनका लागि अधिकतम उमेर भनेको ५० वर्ष मात्रै हो । यस्तो अवस्थामा नेपालबाट किन अधबैंसे उमेरका व्यक्तिहरूलाई भारत पुर्याइँदैछ र बैङ्कमा खाता खोल्दै इन्स्योरेन्स गरिँदै छ । यसको खास कारण खुल्न सकेको छैन । 

किन खोलियो खाता ? किन गरियो इन्स्योरेन्स ?
अहिले नेपाली नागरिकहरूलाई भारतमा पुर्याएर धमाधम खाता खोलिँदै छ । दुई पटक भारत पुगेर भारतीय नागरिकता बनाई बैङ्कमा खातासमेत खोलेर फर्किएका प्रल्हादका अनुसार दलालले एकै गाउँबाट अहिले नै ८ जना व्यक्तिलाई भारत पुर्याएर नक्कली कागजात खडा गरी नक्कली हकवाला बनाएर बैङ्कमा खाता खोलिएको छ । अब चाँडै नै थप २० जना नेपालीहरूलाई नक्कली कागजात बनाएर बैङ्कमा खाता खोल्ने प्रक्रियामा लागि भारत लगिने तयारी भइरहेको छ । 

खासमा यो खाता बैङ्किङ प्रयोजनका लागि मात्रै भन्दा पनि इन्सुरेन्स गर्ने नियतका साथ खोलिएको बुझ्न सकिन्छ । दलालले बैङ्कबाट ऋण लिने प्रयोजनका लागि भने पनि ५० कटिसेकका व्यक्तिको पनि बैङ्कमा खाता खोल्नुको कारण रहस्यमय छ । बैङ्कमा खाता खोलेपछि इन्स्योरेन्स गर्न सजिलो हुने भएकाले प्रतिव्यक्ति करिब ५ करोडको इन्स्योरेन्स पोलिसी बनाइएको छ । यसले बैङ्किङ फ्रड मात्रै भन्दा पनि अरू ठूलै योजना र दुर्घटनाको सङ्केत गरिरहेको छ । 

बैङ्किङ फ्रड त्यति सम्भव छैन
भारतमा बैङ्किङ फ्रड त्यति सहज छैन । अहिले नेपालबाट धमाधम नेपालीहरू भारत लगिनुमा अरू कुनै षडयन्त्र वा दुर्घटनाको सङ्केत गरिरहेको छ । किनभने न कुनै नेपालीको त्यहाँ न सक्कली नाम छ, न सकक्ली ठेगाना छ । न त हकवाला वा नोमिनीमा कुनै आफन्तको नाम नै छ । यी सबै प्रपञ्च हेर्दा मात्र दुई कारण देखिन्छ, कुनै मृत्यु भएको व्यक्तिको नाममा खाता खोल्ने र त्यही खाता मार्फत् सम्पत्ति आफूमा हत्याउने वा त नेपाली नागरिकलाई भारतीय बनाई इन्सुरेन्स गराउने र केही भएमा त्यसको हकवाला भारतीय नै राखी इन्स्योरेन्स क्लेम गर्ने । क्षीण सम्भावना रहेको तेस्रो कारण भनेको भारतीय नागरिकको कालो धनलाई सेतो बनाउने कामका लागि प्रयोग गर्ने र तेस्रो व्यक्तिका नाममा खाता सञ्चालन गर्ने । तर तेस्रो सम्भावना ज्यादै कम छ । किनभने तेस्रो कामका लागि न बैङ्कबाट ऋण लिनुपर्छ, न त इन्स्योरेन्स नै गराउनुपर्छ । त्यसकारण जसरी नेपालबाट बैङ्कमा खाता खोल्ने र त्यसबापत २० लाख भारतीय रूपैयाँ दिने भनिएको छ, त्यहाँ धेरै षडयन्त्रको सङ्केत देखिन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप