बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पसल सुनसान, फुटपाथको सपिङमा युवादेखि बृद्धासम्मको क्रेज

मङ्गलबार, २३ असोज २०७५, ०९ : ५०
मङ्गलबार, २३ असोज २०७५

काठमाडौँ । कोटेश्वरकी सरिता खड्का बानेश्वरको फुटपाथ पसलमा कपडा छान्दै थिइन् । उनी दशैको किनमेलको लागि नयाँ बानेश्वरमा आएकी रहिछन् । 

कपडा छान्दै गरेकी उनलाई दशैको सपिङ शुरु भइसकेको हो ? भनेर हामीले सोध्यौँ । उनले हाँस्दै जवाफ फर्काइन् – मैले त एकैपटक सपिङ गर्दिन अलिअलि गरेर किन्छु, फुर्सद मिलाएर किन्न हिँड्छु । अहिले मलाई र दुई छोराको लागि कपडा किन्न आएकी हुँ । 

उनी यति भन्दै गर्दा फुटपाथमा राखेको कपडा छान्ने मानिसहरुको ओहोर दोहोर भइरहेकै थियो । बानेश्वरका कपडा पसलहरु प्रायः दशैँको मुखमा पनि सुनसानै देखिन्थ्यो तर फुटपाथका कपडा, जुत्ता, ब्याग लगायतमा भने मानिसहरु मोलमोलाई गर्दै गरेको टन्नै भेटियोे ।

सुकेधारामा बस्ने सोनी तामाङ पनि फुटपाथमा टिसर्ट हेर्दै थिइन् । उनले आफुजस्तो कमाइ नहुने र मध्यम आय भएका मानिसहरुका लागि यस्ता ठाउँहरु उपयुक्त रहेको बताइन् । सस्तो मूल्यमा राम्रो सामान भएपछि आफुले प्रायः जसो फुटपाथ पसलमै कपडा किन्ने गरेको सुनाउँछिन् । 

सोनी भन्छिन्, ‘कपडा किन्दा यताउता मान्छे हेर्छु आफुले चिनेको कोही नदेख्ने बित्तिकै छिटो छिटो कपडा हेरेर किनिहाल्छु । फेरि साथी र आफ्ना आफन्तले देखे फुटपाथमा किनेको कपडामात्र लगाउँछे भनेर जिस्काउलान् भनेर । छान्न जान्नेहरुका लागि फुटपाथमा पनि राम्रै सामान पाइन्छ ।’ 

तुलनात्मक रुपमा फुटपाथ र सेल लागेका पसलहरुमा मान्छेहरुको भीड नै देखियो । नयाँ बानेश्वरबाट पुरानो बानेश्वर पुग्दा पनि लगभग त्यस्तै देखियो । यसपछि हामीले पसल भित्रको व्यापारीलाई सोध्यौ, दशैँको मुखमा पनि पसल सुनसान छ त ? 

केटाहरुको लागि मात्र लक्षित कपडा पसलमा व्यापारी राजु शाक्य कपडा पटउँदै थिए । उनले दशैँ लाग्दा पनि खासै व्यापार हुन नसक्दा चिन्ता पोखे । दशैँका लागि हिजो भर्खरमात्र  नयाँ कपडा भित्र्याएका शाक्य एउटा टि— सर्टमै ४ सय रुपैयाँसम्म बढेर आएको बताउँछन् । 

उनी भन्छन्, ‘आफैले महङ्गोमा ल्याएपछि थोरै मार्जिन व्यापारीले राख्नैपर्छ । ग्राहकहरु महङ्गो भयो भन्दै फर्कन्छन् । बानेश्वर क्षेत्रमा पसल भएकाले ग्राहकपनि सोही क्षेत्रको हुने र उनीहरुलाई महंगोमा कपडा बेच्दा भड्कने डरले कहिले काही त आफुले ल्याएकै मूल्यमा दिएर पठाउँछु ’। 

यता, रामकुमार श्रेष्ठको जुत्ता पसल पनि सुनसान छ । आफ्नै पसल पारीको फुटपाथको जुत्ता चप्पलमा भीड लाग्दा उनको पसल भने सुनसान छ । 

उनले धेरैजसो ग्राहकहरु सस्तोमा सामान खोज्ने भएकाले उनीहरु फुटपाथतिर जान थालेको बताउँछन् । उनले ल्याएको जुत्तामा अहिले ३० देखि ३५ प्रतिशतसम्म मूल्य बढेको बताए । 

पछिल्लो समय हुने खाने र हुँदाखादा समेतको पहिरनको शौखलाई फुटपाथका पसलहरुले पुरा गर्दै आइरहेका छन् । पहिरन बदली–बदली  लगाउउने नयाँ लुगा लगाउन पैसा पुगेन भनेर बस्नुपर्ने बाध्यतालाई पनि फुटपाथको पसलहरुले अन्त्य गरिदिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप