बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कथा : फस्ट किस–२ (कीर्तिपुर यातायात)

शनिबार, ०७ साउन २०७४, ०८ : ३१
शनिबार, ०७ साउन २०७४

-दीपक घिमिरे 

हात समातेरै कीर्तिपुर पाँगासम्म आउने रहर थियो तर मलाई लाज लाग्थ्यो । उसको हातबाट मेरो हात फुत्क्याउँदै भने– ‘छाड, बिनितले देख्छ ।’

उसले झन् जोडले मेरो हात समात्दै भनी– ‘ह्या ! उसले ज्यापुनीको हात समातेर सारा काठमाडाँै भ्याली घुम्न हुने, मैले चैँ आफ्नो ब्वाइफ्रेन्डको हात समातेर पाङ्गा घुम्न नहुने हो ? लाटा !’ 

एउटा हातमा चकलेट अनि अर्को हातले मेरो हात अठिलोसँग समातेर हामी पाँगा झर्यौँ । फस्ट डेटमा एक्साइटेड भएर भोकै कुदेको हुनाले होला, अहिले निक्कै भोक लागिरहेको थियो । नजिकैको मःमः पसल देखाउँदै भने– ‘मःमः खाऊ है ?’ 

उसले स्वीकार गरेको मुन्टो हल्लाउँदै भनी– ‘तिम्लाई ढिला त हुँदैन नि ?’ 
मलाई के ढिला हुने थियो र बरु उसैलाई ढिला हुन सक्थ्यो । उसको मन बुझ्न भने– ‘तिम्लाई ढिला हुन्छ र ?’

‘नाई !’ उसले छोटो उत्तर दिई । 

हामी मःमः पसल छिर्यौ । ठूलो स्टोभमा एक ताउला मःमः पाक्दै थियो । हामी एउटा कुनामा बस्यौँ । एउटा फुच्चे भाइलाई दुई पिलेट मःमः अर्डर गरेँ ।  
अर्डर गरेको दुई मिनेटमै मःमः आइपुग्यो । 

मःमः आएपछि उसले सोधी– ‘के–को मःमः हो ?’ 

‘भैँसीको !’ मैले सोझै उत्तर दिएँ । 

उसले गोलभेडा जत्रा आँखा बनाउँदै भनी– ‘ओ माई गड ! मैले बफ मःमः खादिनँ, चिकेन मःमः मगाऊँ ।’ 

म बाहुनको छोरो, गाउँघरमा बा पुरेत्याइँ गर्छन् । घरमा बाले जनै लगाएको देखेनन् भने घरभित्र छिर्न दिँदैनन् । तैपनि सहर छिरेपछि न जनै लगाइएको छ न त भैँसी खान छाडियो । मान्छेले खान हुने चीज सबै खाइएको छ । तर ऊ क्षेत्रीनी भएर पनि नखरा देखाउँदै छे । 

नाकै थुनेर मःमःको पिलेट पन्छाइदेपछि मैले भने– ‘यहाँ त भैंसीको मात्र पाउँछ । अरू केही खान्छ्याँै ?’ 

ऊ चुप बसी, अलि सेन्टी पारामा । 

मैले वेटरलाई बोलाएर दुई पिलेट मःमः फिर्ता गरे । उसले रिसाउँदै भनी– ‘तिमी खाऊ न ? किन फिर्ता गरेको पागल ?’
 
‘तिम्लाई लोभ्याउँदै खानै मन लागेन, जाऊ अर्को पसल !’ म उठे । ऊ पछि पछि लागी ।

नजिकै रहेको सेकुवा कर्नरमा मेरो नजर पुग्यो । गोजामा अस्ति बाले पठाइदेको रुपैयाँ टन्नै थियो । उसलाई अघि–अघि लगाएर म सेकुवा कर्नर छिरँे ।
 
‘एउटा कुरा भनुम ?’ टेबुलमा बस्न नपाउँदै उसले प्रश्न गरी । 

‘भन न प्लिज !’ भर्खर पहिलो डेटमा केही नाइनास्ती गर्ने कुरै भएन ।

 उसको हजार प्रश्नको उत्तर दिन तयार छु, ऊ चैँ जाबो एउटा कुरा भनम भनेर समय माग्दैछे । 

‘चिल्ड बियर पिलाऊ न है !’ उसले टेबुलको मेनुमा बियरको मूल्यसूची देखाउँदै आग्रह गरी । 

ओ माई गड ! म फिलिङ ट्वाँ परे । 

पहिलो लभ, पहिलो डेटमै मलाई ट्वाँ बनाउने साँच्चै आधुनिक युवती थिई उ । हेर्दा निक्कै सिम्पल देखिन्थी तर जड्या पनि रैछे जस्तै फिल भयो । कतै मन चोरेकी त हैन झै लाग्यो अनि भने– ‘रियल्ली ? तिमी पिउछ्यौ ?’ 

‘स्योर ! म कहिले काहीँ पिउछु, साथीभाइसँग बसेर ।’ उसले सजिलै उत्तर दिई ! 

अघि भैँसी खादिनँ भन्नेले बियर पिउँछु भन्दा म छक्क परेँ । 

एकछिन तेरे नाम स्टाइलमा बहुलाउन मन लाग्यो, देवदास स्टाइलमा रुन मन लाग्यो । 

मैले वेटरलाई बोलाएर सोधेँ– ‘बस्ने एकान्त ठाउँ छैन ?’

उसले प्लाइउडले बेरिएको एउटा क्याबिन देखाउँदै भन्यो– ‘ऊ त्यो क्याबिनमा बस्नुस्, म मेनु लिएर आउँछु ।’

हामी उसले सिकाएको क्याबिनमा गयौँ । ‘कुन बियर पिउँछ्यौ ?’

उसले सजिलै भनी– ‘टुबोर्ग डिलक्स मगाऊ !’ 

वेटर आयो । एउटा बियर अनि दुईवटा गिलास अनि एक प्लेट सलाद मगाय पहिलो लटमा । 

ऊ लजाउँदै थिई । म अचम्म पर्दै थिएँ ।

‘मलाई गलत सोच्दै छौँ है ?’ उसले आत्मग्लानी गरेको महसुस मैले गरँे । 
‘नाई !’ मैले धेरै भनिन । 

‘आज मुड चल्यो, त्यसैले । यदि मनी प्रोब्लम हो भने भन ल, म सेयर गरुँला ।’ उसले हिम्मत दिने कोसिस गरी ।

‘हैन ! जति खान्छ्यौ खाऊ यार, नो प्रोब्लम ।’ मैले उसलाई हौसला दिए । 

वेटरले दुईवटा गिलासको साथमा एउटा टुबोर्ग ल्यायो ।

 ऊ आफैले गिलासमा बियर खन्याई, पुरानो जड्याको स्टाइलमा । सिकाउँदै भनी– ‘गिलास र बियरको बोतललाई टच गरायर बियर खन्याउने हो भने बियरमा फिँज उठ्दैन अनि एउटा बियर ठ्याक्कै दुई गिलास बन्छ ।’ 

उसले मलाई सिकाउँदै बियरको बोतल खाली गराई । 

ढिला नगरी गिलास उठाई मेरो गिलासमा ठोक्काई अनि अलि ठूलै स्वरमा भनी– ‘चियर्स !’

म कहिलेकाहीँ पिउथे, ऊ पनि त्यस्तै लाग्थ्यो तर गलत । उसले निक्कै मीठो मानेर बियरको चुस्की लगाई । मुख मीठो बनाउँदै एउटा काक्राको टुक्रा चपाई । 

‘तिमी मर्द भएर पनि नामर्द जस्तो गर्छौ यार । कति ढिला खाएको ?’ उसले मेरो गिलास धकेल्दै छिटो पिउन अनुरोध गरी ।

 ‘छिटो पिउ, के आइमाई जस्तो गरेको ?’ ऊ प्रोफेसनल अल्कोहलिक जस्तो गरेर मलाई थर्काई । 

अर्को एक स्वाँठमा उसले गिलास खाली गराई । रित्तो गिलासलाई टेबुलमा ठोक्दै भनी– ‘अर्को बोतल मगाउ अनि एक प्लेट सेकुवा पनि । खर्चको तनाव नलेऊ यार डियर ।’ 

उसका आँखा बटारिँदै थिए । मृग नयनी उसका आँखा रसिला देखिँदै थिए । 

बिरानो सहरको रेस्टुराँमा बसेर यसरी बियर पिउनु कत्ति उचित थिएन । मेरो कोठामा लगेर जाने कुरै भएन । 

उसको अवस्थाबारे बुझ्दै भने– ‘तिम्रो रुममा बियर र खानेकुरा लगेर जाऊँ, उतै पिउँदै बसौँला ! मिल्छ कि नाई ?’

‘गुड ! रियल्ली गुड आईडिया ।’ यति भनेर ऊ जुरुक्क उठी । 

म काउन्टरमा गएर पैसा तिरँे । ऊ बाहिरै थिई ।

‘खै ल्याएनौँ बियर ?’ मेरा खाली हात देखेर उसले प्रश्न गरी । 

‘उतै किन्ने नि ! यहाँबाट कस्ले बोक्छ यार ।’ मैले योजना सुनाए । ऊ चुप लागेर अघि लागी । 

कीर्तिपुर यातायातको बस चढेर हामी बल्खु पुग्यौँ । बल्खु पुरानो एमाले मुख्यालयको पछाडि एउटा तीन तले घरमा उसको डेरा रहेछ । 

दिदीसँग बस्दै आएकी ऊ हिजोआज एक्लै रैछे, त्यसैले आज यस्तो सुअवसर जुट्यो ।

कोठाको ताला खोल्दै उसले भनी– ‘सुस्त आऊ है, हल्ला नगर्नु, माथि घरबेटी बस्छन । थाहा दिनु हुँदैन ।’ 

मैले जुत्ताभित्रै गएर खोलँे । कोठा निक्कै सुन्दर थियो । कुनै धनाढ्य खानदानीकी छोरीको कोठाजस्तै अति सुन्दर कोठा । 

‘जाऊ तिमी खानेकुरा लिएर आऊ, म तयारी गर्छु ।’ उसले मलाई बियर अनि सितन ल्याउन खटाई अनि आफू चैँ किचेनमा छिरेर केही बनाउने तयारी गरी । 

बल्खु चोकमा निस्केर चारवटा बियर किने अनि चिप्स, दालमोठ अनि एक केजी मासु किनेर रुममा फर्किएँ । 

उसले मासु पकाई, मैल गिलासमा बियर खन्याए उसले सिकाएको जस्तै गरेर । उता मासु पाक्दै गर्यो, यता चिप्स र दालमोठसँग पार्टी चल्यो ।

एउटा–एउटा गर्दै तीनवटा बियर खाली भएसी मासु पनि आधा भयो । ऊ झ्याप भै, अनि भनी– ‘प्लिज दीपक ! चुरोट तान्न मन लाग्यो यार, लिएर आऊ न है ।’

हरे शिव ! म अचम्म पर्दै थिए । जीवनको पहिलो रोजाई नै गलत पर्यो भन्ने महसुस गर्दै थिएँ ।

 उसका लागि कुदेर चुरोट लिएर आएँ । 

उसले चुरोट सल्काउँदै भनी– ‘आज लास्ट इन्जोय गर्ने ल ! पर्सी घरबाट दिदी आउच ।’

उसले चुसेर आधा बनाएको चुरोट मलाई दिँदै भनी– ‘पिउ, मजा आउँछ ।’

म कहिले चुरोट पिउँदिन, आज पिउने कुरै भएन । फाल्दिएँ । 

ऊ झ्याप थिई, म फ्रेस । उसले मलाई सेक्सी नजरले हेरी । म लजाएँ । 

उसले मलाई तानेर अँगालो मारी अनि टङ किस गर्न थाली । 

मलाई घिन लाग्यो । उसलाई हुत्याइदिएँ । 
ऊ रिसाई, रिसले ऊ काली भै अनि भनी– ‘साले खाते ! पहिलो दिनमै मुड अफ गराउँछस् ? जमाना कहाँबाट कहाँ पुगिसक्यो, यो चँै अझै किस गर्न लजाउँछ ।’ 

उसको कुरा ठीकै थियो तर म ऊ जस्तो गर्लफ्रेन्डको खोजीमा थिइनँ । मलाई जीवनभर साथ दिने एउटी इज्जतिली साथी चाहिएको थियो । जोसँग जीवन बिताउने सपना देख्न सकियोस् । रात बिताउने सपना देखेको थिएन । 

घडी हेरेँ, बेलुकाको आठ बज्दै थियो । ऊ अर्को बियर खोलेर गिलासमा खन्याउँदै थिई । 
माथि घरबेटी बसेका थिए, तल अरू इज्जतिला मान्छे भाडामा बसेका थिए ।
 ऊ खास्सै इज्जतिलो लागेन । ऊ झ्याप भए पनि म फ्रेस थिएँ । 
पिसाब गर्ने बहानामा तल झरेँ अनि बल्खु चोकमा निस्केर कीर्तिपुर यातायातकै गाडी पकडेर पाँगा फर्किएँ । त्यसपछि न अर्काे गर्लफ्रेन भेटिई, न सेकेन्ड किस गर्ने अवसर जुट्यो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप